तीन वर्षपछि लक्ष्य पूरा, १३ प्रतिशत बढी राजस्व संकलन


भैरहवा– मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७–०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । विभागले यो आवमा भन्सारलाई ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार रुपैयाँ राजस्व असुली लक्ष्य तोकेको थियो ।
भन्सार कार्यालयले यो आवमा १ खर्ब १२ अर्ब ५४ करोड २५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा १३ प्रतिशतले बढी हो । ‘विभिन्न कारणले हामीले विगतका तीन आर्थिक वर्षमा भन्सार राजश्व लक्ष्य पूरा गर्न सकेका थिएनौं । यसपल्ट लक्ष्यभन्दा भेट्टाएनौं मात्रै बढी संकलन गर्न सफल भयौं’, भन्सारका सूचना अधिकृत तीर्थराज पासवानले भने ।
भन्सारले आर्थिक वर्ष २०७४–०७५ मा ८१ अर्व ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य पाएकोमा ७० अर्व २८ करोड ९३ लाख ५ हजार अर्थात् लक्ष्यको ८६ प्रतिशत मात्र अर्थात राजस्व असुली गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५–०७६ मा ९३ अर्व ९५ करोड ९७ लाख ७३ हजार लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात् ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र राजस्व असुली भएको थियो ।
आव २०७६–०७७ मा १ खर्व ६ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा ६६ प्रतिशत अर्थात् ७० अर्व २९ करोड १५ लाख ९७ हजार मात्र राजस्व संकलन भएको थियो । ‘यसपल्ट कोरोना महामारीबीच पनि लक्ष्य भेट्टायौं । पछिल्लो समय रुपन्देहीलगायत आसपासका क्षेत्रमा आर्थिक क्रियाकलाप बढ्दै गएका छन् । गैरभन्सार क्रियाकलाप नियन्त्रण भएको छ’, भन्सार प्रमुख मनीराम पौडेलले भने, ‘यसले गर्दा पनि असुलीदर राम्रो भयो ।’
उनकाअनुसार मोटरसाइकललगायत बढी राजस्व संकलन हुने वस्तु आयातमा बृद्धि भएकाले पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्न भन्सार कार्यालय सफल भएको हो । ‘चोरीपैठारी रोकिए, आम नागरिकमा पनि भन्सार गरेर मात्रै सामान लैजानपर्छ भन्ने बुझाइ बढेको पाइयो । यी र यस्ता कारण हाम्रो सफलता हुन्’, पासवानले भने ।
भन्सार कार्यालयका अनुसार आब ०७७–०७८ मा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट संकलन भएको छ । मोटरसाइकलबाट २० अर्ब ६३ करोड १४ लाख ५४ हजार संकलन भएको छ । यस्तै, एमएस विलेटबाट ५ अर्ब ६९ करोड ४९ लाख ४० हजार, ग्लेज टाइलबाट ३ अर्ब ४३ करोड १२ लाख, हाइस्पीड डिजेलबाट २ अर्ब ६३ करोड ८९ लाख ७४ हजार, सिंगल क्याव पिकअप गाडीबाट २ अर्ब ६२ करोड ५० लाख ७१ हजार, डबल क्याव पिकअप गाडीबाट २ अर्ब ४७ करोड ९४ लाख ४२ हजार राजस्व संकलन भएको छ ।
यस्तै, पेट्रोलबाट २ अर्ब ४१ करोड ६६ लाख ५४ हजार, पोलीथिन दानाबाट १ अर्ब ५० करोड ९७ लाख ७३ हजार, मार्वल स्ल्याबबाट १ अर्ब ४४ करोड ९८ लाख ३९ हजार र ट्रक, मिनी ट्रकबाट १ अर्ब १५ करोड ८६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्