डुवानले क्षतिग्रस्त उद्योगको सिउवा संघद्वारा निरीक्षण


भैरहवा– डुवानमा परेर क्षति भएका भैरहवा–बुटवल र भैरहवा–परासी औद्योगिक कोरिडोरका उद्योगहरुको सिद्धार्थ उद्योग बाणिज संघले स्थलगत निरीक्षण गरेको छ । संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको टोलीले आधादर्जन क्षतिग्रस्त उद्योगहरुको निरीक्षण गरेको हो ।
संघका पदाधिकारी र सदस्यहरुले पञ्चकन्या ग्रुप, श्री स्टील्स्, सिद्धिविनायक एग्रो इण्डष्ट्रिज र श्री जी फुड्स प्रा.लि.को निरीक्षण गरेको अध्यक्ष भीष्मप्रसाद न्यौपोनेले जानकारी दिए । ‘वर्षाका कारण पानी पसेर उद्योगहरु डुवानमा पर्दा धेरै उद्योगको मेसिनहरु विग्रिएको, कच्चापदार्थहरु बाढीले बगाएको, भिजेको पाइयो’, अध्यक्ष न्यौपानेले भने, ‘बाढीका कारण उद्योगहरुमा करौडौंको सामान क्षति भएको छ ।’
यद्यपि क्षतिबारे विवरण संकलन भइरहेकाले अहिले नै यतिको नोक्सानी भयो भनेर भन्न नसकिने उनले बताए । शुक्रबार परेको पानी पछि बाढी आउँदा यी दुई कोरिडोरका उद्योगमा ठूलो क्षति पुर्याएको थियो । वर्षाका कारण रुपन्देही र आसपासका उद्योगमा पानी जमेपछि उत्पादन अनिश्चित बनेको छ । बाढी पसेर उद्योगका उपकरणमा क्षति पुगेको छ । सबै उद्योगको नोक्सानी विवरण संकलन भइसकेको छैन । उद्योगीका अनुसार पानीले करोडौंको क्षति पुर्याएको छ ।
कतिपय उद्योग परिसरमा जमेको पानीले अभैm पूर्ण रूपमा निकास पाएको छैन । उत्पादित कतिपय तयारी सामान र ओद्योगिक कच्चा पदार्थ पानीमा डुबेका छन् । कतिपय सामान बाढीले बगाएको छ । कतिपय पानीमाथि तैरिएका थिए । पञ्चकन्या ग्रुपका सह–महाप्रबन्धक देवेन्द्र साहुले उद्योगका सबै मेसिन, उपकरण, उत्पादित सामान, कच्चा पदार्थ सबै डुबानमा परेपछि विद्युतको मेन लाइन नै बन्द गरेको बताए । ६ वटा उद्योगको दैनिक उत्पादन १० देखि १२ करोड रुपैयाँको हुने गरेको र अहिले ती सबै ठप्प रहेको उनले बताए ।
संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले पानीको निकास, ढल व्यवस्थापनमा लापरबाही गरिँदा उद्योगीले करोडौं रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको बताए । उनले भने, ‘एक त ढल व्यवस्थापन नै राम्रो छैन । भएका नालाहरु सफा गरिँदैन । नाला सबै बन्द जस्तै छन् । सानो पानी पर्दा नै उद्योग डुब्छन् । यसपल्ट ठूलो पानी परेकाले धेरै क्षति भयो ।’ उनले आउँदा दिनमा थप क्षति हुन नदिन ढल व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बेलहिया–बुटवल सडक आयोजनाको लापरबाहीले उद्योगहरुमा क्षति पुगेको बताए । ‘जताततै नालीमाथि लगाइएका ढकन फुटेका छन् । यसले नाली जाम भएको छ । व्यवस्थापनामा ध्यान दिइएको छैन’, उनले भने, ‘नाली मात्रै व्यवस्थापन गरिएको भए यतिधेरै क्षति उद्योगीले व्यहोर्नुपर्ने थिएन ।’
उनले पञ्चकन्यामा मेसिनहरु बिग्रेको, कच्चापदार्थ बगेको, भिजेर काम नलाग्ने भएको बताए । ‘अधिकांश उद्योगका मेसिनरी सामान विग्रेका छन्, मटरहरु काम नलाग्ने भएका छन् । तयारी समान विग्रिएको छ । खाद्यान्न भिजेर कामै नलाग्ने भएको छ’, उनले भने । डुवानले क्षति भए पछि धेरै उद्योगको उत्पादन अनिश्चित बनेको छ ।
उद्योग स्थापनाका क्रमसँगै यस क्षेत्रमा निर्माण तथा विस्तार गरिएका सडक संरचनाको कतै त्रुटिपूर्ण डिजाइन, कतै डिजाइनअनुरूपको निर्माण गर्न ठेकेदारको बेवास्ता, डुबानबाट जोगाउनका लागि स्थानीय तहले प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न नसक्नु, पानीको निकास हुने परम्परागत कुलो तथा निकास मिचिनु, योजनाविहीन अव्यवस्थित प्लटिङ तथा बसोबास र सार्वजनिक जमिन भूमाफियाद्वारा अतिक्रमणलगायतका कारण यी क्षेत्र डुबानको चपेटामा पर्ने गरेका छन् ।
उद्योगीले वर्षायामको बेला पानीको निकासका लागि बनाइएका संरचना नै त्रुटिपूर्ण हुनुले अहिले यो समस्या निम्त्याएको बताएका छन् । भैरहवा–परासी कोरिडोरमा पर्याप्त कल्भर्ट नहुँदा पनि बढी डुवान हुने गरेको छ । ‘यहाँ सडकको उचाई माथि छ । दुबैतर्फ रहेका उद्योगहरु सडकभन्दा केही तल पर्छन् । तर, पानी निकासका लागि पर्याप्त कल्भर्ट छैनन्’, संघका उपाध्यक्ष आचार्यले भने, ‘कल्भर्ट पर्याप्त राखी पानी निकासको व्यवस्था गर्ने हो भने केही हदसम्म डुवान कम हुने थियो ।’
प्रतिकृया दिनुहोस्