October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

नेप्से ३ हजार नजिक, बैंकिङ क्षेत्रमा आकर्षण

 नयाँ आर्थिक वर्षको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा एक महिना पछि नेप्से ३००० अंकको बिन्दु नजिक पुगेर बन्द भएको छ ।

 
नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार ९७ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से आज १३.८० अंकले वृद्धि हुँदा २९९४.४२ अंकमा बन्द भएको छ । नेप्से बढे पनि ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सूचक ‘सेन्सिटिभ इन्डेक्स’ भने घटेको छ । सेन्सिटिभ इन्डेक्स ०.२४ अंकले घटेर ५६०.७२ अंकमा बन्द भएको छ ।

आज दोहोरो अंकको वृद्धिसँगै नेप्से असार १ गते यताकै उच्च बिन्दुमा पुगेको हो । जेठ ३१ गते ३०२५.८१ अंकको ऐतिहासिक उचाइमा पुगेर असार १ गतेबाट नेप्से घट्न सुरु भएको थियो । तर, गत साताबाट नेप्सेमा पुनः लगानीकर्ताको आकर्षण बढेसँगै नेप्सेले ऐतिहासिक बिन्दु पछ्याएको छ ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार पछि केही दिन स्थिर देखिएको सेयर बजारमा पछिल्लो केही दिन यता भने लगातार उकालो लागेको छ । गत साताबाट बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक यो बुलकै उच्च बिन्दुमा पुगेको छ । गत जेठ मसान्तमा नेप्से ३०२५ अंकमा पुग्दा १९९७ अंकंसम्म पुगेको बजारलाई लिड गर्ने बैंकिङ उपसूचक आज नेप्से २९९४ अंकमा रहँदा २०६८ अंकमा पुगेको छ ।

आइतबारको उच्च वृद्धिपछि आज पनि सुरुवाती समयमा नेप्सेले सोही लय समातेको थियो । तर, आज नेप्सेमा खरिद र बिक्री चापबीच उच्च प्रतिस्पर्धा देखिँदा नेप्सेमा पनि तिव्र उताचढाव देखिएको छ । ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से ३०३२.८४ अंकको उच्च बिन्दुमा पुग्दा २९८१.९२ अंककको तल्लो बिन्दु कायम गरेको थियो ।

बजार परिसूचक सँगै कारोबार रकम पनि बढ्दै गएको छ । आइतबार साढे ११ अर्ब माथिको कारोबार भएको नेप्सेमा आज ११ अर्ब ८१ करोड पुगेको छ । नेप्सेमा आज ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५५ हजारको कारोबार भएको छ ।

आज नेप्से बढे पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटेल तथा पर्यटन, लघुवित्त लगायतका उपसूचक भने घटेको छ । तर, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने १०.८४ अंक अर्थात ०.५३ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसूचक सवार्धिक ५.२२ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक १.४७ प्रतिशतले बढेको छ ।

यता, वित्त कम्पनी उपसूचक १.१७ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक  ०.०५ प्रतिशत, विकास बैंक उपसूचक ०.३८ प्रतिशत र लघुवित्त उपसूचक  ०.०८ प्रतिशतले घटेको छ । त्यस्तै होटेल तथा पर्यटन उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्षको समाप्तीसँगैं सकारात्मक ब्यालेन्ससिट आएको प्रारम्भिक सूचनापछि बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको छ । जसले गर्दा कारोबार रकममा पनि बैंकहरुले नै लिड गरेका छन् ।

आज नेप्सेमा  एनआईसी एशिया बैंकको ३५ करोड ४१ लाख ६६ हजारको कारोबार हुँदा नबिल बैंकको ३३ करोड १८ लाख १२ हजार र नेपाल बंगलादेश बैंकको ३१ करोड २९ लाख २२ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा सिनर्जी पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै विशाल बजार कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले वृद्धि हुँदा  नेपाल इन्स्योरेन्सको ७.५७ प्रतिशत, नागरिक लगानी कोषको ६.४० प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ५.९८ प्रतिशतले बढेको छ ।

यता, गोर्खाज फाइनान्सको सेयर मूल्य ३.६ प्रतिशतले गिरावट हुँदा मञ्जुश्री फाइनान्सको सेयर मूल्य ३.२ र जलविद्युत लगानी तथा किवास कम्पनीको सेयर मूल्य ३.०२ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा १८३ कम्पनीको सेयर कारोबार हुँदा ९४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको सेयर मूल्य घटेको छ भने छ कम्पनीको मूल्य स्थिर रहेको छ ।