April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बजार प्रभावित भएको जनाउँदै नाकामा कडाई गर्न माग

बुटवल – भारतीय बजारमा किनमेल गर्न जाने ग्राहक नरोकिएपछि सिमावर्ती स्वदेशी बजार प्रभावित भएको उल्लेख गर्दै उद्योग बाणिज्य संघ बुटवलले नाकामा कडाईका लागि नीतिगत व्यवस्था मिलाउन माग गरेको छ । कोरोना महामारीका बेला नाकाबाट आउजाउ बन्द हुँदा उद्योग व्यबसायमा सकारात्मक प्रभाव परेको संघले जनाएको छ । यस्तो आउजाउमा कडाइले स्वदेशी व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा सुधार हुने जनाउंदै संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

Advertisement

रुपन्देहीको भैरहवा भएका उद्योग, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक प्रकाश पौडेललाई संघका अध्यक्ष उज्वलप्रसाद कसजूले बिहीबार सांझ ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा विभागबाट सम्भव काम आफै र सम्भव नभएका कामलाई मन्त्रालयमा पहल गरिदिन कसजूले आग्रह गरेका थिए ।

Advertisement

महानिर्देशक पौडेलले धेरै कुराको फाइल तयार गरे पनि विभागीय मन्त्री नभएकाले मन्त्रालयमा पुर्याउन नपाएको बताए । विभागबाट हुने कुराहरु विभागले मिलाउने र २–३ वटा कार्यालयबाट हुने कुरालाई एकद्वारबाट हुनेगरी तयारी गरेको उनले बताए ।

ज्ञापन पत्रमा निकासी पैठारी प्रयोजनका लागि व्यबसायीले लिने आयात निर्यात संकेत नम्बर (एक्जिम कोड) को धरौटी लगायत नविकरण गर्ने प्रावधान तथा प्रकृयालाई सरलिकरण गर्न र बैंक सेवा शुल्क न्युनतम गर्न, एक करोड भन्दा बढी पूँजी भएका ब्यावसायीक फर्मको दर्ता तथा नबिकरण बिभागबाट हुँदै आएकोमा स्थानीय बाणिज्य कार्यालयबाट व्यबस्था मिलाउन, साना व्यवसायीहरुको आवश्कयता अनुसार सहज रुपमा सुनचाँदी आपूर्तिको व्यवस्थाका साथै व्यवसायीले ग्राहक तथा सर्वसाधारणबाट खरिद गर्ने सुनचाँदीमा अव्यवहारिक प्रशासनिक झन्झटहरुलाई सहजीकरण गर्न आग्रह गरिएको छ ।

त्यस्तै उद्योग व्यवसाय फर्म दर्ता तथा बन्द गर्दा जिल्ला–नगर उद्योग वाणिज्य संघहरुको सिफारिसमा मात्र आयकर र मुल्यअभिबृद्ध कर (भ्याट) खारेज गर्ने नीतिगत व्यवस्था मिलाउन, बैंकिङ् ङ्गकारोवार प्रयोजनको लागि धितो स्वरुप हुने रजिष्ट्रेशन शुल्क न्यूनत्तम कायम गरी पूजींको आधारमा हुने व्यवस्था मिलाउन तथा साफ्टा सुविधा अन्तर्गत दक्षिणएशियाली देशबाट सामान पैठारी गर्दा एल.सी.लाई बाध्यकारी नगरी बैंक माध्यम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलायन आग्रह गरिएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवालाई बोधार्थ दिइएको ज्ञापन पत्रमा व्यवसायिक र औद्योगिक प्रयोजनको लागि प्रयोग हुने सामानहरु ल्याव टेष्टको कारणले भन्सारमा रहँदाको डिमान्ड चार्ज भुक्तानी गर्दा लागत बढ्नसंगै मूल्य पनि बढ्ने भएकोले स्थानीय स्तरमै ल्याव टेष्टको व्यबस्था मिलाउन, कोरोना भाईरस महामारीबाट प्रभावित साना व्यबसायलाई सरलीकृत रुपमा सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यबस्था मिलाउन र अनौपचारिक क्षेत्रमा रहेका साना व्यवसायलाई समेत दर्ता प्रक्रियामा ल्याई राहतमा समाबेश गर्न आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदा संघका अध्यक्ष कसजूसहित निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, कार्यसमित सदस्यहरु बसन्तप्रसाद ढकाल, कृष्ण श्रेष्ठ, दीपक चापागाई, संघका कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको सहभागिता थियो ।