January 13, 2025, Monday
२०८१ माघ १

सरकारी जमिन मिचेको आरोप लागेको टाइगर प्यालेस बेचिँदै, अदालतमा अवहेलना मुद्दा

भैरहवा – सरकारी जमिन मिचेको आरोपमा विवादित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट विक्री प्रक्रिया अघि बढेको छ । रुपन्देहीको तिलोत्तमाका व्यापारी बालकृष्ण भुसालले उक्त रिसोर्ट किन्दै छन् ।

पाँच तारे यो रिसोर्टले अदालतको आदेश विपरीत विक्री प्रक्रिया अगाडि बढाइएको हो । तत्कालीन भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब १० कठ्ठा १८ धुर सार्वजनिक जग्गा (नलकुप) मिचेर निर्माण गरिएको भन्दै लुम्बिनी नलकुप जल उपभोक्ता समितीका तर्फबाट समितीका अध्यक्ष थानेश्वर घिमिरेले टाइगर वान प्रालिसहितको विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

Advertisement

रिसोर्ट खरिदविक्रीका लागि प्रालि र भुसाल पक्ष (दुवै पक्षबीच) प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर समेत भइसकेको छ । विक्रीकर्ताको तर्फबाट सिल्भर हेरिटेज लिमिटेड कम्पनी र खरिदकर्ताको तर्फबाट म्यानहटन हाइट्स ग्रुप, भुसाल इन्भेष्टमेन्ट प्रालि (भुसाल ग्रुप) र सम्राट ग्रुपका संचालकहरुले प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका हुन् ।

विक्री हुन लागेको विवादित टाइगर रिसोर्टमा भित्रिएको लगानी पनि शंकास्पद रहेको र क्यासिनो खेल मार्फत सम्पत्ति शुद्धीकरण गरेको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ । यस्तो अवस्थामा रिसोर्ट खरिदविक्रीको खेल अघि बढाइएको हो ।

यसअघि सरकारी जग्गा अतिक्रमण गरेको ठहर गर्दै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सार्वजनिक तथा सरकारी कित्ताका जग्गा र तीसँग जोडिएका अन्य कित्तामा समेत संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धक लगायतका कुनै पनि काम नगर्नु नगराउनु भनी रुपन्देही जिल्ला अदालतको आदेशमा दिइसकेको छ ।

अदालतले ०७६ असार २० र साउन २९ मा छुट्टाछुट्टै गरेको दुई वटा आदेशमा विपक्षी प्रालिहरुको शेयर, जग्गा र संरचना हस्तान्तरण गर्न नपाउने गरी यथास्थितीमा राख्न रोक्का आदेश गरेको थियो । उक्त आदेश उच्च अदालत तुल्सीपुर बुटवल इजलासले पनि सदर गरेको थियो ।

तर, मुद्दाको टंङ्गो नलाग्दै रिसोर्टले अदालतको आदेश विपरीत कार्य अगाडि बढाएपछि समितीका अध्यक्ष घिमिरेले टाइगर वान प्रालि र सिल्भर हेरिटेज प्रालिविरुद्ध साउन २८ गते बिहीवार रुपन्देही जिल्ला अदालतमा अवहेलना मुद्दा÷निवेदन दायर गरेका छन् ।

मुद्दामा वादीका तर्फबाट भनिएको छ– ‘विचाराधीन मुद्दालाई प्रतिकुल असर पर्ने गरी विपक्षीहरु एक आपसमा मिली कम्पनीको शेयर खरिद विक्री तथा हक हस्तान्तरण गर्ने, रोक्का तथा यथास्थितिमा राख्ने भनिएको जग्गामा नयाँ भवन, पार्टी हल जस्ता भौतिक निर्माण गरी अदालतको आदेशको अवहेलनाजन्य कसुर गरेको हुँदा विपक्षीहरुलाई सजाय हुने गरी आदेश पाउँ ।’

अदालतको आदेश विपरीत विक्री प्रक्रिया अगाडि बढाइएपछि अदालतले उक्त निवेदनलाई फौजदारी डायरीमा दर्ता भनेको छ । मुद्दा उपर जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले विपक्षीहरुले अवहेलना हुने कार्य गरेका हुन् वा होइनन् ? लगायतसहित घर निर्माण संरचनाको प्रमाण र अवस्थिति समेत देखिने प्रमाण फोटो समेत राखी बाटोको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफसहित अदालतमा उपस्थित हुन कारण देखाउ आदेश जारी भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए ।

भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर खोलिएको रिसोर्ट कोरोनाको पहिलो लहर सुरु भएपछि बन्द भएको थियो । पहिलो लहरको संक्रमणमा कमी आएपछि केही समय रिसोर्ट सञ्चालनमा आएको थियो । त्यसबेला यसको भित्री भागमा नयाँ साजसज्जासहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको थियो । लगत्तै दोस्रो लहर सुरु भएपछि पुनः रिसोर्ट बन्द भएको थियो । तर, व्यवस्थापनका अनुसार लकडाउन हुनुभन्दा पहिलेदेखि रिसोर्ट आर्थिक संकटमा परेको थियो ।

व्यवस्थापनका अनुसार यसको प्रारम्भिक मूल्यांकन साढे तीन अर्ब रुपैयाँ भन्दा माथि गरिएको छ । खरिद पक्रिया दुई महिनाभित्र पूरा गर्ने तयारी गरिएको छ । यसअघि रिसोर्ट खरिदका लागि मुलुक भित्रै ठूला व्यावसायिक घराना सक्रिय भएका थिए । पहिलो पटक इन्द्रबहादुर थापाले खरिदका लागि सम्झौता गरेका थिए ।

थापाले अप्रत्याशित रुपमा रिसोर्ट किन्न तीन अर्ब ७५ करोड रुपैयाँ तिर्ने बताएका थिए । समय बित्दै गयो । यस अवधिमा थापाले बोलेको रकम जुटाउन सकेनन् । त्यसपछि खरिद पक्रिया खेर गएको थियो । यस्तो सम्झौता भएको दुइ वर्षपछि भुसालले सम्झौता गरेका हुन् । उनले खरिदका लागि सुरुमा आफ्नै बचत रकम प्रयोग गर्ने र पछि रिसोर्ट सञ्चालन र सेवा सुविधा बिस्तारमा बैंकको सहयोग लिने बताएका छन् ।

रुपन्देहीका भुसाल न्यू हल्यान्ड ट्याक्टरको मुलुकका लागि आधिकारिक बिक्रेता हुन् । लगानी डुब्ने अवस्था आएपछि घाटामा बेचेर टाइगर प्यालेस रिसोर्टका लगानीकर्ता बाहिरिन लागेका हुन् । यसमा पाँच अर्ब २० करोड रुपैयाँ लगानी भएको बताइन्छ । रिसोर्ट १५ बिघा क्षेत्रफलमा छ । भवनले अहिले दुई बिघा ओगटेको छ ।

सरकारी जमिन अतिक्रमण गरेको आरोप लागेपछि विगतदेखि रिसोर्ट विवादित बन्दै आएको हो । कोरोनाले होटल व्यवसाय ठप्प भए पछि लगानीकर्ता जतिसक्दो छिटो रिसोर्ट विक्री गरेर बाहिरिन चाहन्छन् । यस्तो अवस्थामा अदालतमा अबहेलना मुद्दा परेपछि विक्री प्रक्रिया केही समय थाँती रहने अनुमान गरिएको छ ।