६ लाख रुपैयाँ जनप्रतिनिधिद्वारा गायब
भैरहवा–ग्यास सिलिन्डर र चुल्हो लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने भन्दै लागत सहभागिताका नाममा जनप्रतिनिधिले उठाएको रकम नगरपालिकामा जम्मा नगरेको पाइएको छ ।
१४ महिनाअघि ५ सय ७८ जनाबाट प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले रकम असुल गरिएको थियो । असुलेको ५ लाख ७८ हजार रुपैयाँ गुलरिया नगरपालिका–८ का वडाध्यक्ष धर्मेन्द्र बानियाले नगरपालिकामा जम्मा नगरेको खुलेको हो ।
उक्त रकम पालिकाको बैंक खाता र अन्य सम्बन्धित निकाय कतै जम्मा भएको देखिएको छैन । उक्त रकम वडाध्यक्ष बानियाले निजी काममा प्रयोग गरेको स्थानीयको आरोप छ । रकम बुझाएको १४ महिना बितिसक्दा पनि ग्यास सिलिन्डर र चुल्हो नपाएपछि रकम फिर्ता गर्न दबाब आएको स्थानीय बेचन लोधले बताए ।
रकम उठाउन वडाध्यक्षले लक्षित वर्गको घर पठाएका व्यक्तिमध्ये लोध पनि एक थिए । लामो समयसम्म पनि ग्यास सिलिन्डर र चुल्हो नपाएपछि आफूले दिएको रकमको व्याजसमेत दिनुपर्ने गुलरिया–८ की निशा लोधले बताइन् ।
लक्षित वर्गसँग जनसहभागिताका नाममा रकम असुल्न नपाइने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले बताए । रकम उठाइएको हो भने तुरुन्तै सम्बन्धितलाई फिर्ता गर्न वडाध्यक्षलाई निर्देशन दिएको उनले बताए । वडाध्यक्ष बानियाले भने उक्त रकम वडास्तरीय बैठकबाट निर्णय गरी उठाएको दाबी गरे ।
‘रकम वडा कार्यालयमा छ’, उनले भने, बैंकमा जम्मा गर्न नमिलेकाले वडा कार्यालयमा सुरक्षित राखेको हुँ ।’ यसैगरी उठाएको रकम विवाद उत्पन्न भएपछि गुलरिया–९ का वडाध्यक्षले फिर्ता गरेका छन् । वडाध्यक्ष हरिप्रसाद पासवानले जनसहभागिताका नाममा उठाइएको रकम सम्बन्धितलाई फिर्ता गरिसकेको दाबी गरे ।
प्रतिकृया दिनुहोस्