April 23, 2025, Wednesday
२०८२ बैशाख १०

रोटरी भैरहवाको सक्रियतामा विद्यालयमा शौचालय निर्माण

भैरहवा- रोटरी क्लब अफ भैरहवाले महालक्ष्मी विकास बैंक लिमिटेडको सहकार्यमा बेलहिया माध्यमिक विद्यालयमा शौचालय निर्माण गरिदिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर एकस्थित यो विद्यालयमा राम्रो शौचालय नहुँदा समस्या थियो ।

बुधबार नवनिर्मित शौचालय भवन क्लबले विद्यालयलाई हस्तान्तरण गरेको छ । ७ लाख ७ हजार ७ सय ९७ रुपैयाँको लागतमा महालक्ष्मी विकास बैंक लिमिटेडको १ लाख ७५ हजार, बेलहिया मा.वि. को १ लाख ५ हजार, रोटरी क्लब अफ भैरहवाको ९० हजार ५ सयसहित विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा शौचालय निर्माण गरिएको कार्यक्रम संयोजक रामप्रसाद पन्थीले जानाकरी दिए ।

Advertisement

‘ह्याप्पी स्कूल’को परिकल्पना गरी सर्भिस प्रोजेक्ट अन्तर्गत क्लबले विद्यालयमा शौचालय निर्माण गरेको उनले बताए । शौचालय हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं रोटरी डिष्ट्रिक ३२९२ रिजन २१ का एसिसटेन्ट गभर्नर राजकुमार गुप्ताले बेलहिया मावि व्यवस्थापन समितिको सक्रियताका कारण विद्यालयलाई क्लबले सहयोग गरेको जनाए ।

‘कतिपय विद्यालय व्यवस्थापन समितिले निर्माण भएका संरचनाहरुको संरक्षण गर्न नसकिरहेको अवस्थामा यहाँ संरक्षण र सहकार्य राम्रो भएको पाइयो । क्लबले यसरी संरक्षण हुने विद्यालयमा लगानी गर्छ’, उनले भने ।

विद्यालयलाई राम्रो होस् भन्ने उद्देश्यले रोटरी क्लब अफ भैरहवाको अगुवाइमा महालक्ष्मी विकास बैंक लगायत उद्योगी, व्यवसायी, समाजसेवीले शौचालय निर्माणमा सहयोग गरेको गुप्ताले बताए । ‘विद्यालयमा निर्मित शौचालयको रेखदेख विद्यालय व्यवस्थापन समितिले गर्नेछ, रोट्रयाक्ट क्लब अफ भैरहवाले पनि बेलहिया मा.वि.मा केही गर्छौं भनेर अगाडि बढेको छ । आवश्यक अन्य सहयोग हुनेछ’, गुप्ताले भने ।

आर्थिक अभावका कारण विद्यालय आउन नसक्ने विद्यार्थीहरुको पहिचान गर्न विद्यालयलाई आग्रह गर्दै उनले भने, ‘पोशाक, स्टेशनरी किन्न नसक्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको विवरण छिटो भन्दा छिटो संकलन गर्नुहोस्, हामी सहयोग गर्छौं ।’

यस अघि क्लबले विद्यालयलाई कम्प्युटर प्रदान गरेको र विद्यालयले उक्त कम्प्युटरको हेरचाह गरेको थाहा पाउँदा खुशीको अनुभूति भएको बताए । क्लबका निवर्तमान अध्यक्ष शिवहरि शर्माले कोभिड–१९ का कारण शौचालय निर्माण केही ढिला भएको बताए । उनले शौचालय निर्माणका लागि सहयोग र सहकार्य गर्ने महालक्ष्मी विकास बैंकलाई धन्यवाद दिए ।

बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले क्लबले काम गर्ने प्लेटफर्म दिएको भन्दै क्लबको सह्रना गरे । उनले बैंक अग्रपंक्तिमा रहेर संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । चालु आर्थिक वर्षको अन्तिममा बेलहिया माविलाई शौचालय हस्तान्तरण गरिएको र यस अघि पनि रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले महालक्ष्मीसंगको सहकार्यमा भानु माविमा शौचालय निर्माण गरेको जानकारी दिए । उनले १०३ वटा शाखामार्फत बैंकले सेवा प्रदान गरिरहेको बताए ।