April 23, 2025, Wednesday
२०८२ बैशाख १०

रूपन्देहीमा विकास खर्च ७४ प्रतिशत

भैरहवा– रूपन्देहीमा (पूँजीगत) विकास खर्च न्यून भएको छ । आर्थिक वर्षको सुरुमा टेण्डर आह्वानमै ढिलाई हुँदा वर्सेनि विकास खर्च न्यून हुने गरेको छ । यसपल्ट पनि त्यो दोहोरिएको छ । आर्थिक वर्ष ०७७–०७८ मा बैशाखदेखि कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएपछि विकास निर्माण प्रभावित भए । यसले पूँजीगत खर्च केही कम भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) रुपन्देहीले जनाएको छ ।

यो आवमा कोलेनिकाले ३८ अर्ब ७५ करोड ३७ लाख ५६ हजार २१६ रुपैयाँ अख्तियारी पाएको थियो । पुँजीगततर्फ ६ अर्ब २९ करोड २३ लाख १ हजार ६६३ र चालुतर्फ ३२ अर्ब ७२ करोड ४५ लाख २४ हजार ५५३ रुपैयाँ बजेट छुट्याइएको थियो । जिल्लामा कुल बजेटको ९२ प्रतिशत अर्थात् ३५ अर्ब ६६ करोड ५५ लाख ४२ हजार ५९३ रुपैयाँ खर्च भए पनि विकास खर्च भने राम्रो छैन ।

Advertisement

कोलेनिकाकाअनुसार विकास खर्च ४ अर्ब ४८ करोड १ लाख ५६ हजार ८४५ रुपैयाँ भएको छ । जुन कुल बजेटको ७४ प्रतिशत हो । यस्तै, चालुतर्फ भने ९५ प्रतिशत खर्च भएको छ । चालुमा ३१ अर्ब १८ करोड ५३ लाख ८५ हजार ७४७ रुपैयाँ खर्च भएको छ । ‘अघिल्लो आवको तुलनामा यसपल्ट धेरै राम्रो खर्च भएको छ । तर, अझै पर्याप्त होइन । यसलाई आउने वर्षमा बढाउनुपर्छ’, प्रमुख कोष नियन्त्रक शशिन्द्र खातीले भने ।

अघिल्लो आव ०७६–०७७ मा कुल ३८ अर्ब ३० करोड ६२ लाख ५७ हजार रुपैयाँ बजेटमध्ये पूँजीगततर्फ ६३.४८ प्रतिशत र चालुतर्फ कुल ९१.४ प्रतिशत खर्च भएको थियो । ‘आवको सुरुमा काम स्प्रीट भए पनि लकडाउनको अवधिमा काम खासै हुन सकेन, यसले पनि विकास खर्च सोंचेअनुसार भएन । होइन भने यसपल्ट खर्च धेरै नै हुन्थ्यो’, प्रमुख कोष नियन्त्रक खातीले भने ।

उक्त आवमा बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईले पूँजीगततर्फ ९१ प्रतिशत खर्च गरेको छ । यहाँ ६३ करोड ४० लाख रुपैयाँ विनियोजना भएको थियो । सडक डिभिजन बुटवलले १ अर्व ९२ करोड ८५ लाख २९ हजार रुपैयाँ मध्ये १ अर्व ५६ करोड ८७ लाख ८२ हजार ६ सय २८ रुपैयाँ अर्थात् ८१.३५ प्रतिशत बजेट खर्च गरेको छ ।

जिल्लास्थित सुरक्षा निकायले पूँजीगततर्फ भने शत प्रतिशत खर्च गरेका छन् । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा रहेको भन्सार कार्यालयको चालु खर्चको ३६ लाख ८२ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ लाख रुपैयाँ बिनियोजन भए पनि काम नहुँदा यो बजेट नै खर्च भएन ।

‘यस्तो जटिल अवस्थामा पनि बजेट खर्च केही सकारात्मक नै छ । समग्रमा राष्ट्रिय स्तरमा यसलाई राम्रो मान्नुपर्छ’, खातीले भने । कोलेनिकाका अनुसार शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले पूँजीगत खर्च ३.६६ प्रतिशत मात्रै गरेको छ । यो मन्त्रालयले ८ करोड ७२ लाख रुपैयाँ बजेटमध्ये ३२ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

तीन गुणा बढी राजस्व असुली
रुपन्देहीबाट गएको आवमा १ खर्ब ३७ अर्ब १ करोड १२ लाख ३३ हजार ७ सय ६४ रुपैयाँ राजस्व संकलन भएको छ । जबकी जिल्लाले चालु र पूँजीगत गरी कुल ३८ अर्ब ७५ करोड ३७ लाख ५६ हजार २१६ रुपैयाँ बजेट पाएको थियो । खर्चको तुलनामा जिल्लाले ३ गुणा बढी राजस्व असुल गरेको हो ।

कोलेनिकाको तथ्यांकअनुसार गएको आवमा भैरहवा भन्सार कार्यालयले १ खर्ब १२ अर्व ५५ करोड ४ लाख ९७ हजार २५८ रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्ब ५१ करोड ८ लाख २९ हजार ३१६, आन्तरिक राजस्व बुटवलले ११ अर्ब १० करोड ८ लाख ४० हजार ९२९ रुपैयाँ राजस्व संकलन गरेका छन् । यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालय १ अर्ब ३८ करोड ८६ लाख १ हजार ११५, जिल्ला ट्राफिक कार्यालय, रुपन्देहीले ५ करोड ७१ लाख ४० हजार राजस्व संकलन गरेका छन् ।

लुम्बिनी सरकारको ९९ प्रतिशत खर्च
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ मा ९९.४२ प्रतिशत पूँजीगत बजेट खर्च गरेको बताएको छ । प्रदेश सरकारले चालुतर्फ ७७.५६ प्रतिशत खर्च गरेको छ । चालु र पूँजीगत गरी ८८.७६ प्रतिशत बजेट खर्च भएको सरकारले जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले यसपल्ट धेरै बजेट खर्च गरेर इतिहास रचेको दावी गरे । उनले सडक, सिंचाई, पुल जस्ता पूर्वाधार निर्माण, कोभिड–१९को नियन्त्रण र उपचार, प्रदेशको आवधिक योजना निर्माण र कार्यान्वयनमा उल्लेखनीय काम भएको जनाए ।