January 23, 2025, Thursday
२०८१ माघ १०

प्रविधिको प्रयोगले नापीको सेवा प्रवाह सुधार

भैरहवा– मंगलबार नापी कार्यालय खुल्नेबित्तिकै सेवाग्राहीको भीड देखिन्थ्यो । सेवा प्रवाहका लागि उनीहरु आएका हुन् । तर, उनीहरु कार्यालयको बाहिर आराम गरेर बसेका थिए । बेला–बेलामा बाहिर राखिएको डिस्प्ले टिभीमा आफ्नो कार्य प्रगतिको विवरण हेरिरहेका हुन्थे । कार्यालयमा आएर बसिबसी काम भएपछि सेवाग्राही दङ्ग छन् ।

नापी कार्यालयले मंगलबारदेखि फाइल ट्रयाकिङ प्रणालीबाट कार्य सम्पादनको शुभारम्भ गरेको छ । नेपालमा पहिलो पटक फाइल ट्रयाकिङ प्रणालीबाट काम शुरु भएको हो । कार्यालयले डिजिटल माध्यमको प्रयोगबाट फाइल ट्रयाक गर्ने गरेको छ ।

Advertisement

शुरुमा सेवाग्राही कार्यालयको सोधपुछ कक्षमा जानुपर्ने हुन्छ । त्यहाँ रहेका कर्मचारीले तोक लगाउन अर्को कक्षमा लैजान्छन् । उनै कर्मचारीले सोधपुछ कक्षमा फाइल ल्याएर डिजिटल माध्यममा फाइल दर्ता गर्छन् । जहाँ सेवाग्राहीको मोबाइल नम्बर राखेर कामको प्रकृति अनुसार दर्ता हुन्छ ।

त्यसपछि सम्बन्धित फाँटमा फाइन पुग्छ र रोल क्रममा बस्छ । प्रक्रियागत रुपमा भैरहेको काम बाहिर बसेर सेवाग्राहीले डिस्प्लेमा हेर्न सक्छन् । एक नम्बर पालोको काम शुरु हुनेबित्तिकै दुई नम्बर पालोको सेवाग्राहीलाई म्यासेज गइसकेको हुन्छ । काम सकिसकेपछि सनाखतका लागि सेवाग्राहीलाई फाँटमा बोलाइन्छ ।

त्यसपछि चेकजाँच फाँट, प्रमाणीकरण फाँट, दर्ता चलानी हुँदै सोधपुछ फाँटमै फाइल आइपुग्छ । सबै प्रक्रिया सकिसकेपछि सेवाग्राहीलाई काम सम्पन्न भएको जानकारी म्यासेज र डिस्प्ले टिभीमार्फत् हुन्छ । अब यो प्रक्रियाले सेवाग्राहीले कुनै झन्झट व्यहोर्नू नपर्ने नापी कार्यालय भैरहवाका प्रमुख अजित कुवँरले बताए ।

‘सेवाग्राहीको सेवा प्रवाहमा भैरहेको गुनासो सम्बोधन गर्न कार्यालयले प्रविधिमैत्री सेवा प्रारम्भ गरेको हो’, उनले भने । सबै प्रक्रिया एक घण्टामा सम्पन्न हुने गरि फाइल ट्रयाकिङ प्रणालीको बिकास गरिएको छ । कार्य शिलसिलामा कुनै मिसिलहरु नमिले, अपुग भए अथवा कुनै गडबड भेटिए डिस्प्ले टिभी र म्यासेजबाट जानकारी हुन्छ ।

‘बसिबसी काम हुने, के भैराखेको छ त्यो पनि जानकारी पाइने, काम गर्न सजिलो भएछ’, रोहिणी गाउँपालिकाका सेवाग्राही मनेश्वर यादवले भने । फाइल ट्राकिङ प्रणाली लागू भएपछि सेवा प्रवाहको समय छोट्टिएको छ । ‘न कसैले पालो मिच्ने डर न कार्य सम्पादनका लागि बिचौलिया लगाउनु पर्ने’, सेवाग्राही पशुपती यादवले भने । यस्तो नवीनतम् प्रविधिको सिको अन्य कार्यालयले पनि गर्नु पर्ने उनले बताए ।

यो प्रविधिले सेवाग्राहीले आफ्नो पालो, कुन कर्मचारीले काम गर्दैछन्, कति काम भयो र कति समय लाग्छ भन्ने डिस्प्ले हेरेर थाहा पाउँछन् । जसले नापी कार्यालयमा हुने भीडभाड घट्नुका साथै सेवा प्रवाह छिटोछरितो र पारदर्शिता हुने अपेक्षा गरिएको छ ।

‘प्रविधिको प्रयोगपछि भीडभाड हटेको छ भने सेवाग्राहीको समयको बचत भएको छ । पहुँचका भरमा छिटो काम गरिदिने प्रवृत्ति र एकअर्काको पालो मिच्ने काम रोकिएको छ । यो प्रविधिका कारण सेवाग्राहीले आफ्नो फाइल कहाँ छ, के हुँदैछ भन्ने थाहा पाउँछन् । यदि कुनै कैफियत भए डिस्प्लेमै जानकारी पाउँछन् । यसले पारदर्शिताका साथै सुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ’, नापी कार्यालय प्रमुख कुँवरले भने ।

विगतमा नापीमा सेवाग्राही भीड अत्यधिक हुनुका साथै पहुँचका भरमा काम हुने गथ्र्यो । कर्मचारी र सेवाग्राहीबीच प्रत्यक्ष भेट हुने हुँदा पारदर्शितामा प्रश्न उठ्थ्यो । डिजिटल प्रविधिबाट सेवा सुरुसँगै यो सबै समस्या हटेको छ । प्रविधिको प्रयोग गरी सेवा पाउँदा सेवाग्राही दंग छन् ।

नापीले बुटवलस्थित केयर आइटी सोलुसनको सहकार्यमा करिब पाँच लाख लागतमा सप्टवेयरको विकास गरेको हो । ‘यो सप्टवेयरमार्फत् कार्यालय प्रमुखले कहाँ कुन कर्मचारी के काम गर्दैछन्, कसको काम कति भयो, कसको कागजात पुगेन लगायत प्रक्रियागत कामहरु एकैठाउँबाट मनिटरिङ गर्न सक्नेछन्’, कुँवरले भने । यसले सेवाप्रवाहलाई थप चुस्तदुरुस्त राख्ने उनले बताए ।