March 18, 2025, Tuesday
२०८१ चैत्र ५

विमानस्थलको तत्काल परीक्षण उडान व्यबस्था मिलाउन माग

रुपन्देही – यहाँको संघसंस्थाले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । करिव ९८ प्रतिशत निर्माण पुरा भएको बिमानस्थल क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाई भएको बताउँदै थाइल्याण्डको एरोथाई कम्पनीले परीक्षण उडान गर्दैन भने अन्य विकल्पहरुको प्रयोग गरेर भए पनि यथाशक्य चाँडो विमानस्थल सञ्चालनको प्रवन्ध मिलाउन माग गरिएको हो ।

बुटवल उद्योग बाणिज्य संघको टोलीले हालै मात्रै विमानस्थलको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनमा क्रममा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले निर्माणको काम करिब पुरा भएको र क्यालिव्रेसन फ्लाईट (परीक्षण उडान) का लागि थाइल्याण्डको एरोथाई कम्पनी तयार नहुँदा सञ्चालन अनिश्चित बनेको जानकारी पाएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

Advertisement

नयाँ ठेक्कामा जाँदा झन धेरै समय लाग्ने र ‘जि टु जि’ (सरकार–सरकार) बाट भए पनि परीक्षण उठानको प्रयास भइरहेको संघको टोलीलाई विमानस्थल आयोजना प्रमुख अधिकारीले जानकारी गराएका थिए । अधिकारीका अनुसार सकेसम्म थाइल्याण्डकै प्रविधि जडान भएकाले उसैले गरोस् भन्ने आयोजनाको चाहना रहेको छ । उनका अनुसार अवको करिव ३ महिनामा निर्माणका सबै काम सकिने र क्यालिव्रेसन फ्लाइट (परीक्षण उडान)को काम मात्रै बाँकी हुनेछ ।

बुटवल उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरी विमानस्थल चाँडो सञ्चालनमा आउन सके त्यसका माध्यमबाट यस क्षेत्रको पर्यटन उद्योग फस्टाउनुको साथै यहाँका व्यापार विस्तार गर्न र कार्गो विमानमार्फत यस क्षेत्रका कृषिजन्य उत्पादन कफि, फलफूल, जडिबुटी, खाद्यान्न आदी निर्यातको हामीले प्रचुर सम्भावना रहेकाले उद्योगीसंगै मुलुकको आर्थिक बिकास समेत टेवा पुग्ने संघका अध्यक्ष कसजूले बताए ।

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव मुक्ति अधिकारी लगायतले यस क्षेत्रको आर्थिक विकासलाई प्रवद्र्धन गर्नको लागि पनि अन्तर्राष्टिय विमानस्थल यथाशक्य चाडो सञ्चालनमा ल्याउन सरकारले पहलकदमी उठाओस् भन्ने आफूहरुको चाहना भएको बताए । २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी १५ जनवरी २०१५ मा शिलान्यास भएको विमानस्थल निर्माणको पटकपटक समय थप गर्दै ६ वर्ष वितिसक्दा पन अझै निर्माण पुरा हुन सकेको छैन ।

संघले अव समय थप गर्ने भन्दा पनि पछिल्लो पटक थप भएको समयसिमा भित्रै सञ्चालनको प्रवन्ध मिलाउन सरकारसंग आग्रह गरेको हो । आयोजनाका महत्वपूर्ण संरचना निर्माण सकिए पनि परीक्षण उडानको तयारी भएको छ । भारतीय कम्पनीलाई अनुरोध गरे पनि परीक्षण उडानबारे कुनै प्रतिक्रिया आएको छैन ।