सिद्धार्थनगरमा स्वास्थ्य सेवा तथा वडा कार्यालय भवन निर्माण सुरु


भैरहवा- सिद्धार्थनगर नगरपालिका–६ मा स्वास्थ्य सेवा तथा वडा कार्यालय भवन निर्माण सुरु भएको छ ।
नेवा खलःको भवन नजिकमा रहेको नगरपालिकाको २१ धुर जमिनमा साढे एघार स्क्वायर फुटमा भवन निर्माण गरिने छ । भूइँ तल्लामा स्वास्थ्य कार्यालय र माथिल्लो तल्लामा वडा समितिको कार्यालय रहने योजना प्रमुख इन्जिनियर जीवन अर्यालले बताए ।
लुम्बिनी प्रदेश सरकारबाट प्राप्त २८ लाख ५० हजार, स्वास्थ्यबाट ६१ लाख ४९ हजार र बाँकी नगरपालिकाको लागत गरी ८८ लाख ८४ हजार ७७४ मा भवन निर्माण ठेक्का सम्झौता भएको छ । भवनको गंगोत्रीदेवी निर्माण सेवाले ठेक्का पाएको छ ।
२०७८ जेठमै निर्माण सम्झौता भए पनि कोरोना महामारीका कारण केही ढिला गरी निर्माण थालिएको हो । भवन २०७८ माघभित्रै निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
भवनको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेय, नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्ले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
मन्त्री पाण्डेयले जनताको करबाट जनप्रतिनिधि माध्यम बनेर हुने हरेक काममा सबैको सहयोग जरुरी रहेको बताए । नगर क्षेत्रको विकासमा आफूले जतिसक्दो सहयोग गर्ने उनले बताए । नगर प्रमुख अधिकारीले नगरमा केही भएन भन्नु भन्दा भएका कामको सकारात्मक तरिकाले राम्रोलाई राम्रो भन्न सक्नु पर्ने बताए । धेरै काम र विकास नगरमा भएको र अब ६ नम्बर वडाको भवन बनेपछि सबै वडा कार्यालय आफ्नै भवनमा हुने उनले बताए ।
उपप्रमुख काफ्लेले सार्वजनिक जग्गाको खोजीमा सबै जनप्रतिनिधि लाग्नु पर्नेमा जोड दिइन् । वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष रामशंकर कान्दु, करुणानिधि शर्मा, जनता समाजवादी पार्टीका नगर अध्यक्ष अर्जुनप्रसाद जयसवाल, वडा नं.४ का वडाध्यक्ष मुक्तिनाथ यादव, वडा सदस्य वेदप्रसाद सापकोटा लगायतले बोल्दै भवन निर्माण वडाको सेवा थप प्रभावकारी हुने विश्वास गरे ।
प्रतिकृया दिनुहोस्