आफ्नै सुविधा सम्पन्न भवन छाडेर भाडाको कोठाबाट कार्यालय चलाउँदै कोटहीमाई


भैरहवा – अफ्नै सुविधा सम्पन्न भवन हुँदाहुँदै पनि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले १५ किलोमिटर टाढा भैरहवामा गोप्यरुपमा फल्याट भाडामा लिएको पाइएको छ । जनप्रतिनिधिकै मिलेमतोमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले फल्याट भाडामा लिएका मात्रै छैनन्, गाउँपालिकाका गतिविधि, ठेक्कापट्टाको भुक्तानी पनि यहीबाट हुँदै आएको छ ।
कोटहीमाईले मायादेवी गाउँपालिका–८ मा रहेको शित भण्डार नजिकै साढे तीन तल्ला घरको पहिलो तल्लामा फल्याट लिएर कार्यालय राखेको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौड, लेखा अधिकृत निरन्जन ज्ञवाली र इन्जिनियरहरुले यही बसेर अधिकांश काम गर्छन् । ‘यहाँबाट भैपरी खर्च मात्रै चलाउँदै आएका छैनन्, टेण्डरको योजना बनाउने, ठेक्कापट्टा लगाउने, भुक्तानी दिने र विलभौचर मिलाउँदै आएका छन् । यो भ्रष्टाचारको पराकाष्ट हो’, स्थानीय अगुवा गुरुवचन यादवले भने ।
मासिक १६ हजार रुपैयाँ तिर्ने गरी तीन महिना अघिबाट यहाँ फल्याट भाडामा लिइएको लेखा अधिकृत ज्ञवालीले बताए । झण्डै चार करोड खर्चेर गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न भवन बनाएको छ । तर, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अतिरिक्त पैसा तिरेर फल्याट भाडामा लिएर कानूनविपरीत ठूला योजनाको करोडौं रुपैयाँ भुक्तानी यहीबाट हुँदै आएको छ ।

‘हामीलाई एउटा फाइल सदर गर्न पनि भैरहवा जानुपर्ने बाध्यता छ, कार्यालयमा कर्मचारी नै भेटिँदैनन्, यति सुविधायुक्त भवन हुँदाहुँदै पनि भाडामा अर्को कार्यालय खडा गर्नुपर्ने किन ?’, स्थानीय अगुवा यादवले भने, ‘यसबारे सबै जनप्रतिनिधि जानाकार छन् तर कोही बोल्दैनन् ।’
कर्मचारी र जनप्रतिनिधिको मिलेमतो सरासर भ्रष्टाचार भएको स्थानीयको आरोप छ भने यसबारे गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मौन छन् । कार्यालयमा कर्मचारी नै नबसेको भन्दै तीन हप्ता अघि वडाध्यक्षसहित स्थानीयले पालिका कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी पछि खुले पनि कर्मचारी कार्यालयमा बस्दैनन् ।
प्रमुख प्रशासकीय र लेखा अधिकृतले गोप्यरुपमा भाडमा लिएको फल्याटबाटै गाउँपालिका चलाउँदै आएका छन् । भुक्तानी, फाइल सदर, सिफारिस, तोकआदेश लिन परे कोटहीमाईका स्थानीय १५ किलोमिटर टाढा भैरहवा आउनुपर्छ । उनीहरु कार्यालय खासै जाँदैनन् । बैशाखयता हाजिर गरेर भैरहवामै आउने गरेका छन् । पाँच–सात जना तल्लो तहका कर्मचारी र सहयोगीसहित उनीहरुले पालिकाको काम भैरहवाबाटै गर्छन् ।

‘कार्यालयका अधिकांश शाखा बन्द छन्, कर्मचारी कहाँ छन् भन्नेबारे न जनप्रतिनिधिले चासो राख्ने गर्छन् न त प्रशासकीय अधिकृतले । असार यता गाउँपालिकाका अधिकांश शाखामा तालाचावी झुण्डिएको छ, चासो राख्ने र कारबाही गर्ने कसले ?’, यादवले प्रश्न गरे ।
कानूनतः यसरी गोप्य फल्याट भाडामै लिएर विलभौचर मिलाउने, भुक्तानी दिने गर्न पाइँदैन । तर, कोटहीमाईले यसैगरी विगतदेखि नै काम गर्दै आएको स्थानीय बताउँछन् । मिलेमतोकै कारण जनप्रतिनिधि कर्मचारीको गतिविधिबारे मौन छन् । यसले एकातर्फ जनप्रतिनिधिको नेतृत्वमाथि प्रश्न चिन्ह उब्जिएको छ भने अर्कातर्फ स्थानीयले गाउँमै सिंहदरबार आएको अनुभूति गर्न पाएका छैनन् ।
‘यसरी मनमौजी गर्ने कर्मचारीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न ढिलाइ गर्नुहुँदैन । होइन् भने स्थानीय विद्रोहमा उत्रिन्छन्’, यादवले भने । गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले प्रशासकीय र लेखा अधिकृतले आफूहरुले भनेको नमान्ने बताए । उनले भाडामा कार्यालय लिएको आफूलाई जानकारी नभएको बताए ।

‘मसँग कुनै सरसल्लाह गर्दैनन्, उनीहरुले पालिकाबाट फाइल बोकेर कहाँ लैजान्छन्, के गर्छन्, यसबारे मलाई केही थाहा छैन् । समयमै कार्यालय आउँदैनन्, आए पनि धेरैबेर बस्दैनन्’, अध्यक्ष यादवले भने । अध्यक्ष यादवले यस्तो भनिरहँदा उनका छोरा घनश्याम यादव भने भैरहवामा रहेको गोप्य कार्यालयमा प्रायः भेटिन्छन् । कर्मचारीलाई कस्तो काम लगाउने, कहाँ–कहाँ बिल, भौचर मिलाउने सबै काम अध्यक्षका छोरा घनश्यामले नै गर्छन् ।
स्थानीयका अनुसार अध्यक्षको भन्दा छोरा घनश्यामको निर्देशनमा कर्मचारीले काम गर्ने गरेका छन् । अध्यक्षले नै छोरालाई सबै काममा खटाउने गरेका छन् । अध्यक्ष यादवका छोरा घनश्यामले भने आफ्नो केही भूमिका नरहेको दावी गर्दै प्रशासकीय अधिकृतको बद्मासीले गर्दा आफ्नो बदनाम गर्न खोजिएको जनाए ।
पालिका उपाध्यक्ष भानमति बनियाँले भैरहवामा कार्यालय भाडामा लिएको जानकारी भए पनि कति भाडा तिर्छन् र के प्रयोजनका लागि लिएका हुन् भन्ने आफूलाई जानकारी नभएको बताइन् । उनले भनिन्, ‘हामीसँग सल्लाह नगरी भाडामा लिइएको हो, यसबारे मलाई केही थाहा छैन । कर्मचारी खासै कार्यालय आउँदैनन् । हामीलाई कारबाही गर्ने अधिकार छैन ।’

प्रमुख प्रशासकीय अधिकृत गौडलाई यसबारे बुझ्न खोज्दा उनले फोन रिसिभ गरेनन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नरेश यादवले आफू तीन दिनका लागि मात्रै निमित्त भएको भन्दै पालिकाका कुनै गतिविधिबारे आफूलाई जानकारी नभएको बताए ।

लेखकको सम्वन्धमा