April 23, 2025, Wednesday
२०८२ बैशाख १०

बिदेशी लगानीको टाइगर प्यालेस रिसोर्ट किन्दै रूपन्देहीका भुसाल

भैरहवा– रुपन्देहीमा बिदेशी लगानीमा सञ्चालनमा आएको क्यासिनोसहितको पाँच तारे टाइगर प्यालेस रिसोर्ट जिल्लाकै व्यावसायी बालकृष्ण भुसाल किन्दै छन् । भारतीय पाहुना लक्षित गरेर बेलहिया नाकाबाट नजिकै तिलोत्तमा–१७, कोटिहवामा सञ्चालनमा ल्याइएको यो रिर्सोट जिल्लाको आकर्षणका रुपमा रहेको छ ।

ठूलो क्षेत्रफलमा निर्माण गरिएको रिसोर्ट अवलोकनकै लागि धेरै पुग्ने गरेका छन् । यसलाई सिल्भर हेरिटेज ग्रुपले संचालनमा ल्याएको हो । पछिल्लो केही वर्ष निरन्तर घाटा व्यहोरेपछि लामो समयदेखि रिर्सोट विक्रीको हल्ला चलिरहेको थियो । यही बेला कोरोना महामारी सुरु भयो । अहिले महामारीकै बेला जिल्लालाई केन्द्र बनाएर विभिन्न व्यावसाय सञ्चालन गरिरहेका भुसाालले रिर्सोट किन्न लागेका हुन् ।

Advertisement

अहिले जिल्लाका व्यावसायीबीच रिर्सोटको विक्रीलाई लिएर चर्चा भइरहेको छ । स्रोतका अनुसार यसको खरिदका लागि कम्पनी र भुसाल पक्षबीच सुरुवाती सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । यो रिर्सोट खरिद गरेपछि भुसालले यसको ऋण सकार्ने बताइएको छ । यसको सञ्चालनका लागि मुलुकका विभिन्न बैंकले ऋण लगानी गरेका छन् ।

कोरोनाको पहिलो लहर सुरु भएपछि रिसोर्ट बन्द भएको थियो । पहिलो लहरको संक्रमणमा कमी आएपछि केही समय रिसोर्ट सञ्चालनमा आएको थियो । त्यसबेला यसको भित्री भागमा नयाँ साजसज्जासहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको थियो । लगत्तै दोस्रो लहर सुरु भएपछि पुनः रिर्सोट बन्द भएको थियो । तर, व्यवस्थापनका अनुसार लकडाउन हुनुभन्दा पहिलेदेखि रिसोर्ट आर्थिक संकटमा परेको थियो ।

व्यवस्थापनका अनुसार यसको प्रारम्भिक मूल्यांकन साढे तीन अर्ब रुपैयाँ भन्दा माथि गरिएको छ । खरिद पक्रिया दुई महिनाभित्र पूरा गर्ने तयारी गरिएको छ । यसअघि रिसोर्ट खरिदका लागि मुलुक भित्रै ठूला व्यावसायिक घराना सक्रिय भएका थिए । पहिलो पटक इन्द्रबहादुर थापाले खरिदका लागि सम्झौता गरेका थिए ।

थापाले अप्रत्याशित रुपमा रिर्सोट किन्न तीन अर्ब ७५ करोड रुपैयाँ तिर्ने बताएका थिए । समय बित्दै गयो । यस अवधिमा थापाले बोलेको रकम जुटाउन सकेनन् । त्यसपछि खरिद पक्रिया खेर गएको थियो । यस्तो सम्झौता भएको दुइ वर्षपछि भुसालले सम्झौता गरेका हुन् । उनले खरिदका लागि सुरुमा आफ्नै बचत रकम प्रयोग गर्ने र पछि रिसोर्ट सञ्चालन र सेवा सुविधा बिस्तारमा बैंकको सहयोग लिने बताएका छन् ।

रुपन्देहीका भुसाल न्यू हल्यान्ड ट्याक्टरको मुलुकका लागि आधिकारिक बिक्रेता हुन् । लगानी डुब्ने अवस्था आएपछि घाटामा बेचेर टाइगर प्यालेस रिसोर्टका लगानीकर्ता बाहिरिन लागेका हुन् । यसमा पाँच अर्ब २० करोड रुपैयाँ लगानी भएको बताइन्छ । रिसोर्ट १५ बिघा क्षेत्रफलमा छ । भवनले अहिले दुई बिघा ओगटेको छ ।