October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

नौ सय क्युफिट काठ वनबाटै गायव

भैरहवा – उपभोक्ताले संरक्षण गरेको वनबाट उनीहरुले केही लाभको आस गरेका हुन्छन् । बेला–बेला कटान गरिएका रुखका गोलिया उपभोक्ताको आवश्यकता अनुसार वितरण गरिन्छ । त्यसका लागि पनि वनले नियम बनाएको हुन्छ । तर, एक सामुदायिक वन उपभोक्ता समूहबाट लाखौं मूल्यका काठका गोलिया गायव पारिएका छन् । ती गोलिया कसले लग्यो अत्तोपत्तो छैन ।

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रबाट केही समय अघि ९ सय क्युफिट भन्दाबढी गोलिया हराएपछि अहिले जिल्लामा यसलाई लिएर शंका–उपशंका र विभिन्न चर्चा भइरहेका छन् । प्राविधिकले यति काठको ७ लाख रुपैयाँ मूल्य अनुमान गरेका छन् ।

यो जिल्लाकै ठूलो सामुदायिक वन मध्येको हो । काठ हराएको दुईसाता पुगिसक्यो । अहिलेसम्म फेला पर्ने कुरा त बेग्लै हो । सुँइकोसम्म मिलेको छैन । यति परिमाणमा काठ हराएको सूचना सुरुमा वन समूहले लुकाएको थियो । तर, जिल्लास्थित वन कार्यालयका कर्मचारीले सार्वजनिक गरिदिए । हुन, पनि ठूला परिमाणमा काठ हराएको कुरा लुकाउनु आफैंमा हजम हुने कुरा होइन ।

त्यसैले मोतिपुर सव डिभिजन वन कार्यालयका प्राबिधिकले कटान रजिष्टर र घाट गद्दी रजिष्टर मिलान गर्ने क्रममा ९ सय ३९ दशमलव ४४ क्युफिट गोलिया काठ हराएको फेला पारे । त्यसमध्ये सालका गोलिया ८ सय ८२ क्युफिट र असना, कर्मा र कुसुमका ५६ क्युफिट हराएको पाइएको हो ।

छपान नम्बरसहितका गोलिया काठ नभेटिएपछि कर्मचारीले सूचना चुहाइदिए । उक्त वन समूहको स्वीकृत कार्ययोजना अनुसार ०७६ फागुन २३ मा डिभिजन वन कार्यालयले वन क्षेत्रको २७ हजार ५ सय ८ क्युफिट काठ काट्न अनुमति दिएको थियो । त्यसैअनुसार कटान मुछान गरि गोलिया घाटगद्दीसम्म ल्याउने ठेक्का सामुदायिक वनका उपभोक्ता वाणगंगा–४ का कृष्णगोपाल कोजु र गणेशबहादुर सिंह ठकुरीले लिएका थिए ।

उनीहरुले सबै रुख कटान, छपान र गिण्डा पारेका थिए । घाटगद्दीसम्म ओसारप्रसार पनि गरिरहेका थिए । त्यती बेला सरकारले ०७७ जेठ १५ गतेको निर्णय अनुसार प्लटभित्र काटिएका रुख काठ जे–जस्तो अवस्थामा छन्, त्यही अवस्थामा राख्न आदेश दियो ।

त्यसपछि काठ ढुवानी र नापजाँच काम रोकियो । ०७७ माघ १४ गते पूर्ववतः निर्णय खारेज गरि वनजंगल भित्र नापजाँच भई काटिएका काठ घाटगद्दीसम्म ढुवानी गर्न पाउने आदेश दियो । त्यसपछि असार यता काठ घाटगद्दीमा ल्याउन थालिएको थियो । घाटगद्दी स्थल मधुवनधामदेखि ६ किमी उत्तर अर्घाखाँचीको पावर सामुदायिक वन नजिकै कटान, छपान र मुछान गरिएको प्लट थियो ।

त्यहाँबाट सबै काठ ढुवानी भएको सूचना पछि वन प्राविधिकले घाटगद्दी स्थलमा नापजाँच ग¥र्यो । कटान र घाट गद्दी रजिष्टर मिलान गर्दा काठ गायब भएको भेटिएको मोतिपुर सव डिभिजन वन कार्यालय सहायक वन अधिकृत उमेशकुमार शाहले बताए । ‘काठ काटिएकै ठाउँबाट हरायो,’ उनले भने,’ ल्याउँदा बाटोबाटै वा घाटगद्दीबाट हरायो यकिन छैन् ।’

काठको जिम्मा सामुदायिक वनको हुन्छ । तर, काठ काट्न जिम्मा पाएका व्यक्ति र पदाधिकारीले केही नबताएको उनले जनाए । काठ हराएपछि तत्कालै डिभिजन कार्यालयले वन उपभोक्ता समितिलाई छानविन गर्न समिति बनाउन निर्देशन दियो । सचिब कृष्ण पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरियो । समितिले छानबिन पछि काठ हराएको प्रारम्भिक प्रतिबेदन दियो । तर, प्रतिबेदनमा कहाँबाट कसरी हरायो उल्लेख गरिएको छैन् ।

प्रतिवेदनमा कसको त्रुटी तथा कमजोरी छ ? भन्ने पनि देखाइएको छैन् । आरोपीलाई उम्काउन झारा टार्ने प्रतिबेदन बनाइएको एक उपभोक्ताले बताए । ‘कसको लापवाहीले काठ हरायो,’ उनले भने, ‘प्रतिबेदन मौन छ ।’ कारवाही गरिएन् भने यहाँ काठ हराउने प्रबृत्ति मौउलाउँदै गएर विकृति आउने उनले बताए ।