April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पहिरोले घर चिरा परेपछि ७० परिवार बिस्थापित

प्युठान – पहिरोले कतिबेला बचेको घर पनि बगाउने पत्तो छैन । उनीहरु चिन्ताले रातभरि निदाउन सकेका छैनन् । जीवनभर दुःख गरेर आर्जेको घर र जमिन बग्ने खतराले परिवार चिन्तित छन् । धेरैले आफ्नो घर छाडेर आफन्तकोमा आश्रय लिएको बताए । प्युठानको नौबहिनी–५ डार्मीमा पहिरोले अधिकांश घरमा चिरा परेपछि स्थानीय बिस्थापित भएका हुन् ।

Advertisement

घरका पर्खाल भत्किने गरेर पहिरो गएकाले धेरै गोठ र आफन्तको आश्रय लिन बाध्य भएका हुन् । भिरालोमा रहेको बस्ती नजिक आश्रयका लागि उपयुक्त थलो छैन । स्थानीय विद्यालय नै पहिरोको जोखिममा रहेकाले त्यहाँ गएर ओत लाग्न सम्भव छैन । यहाँ वर्षेनि पहिरोको समस्याले पिरोल्छ । त्यसैले स्थानीयले बस्ती सार्न माग गरिरहेका छन् । अहिले डार्मीका ठूलोडार्मी, सानोडार्मी, बसेलगायतका आधा दर्जन गाउँ पहिरोको जोखिममा छन् ।

Advertisement

ठूलो डार्मीका एक दर्जन परिवारले घर छाडिसकेका छन् । अन्य पनि अहिले पहिरोको डर मानेर जोखिम क्षेत्रमै बसेका छन् । स्थानीयले एकदुई जनाको घर बगाएको नभई पूरै गाउँले प्रभावित भएकाले बस्ती सार्न जोड दिंदै आएका छन् । डार्मीमा मात्रै ७० घर पहिरोको जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

डार्मीका ७० परिवारलाई जतिसक्दो छिटो सार्नु पर्ने अवस्था रहेको नौबहिनी–५ का वडाध्यक्ष अनबहादुर घर्ती मगरले बताए । ‘यहाँ गाउँ पूरै पहिरोको जोखिममा छ,’ उनले भने, ‘तत्कालसार्नुपर्छ, होइन भने पछि थप ठूलो क्षति हुनसक्छ ।’ समयमै नागरिकलाई सुरक्षित स्थानमा सार्न ढिला गरे नियमित परिरहेको पानीले ठूलो क्षति पुर्याउन सक्ने उनले सुनाए ।

जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित भएर बस्न आग्रह गरिएको नौबहिनी गाउँपालिका अध्यक्ष शिवराज रिजालले बताए । ‘गाउँपालिकामा कति क्षति भएको भन्ने जानकारी आइसकेको छैन,’ उनले भने, ‘गाउँपालिकामा क्षतिको विवरण आउँदै गर्छ, हामी पनि अनुगमनका लागि जाने तयारीमा छौं ।’ नियमित पानी परिरहेको र सडक ठाउँठाउँमा बगाउँदा पुग्नै समस्या भएको उनले सुनाए । स्थानीयले जतिसक्दो छिटो सुरक्षित ठाउँमा सार्न सरोकारवालालाई अनुरोध गरिरहेका छन् ।