November 4, 2024, Monday
२०८१ कार्तिक १९

डेढ अर्ब लागतमा आलुका परिकार बनाउने उद्योग

भैरहवा– जर्मन प्रविधिको पूर्णतया स्वचालित प्लान्टबाट आलुका परिवार बनाउने गरी रुपन्देहीमा उद्योग निर्माण सुरु भएको छ । फस्र्ट च्वाइस फुड प्रालिले शुद्धोधन गाउँपालिका–४, मैनहियामा उद्योग निर्माण सुरु गरेको हो । अहिले धमाधम पूर्वाधार निर्माणको काम जारी छ ।

तीन बिघा क्षेत्रफलमा उद्योगको भौतिक पूर्वाधार बनाउन शुरु गरिएको संचालकले जनाएका छन् । उद्योग एक अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने छ । दुई दशकदेखि मासुका तयारी परिकार उत्पादन गर्दै आएका बुटवलका उद्योगी कृष्ण पौडेलले उद्योग निर्माण गरिरहेका हुन् ।

Advertisement

‘हामीले युरोपियन जातको आलुबाट विभिन्न परिकार उत्पादन गर्ने नयाँ उद्योग सञ्चालनमा ल्याउन लागेका हौं’, पौडेलले भने, ‘अहिले उद्योगको भौतिक पूर्वाधार निर्माणको काम ८० प्रतिशत सकिएको छ । आउँदो बैशाखबाट उद्योग संचालनमा ल्याउने तयारी छ ।’

उद्योगबाट फ्रेन्च फ्राई, पोटाटो नगेट्स, चिप्स, समोसा, पकौडा, बल्स आदि एक दर्जन परिकार उत्पादन हुने छ । ‘स्वदेशमै आलु उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले आलुका तयारी परिकार उत्पादन गर्न लागेका हौं’, पौडेलले भने । आलुका परिकार बनाउने गरी यहाँ बनिरहेको उद्योग नेपालकै पहिलो हो ।

संचालकका अनुसार संचालनमा आएपछि उद्योगले प्रतिघण्टा २ मेट्रिक टन तयारी परिकार उत्पादन गर्ने छ । ‘यो अटोमेटिक सिस्टमबाट संचालित उद्योग हुनेछ । ट्रकबाट मेसिनमा आलु खसालेपछि चाहेको परिकार तयार भएर आउँछ’, पौडेलले भने, ‘यस्तो उद्योग अरु छैनन् । यो नेपालमै पहिलो हो ।’

आलु खेतीका लागि प्रालिले कन्ट्याक्ट फार्मिङको अवधारणा अनुसार रुपन्देहीको शुद्धोधन र तिलोत्तमा नगरपालिका तथा दाङ, बर्दिया, बाँके लगायतका जिल्लाका किसानलाई निःशुल्क बिउ, मल र प्रविधि उपलब्ध गराउने नीति बनाएको पौडेलले बताए । ‘किसानले दुई सिजन आलु उत्पादन गर्न सक्ने र उत्पादित आलु उद्योगले उचित मूल्यमा खरिदको सुनिश्चितता गरिदिने छ’, उनले भने ।

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आलुको आपूर्तिका लागि प्रालिले पहिलो चरणमा ५ हजार किसानमार्फत ६०० हेक्टरमा, दोस्रो चरणमा २० हजार बढी किसानमार्फत १८ सय हेक्टरमा र तेस्रो चरणमा ५० हजार किसानलाई आलु खेतीमा आवद्ध गराउने योजना बनाइएको छ । ‘उद्योगका उत्पादन नेपालसहित बंगलादेश, मलेशिया,कतार, दुबई लगायतका देशमा विक्री गर्ने लक्ष्य लिएका छौं’, पौडेलले भने ।

उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा सय जना बढीले प्रत्यक्ष रोजगारी पाउने प्रालिले जनाएको छ । यसैबीच प्रालिले आलु उत्पादक किसानहरुसँग अन्तरक्रिया थालेको छ । उद्योगमा कच्चा पदार्थका रुपमा ठूलो परिमाणमा आलु चाहिने हुँदा धेरैभन्दा धेरै किसानलाई आलु उत्पादनमा जोड्नका लागि अन्तरक्रिया थालिएको कम्पनीका सञ्चालक पौडेलले बताए ।

लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका स्थानीय किसान, कृषि सहकारी तथा जनप्रतिनिधिहरुसँग अन्तरक्रियाको थालनी भएको उद्योगले जनाएको छ । रुपन्देही र कपिलवस्तुमा अन्तरक्रिया सम्पन्न भइसकेको छ । उद्योग सञ्चालन हुँदा प्रतिघण्टा ३० टन आलु आवश्यक पर्ने कम्पनीको अनुमान छ । ‘उक्त परिमाणको आलु उत्पादनमा स्थानीय किसानलाई संलग्न गरी विदेशबाट हुने आलुको आयातलाई निरुत्साहन गर्ने र स्वदेशकै किसानहरुको जिवनस्तर उकास्ने लक्ष्य कम्पनीको छ ।