February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

भैरहवाका मोबाइल व्यापारी ज्ञवाली, जसले छले साढे सात करोड राजश्व

भैरहवा – खुल्ला सीमाको फाइदा उठाउँदै भन्सार छलेर भारतीय बजारबाट मोबाइल ल्याएर विक्री गर्ने भैरहवाका एक व्यापारीविरुद्ध साढे सात करोड विगो र उत्तिनै जरिवाना माग दावी गर्दै अदालतमा अभियोग पत्र दायर भएको छ । भैरहवाको एभरेष्ट मोबाइल सेन्टरका सञ्चालकविरूद्ध अदालतमा अभियोग पत्र दायर गरिएको हो ।

राजश्व अनुसन्धान विभागले सिद्धार्थनगर–९ मा रहेको उक्त मोबाइल सेन्टरका संचालक विष्णु ज्ञवालीविरुद्ध राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधान) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ख) र (झ) बमोमिको कसुर पुष्टि हुन आएको जनाएको छ । सोही ऐनको दफा २ (छ १) बमोजिम आर्थिक वर्ष २०७३–२०७४ देखि २०७५–२०७६ सम्मको अवैध (लुज) विलबाट कायम गरिएको विक्रीतर्फ कायम कुल विगो ५ करोड ५ लाख ७२ हजार ७ सय ९२ रुपैयाँका भएको राजश्वले जनाएको छ ।

Advertisement

यस्तै, न्यून मौज्दाततर्फ कायम विगो ८६ लाख ४५ हजार ६८ रुपैयाँ गरी जम्मा विगो ७ करोड ५० लाख ८६ हजार १०३ रुपैयाँ विगो कायम गरिएको राजश्वले ठहर गरेको छ । साथै उक्त अधिक मौज्दातमा भएका मालबस्तुको हुन आउने थोक मूल्य १३ लाख १० हजार ५२७ घटाएर ७ करोड ३७ लाख ७५ हजार ५७६ रुपैयाँ राजश्व चुटावट भएको राजश्व विभागको ठहर छ ।

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन ऐन २०५२ को दफा २३ (१) बमोजिम ज्ञवालीबाट चुहावट भएको रकम असुल गरी सोही ऐनको दफ २३ (१) बमोजिम कायम भएको विगोको शत प्रतिशत जरिवाना तथा दफा २३ (१) (ग) बमोजिम तीन वर्ष सजायको माग दावी गर्दै उच्च अदालत, बुटवलमा अभियोग पत्र दायर गरिएको हो ।

अनुसन्धानका क्रममा राजश्व छलीका मोबाइल विक्री भएको पाइएको आरोप लगाएको छ । मोबाइल सेन्टरका संचालक ज्ञवालीले व्यक्तिगत लाभका लागि भारतीय बजारबाट राजश्व छलेर मोबाइल ल्याई विक्री गर्ने गरेको राजश्वले अनुसन्धानका क्रममा ठहर गरेको हो ।

३५ वर्षी ती व्यापारी ज्ञवालीविरुद्ध विभागले बिगो बराबरको जरिवाना र तीन वर्ष सजाय माग दावी पनि गरेको हो । राजश्वले अनुसन्धानका क्रममा झन्डै दुई करोड रुपैयाँका मोबाइल पसलमै मौज्दात रहेको प्रमाण फेला पारेको थियो । विशेष सूचनाका आधारमा राजश्वले अनुसन्धान सुरु गरेको थियो । ज्ञवालीले लामो समयदेखि भारतीय बजारबाट अवैधरुपमा मोबाइल नेपाल भित्र्याई विक्री गर्दै आएको राजश्वको अनुसन्धानले पुष्टि गरेको जनाइएको छ ।

अनुसन्धानका क्रममा फर्ममा रहेका मोबाइलहरू गणना गर्दा मौज्दात र बिक्रीको विवरण फरक–फकर पाइएको थियो । त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढेको थियो । अनुसन्धानमा ठूलो मात्रामा भन्सार छलीका मोबाइल विक्री गरेको पत्ता लागेको राजश्वको दावी छ ।

अनुसन्धानमा ज्ञवालीले पेस गरेको वित्तीय विवरणमा आय लुकाएको, मोबाइल बिक्री गर्दा बिल बिजक नै प्रयोग नगरेको, भन्सार चोरीपैठारी गरी अधिक मात्रामा मौज्दात देखाएर अवैध बिल बिजक जारी गरेको पाइएको विभागले दायर गरेको अभियोगमा दावी गरिएको छ । ज्ञवालीविरुद्ध साउन १८ गते अदालतमा अभियोग पत्र दायर गरिएको हो । उनीविरुद्ध विगो र सजाय गरी १४ करोड ७५ लाख ५१ हजार १५२ रुपैयाँ असुलउपर गर्न माग दावी गरिएको छ ।