April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

विद्युत् आपूर्ति नियमित बनाउन माग

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले विद्युत् आपूर्तिलाई नियमित बनाउन माग गर्दै नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केही समयदेखि बुटवल क्षेत्रमा विद्युतको आपूर्ति अनियमित भएको बताउँदै संघको टोलीले लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरलाई ज्ञापन पत्र बुझाएको हो ।

Advertisement

ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विद्युत आपूर्ति अनियमित हुँदा उद्योग व्यबसायमा र ग्राहस्थ उपभोक्तामा पनि कठिनाई उत्पन्न भएको बताए । ज्ञापन पत्रमा एकातिर विद्युत उत्पादन क्षमतामा बृद्धि भई विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको समाचार आएका छन् भने अर्कोतर्फ त्यसको ठिकविपरीत आपूर्ति दिनानुदिन अनियमित भएको उल्लेख गरिएको छ ।

Advertisement

त्यस्तै पटक–पटक विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगको मेसिनरीलगायत उत्पादन प्रक्रियामा रहेको कच्चापदार्थ समेत नोक्सानी हुँदा उत्पादन लागत बढ्न जाने भएकाले विद्युत वितरण प्रणालीलाई सवलीकरण गर्न र भार व्यबस्थापनका लागि यथासिघ्र पहल गर्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रादेशिक प्रमुख ठाकुरले योगिकुटी ग्रिडमा रहेका तीन वटा ट्रान्सफर्मर मध्ये एउटा जलेका कारण त्यसले ५–७ दिन यता समस्या आएको बताए । एकातिर गर्मीमा लोड बढेको र अर्कोतिर चलिरहेको ट्रान्सफर्मर बिग्रिँदा बुटवल, भैरहवा, नयाँमिल र अमुवा फिडरमा समस्या भएको बताउँदै उनले त्यसको व्यवस्थापनको काम भइरहेकाले ८–१० दिन भित्रमा समस्याको समाधान हुने बताए ।