July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

विस्थापित परिवारलाई सैनामैनामा ‘नमुना बस्ती’

भैरहवा– विस्थापित परिवारलाई बसाउने उद्देश्यसहित रुपन्देहीको सैनामैनामा नमुना बस्ती निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सैनामैना नगरपालिकाको लागत सहभागितामा नमुना बस्ती निर्माण गरी घर बनाइएको हो ।

Advertisement

नमुना बस्तीमा १० वटा घर बनेका छन् । प्रत्येक घरमा दुइवटा बेडरुम, एउटा भान्छा कोठा, एटेच बाथरुम छ । सैनामैना–११ को बरौलीमा तयार गरिएको नमुना बस्ती दुई वर्ष लगाएर निर्माण गरिएको हो ।

Advertisement

नमुना बस्तीमा एउटा घर निर्माणका लागि १८ लाख रुपैयाँ खर्च भएको छ । १० वटा घर निर्माणका लागि १ करोड ८० लाख र विजुली, धारा लगायत जडान गर्दा २ करोड जति खर्च भएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । ‘त्यस बाहेक कम्पाउण्ड वालको लागि एक करोड बढी लागेको छ’, उनले भने ।

विस्थापित परिवारलाई निर्माण सम्पन्न भएका घरहरु दसैंसम्ममा वितरण गर्ने लक्ष्य लिइएको कार्कीले जनाए । ‘ठूला विकास निर्माणका कामबाट, बाढीपहिरो लगायत प्रकोपबाट विस्थापित, सैनामैना स्थायी बसोबास गरेको तर घर व्यवहार विग्रेर, सडकमा आएको परिवारलाई त्यहाँ व्यवस्थापन गर्छौं’, नगर प्रमुख कार्कीले भने, ‘सञ्चालनको मोडालिटी, मर्मतको मापदण्ड बनाएर दसैंसम्म वितरण गर्ने लक्ष्य लिएका छौं ।’

बस्तीका प्रत्येक घरमा रहेका परिवारका सदस्य मध्ये एक जनालाई रोजगारीको व्यवस्था समेत गर्ने नगर प्रमुख कार्कीले बताए । ‘सकेसम्म रोजगारी दिन्छौं, नसकेमा कमाएर खाने केही कठ्ठा जग्गा उपलब्ध गराउने छौं’, उनले भने । यहाँ बस्तीको विचको बाटो पनि टायल विच्छाएर आकर्षक बनाइएको छ । नमुना बस्ती कञ्चन खोलाको किनारमा छ ।

यहाँ बनेका घरहरु विपतहरुबाट पनि सुरक्षित रहेको सैनामैना नगरपालिकाका सव इन्जिनियर अरुण खनालले बताए । ‘हामीले ट्रस्ट स्टक्चरमा घरहरु बनाएका छौं । हलुका संरचना छ । मजबुत भएकाले भूकम्पसहित बाढिपहिरो जस्ता विपदबाट पनि सुरक्षित छ । पचासौं वर्ष यी घर टिक्नेछन्’, उनले भने ।

बस्ती बनाउनु अघि कञ्चन नदीमा तटबन्ध गरिएको थियो । तटबन्ध गर्नका लागि साढे २ करोड रुपैयाँ खर्च भएको नगरपालिकाले बताएको छ । ‘कञ्चन नदीमा गरिएको तटबन्धनले नमुना बस्तीलाई मात्र नभई आसपासका धेरै बस्तीलाई जोगाएको छ । आसपासका ताली, बरौली लगायत ठाउँहरुको पनि संरक्षण भएको छ’, नगर प्रमुख कार्कीले भने ।

विगतमा कञ्चन नदीका कारण वडा नम्बर ११ को मात्रै ६० प्रतिशत भू–भाग डुवानमा पथ्र्यो । तटबन्धले ती सबै ठाउँ संरक्षण भएको छ । बस्ती भएको क्षेत्रमा अझै डेढ सय देखी २ सय घर बनाउने योजना रहेको नगर प्रमुख काकीले जनाए । ‘यहाँ पर्याप्त जमिन छ । यसैले नगरपालिका भरकै विस्थापित परिवारलाई बसाल्ने गरि घरहरु बनाउन पुग्छ । हामीले सोहीअनुसार योजना बनाएर अघि बढ्छौं’, उनले भने ।