बुटवलमा पहिरो खस्न रोकिएन, थप सात घर पुरिए


बुटवल– केही दिनदेखि परेको अविरल वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरो अहिलेसम्म रोकिएको छैन । आइतवार बिहान ६ बजेदेखि यहाँ पहिरो खसिरहेको छ ।
सोमबार फेरि पहिरो खस्दा ७ वटा घर पुरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । हिजो स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरोले पूर्ण क्षति पुर्याएको थियो । हिजो १० घरमा क्षति पुगेको थियो ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ । बुटवल तथा आसपासको क्षेत्रमा अहिले पनि पानी परिरहेकोले पहिरो सहितको लेदो बगिरहेको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीले स्थानीयको सहयोगमा पहिरोबाट प्रभावितहरुलाई उद्धार गरि बुटवल बहुमुखी क्याम्पसमा आश्रय दिएर राखेका छन् । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए ।
बस्तीमा झरेको पहिरोले विस्थापित परिवारलाई बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको कुवँरले जानकारी दिए । २०५५ साल भदौ २० गते पहिरो झरेको स्थानमै पुनः अहिले पहिरो झरेको हो । त्यसबेला झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो ।
आज झरेको पहिरोको लेदो बगेर हस्पिटल लाइनसम्म आइपुगेको छ । पहिरोका कारण अहिलेसम्म मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्