जसले चालकको हत्या गरी १८ लाखको चामल लुटे
भैरहवा – रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक सयौं मालकबाहक गाडी भारतबाट नेपाल भित्रिन्छन् । गन्तव्यमा पुग्छन्, फर्किन्छन् । तर, चामल ल्याएर नेपाल आएको एउटा मालबाहक सवारीमा भने अपत्यारिलो घटना घटेको छ ।
चालकको हत्या भएको छ । चामल लुटिएको छ । त्यही पनि भैरहवाजस्तो चहलपहल र सुरक्षा निकायको बाक्लो उपस्थिति हुने ठाउँमा । केही दिन अघि भैरहवामा मृत फेला परेका भारतीय नागरिकको घटनामा प्रहरी अनुसन्धान हेर्दा फिल्म शैली झल्किन्छ ।
साउन १७ गते युपी५३ एटी १४१ नम्बर ट्रकमा भारतबाट चामल ल्याई आएका मेरा ज्वाइँ भारत महारागंज ग्राम एकडेगवा, टोल बुडवाका बस्ने तौफिक अहम्मद पठान सम्पर्कमा नआएको भन्दै रुपन्देहीको रोहिणी गाउँपालिका–२ का सजरुद्दिन खाँले जिल्ला प्रहरी कार्यालयमा खोजी गरी पाउ भन्दै २० गते निवेदन दिए । निवेदन परे पैहरी खोजतलासमा लाग्यो । पठानको शव सिद्धार्थनगर नगरपालिका–१३ स्थित डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा फेला पर्यो ।
त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । अनुसन्धान गर्दै जाँदा ट्रक चालक पठानको हत्या गरी चामल लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ का ३० वर्षीय अलि भनिने सद्धाम कुजडा, सोही ठाउँका २७ वर्षीय समिर भनिने रिजवन अली मुसलमान, सोही ठाउँका २८ वर्षीय महेश कहाँर र तनहुँ शुक्लागण्डगी–१० का २७ वर्षीय सुनिल पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
‘चामल लुट्ने योजनासाथ हत्या भयो । त्यसपछि ट्रकको चामल लुटिएको थियो’, रुपन्देही प्रहरी प्रमुख (एसपी) मनोजकुमार केसीले भने, ‘हाम्रो अनुसन्धानले काठमाडौं लगिँदै गरेको चामल यही किन्ने योजना बनाएर पठानको हत्या गरी चामल लुटेको देखिन्छ ।’ प्रहरी अनुसन्धान अनुसार भारतबाट नन्दकिशोर यादवले काठमाडौंस्थित संग्रिला कम्पनीका नन्दन गुप्ताको नाममा चामल पठाएका थिए ।
काठमाडौंका लागि चामल लगिँदै छ भन्ने सद्धामले थाहा पाउँछन् । त्यसपछि उनले नन्दनको नम्बर पत्ता लगाएर काठमाडौं लैजान पर्दैन, म यही किन्छु भन्छन् । त्यसपछि नन्दन तयार हुन्छन् । चालक पठानलाई सद्धामसँग पैसा लिएर मात्रै चामल दिनु भन्छन् । ‘सिद्धार्थनगका सद्धाम र नन्दनबीच प्रत्यक्ष चिनजान हुँदैन । तर चामल किन्ने भने पछि नन्दन राजी भएको देखिन्छ’, एसपी केसीले भने, ‘नगद कारोबारमा चामल विक्री हुने भएपछि यतै विक्री गर्न राजी भएको हुनसक्छ ।’ फोनमा डिल भएपछि गाडी चालकसंग सद्धामको सम्पर्क हुन्छ ।
नन्दनसँग चामल किन्ने भनेका सद्धाम बेलहियाको बाइपास सडकमा पुग्छन् । त्यहाँ उनीसँग रिजवन भन्ने अलि मुसलमान र महेश कहाँर पनि जान्छन् । चालकसँग भेट हुन्छ । त्यसपछि उनीहरु चारजना केही पर गएर मादकपदार्थ सेवन गर्छन् । प्रहरी अनुसन्धान भन्छ, ‘नन्दनले आफूलाई पत्ता लगाउन सक्दैन भनेर उनीहरु हत्या र चामल लुट्ने योजना बनाएको देखिन्छ ।’
मादकपदार्थ सेवन गरी चालकसहित चारजना राति हिँड्दै डण्डा खोला नजीक पुगेपछि ईट्टा प्रहार गरि पठानको हत्यार हुन्छ । त्यसपछि खोलामा फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पठानको हत्या गरेका तीन जना त्यसपछि ट्रक लिएर नवलपरासीको भूमहीमा पग्छन् ।
त्यहाँ भारतीय ट्राबाट दुईवटा नेपाली ट्रकमा चामल लोड गर्छन् । भारतीय ट्रकलाई पुनः फर्काएर सुनौली ल्याएर छाड्छन् । दुई वटा ट्रकमा रहेको चामललाई चितवन पुर्याई तनहुँका सुनिल पौडेललाई विक्री गर्छन् । पौडेलले चामलको बोरा तयार गरी नयाँ ब्राण्डको चामल बनाएर बिक्री गर्ने जिम्मा लिएका थिए । त्यसका लागि पौडेलले चामलको बोरा समेत बनाइसकेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
रोहिणी गाउँपालिकाको पोखरभिण्डी ससुराली भएको चालक पठान विगतमा पनि चामल लिएर नेपाल आउनेजाने गर्थे । प्रहरीकाअनुसार सद्धामकै योजनामा चालक पठानको हत्या गरी चामल लुटी अन्यत्र विक्री गरिएको हो । प्रहरीले छोटो समयमै पठान हत्या र चामल लुटपाटमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्