May 12, 2025, Monday
२०८२ बैशाख २९

१४ अर्बको हकप्रद सेयर बिक्रीका लागि धितोपत्र बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु वर्षमा कुल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ।

बोर्डका अनुसार चालु वर्ष विभिन्न सात कम्पनीले हकप्रद सेयर बिक्रीका लागि अनुमति पाएका छन्। त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयरहाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको छ।

Advertisement

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ।

कम्पनीको चुक्ता पुँजी २२ अर्ब पुर्‍याउने लक्ष्यसाथ एचआडिसिएलले हकप्रद सेयर बिक्री गर्न लागेको हो।

बोर्डले कम्पनीलाई ११ अर्ब बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ। हाल ११ अर्ब बराबरको चुक्ता पुँजी भएको कम्पनीले हकप्रद सेयर बिक्री गरेपछि कुल पुँजी २२ अर्ब बराबर पुग्नेछ।

कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिरहेको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। बोर्डले असार ९ गते हकप्रद सेयर बिक्रीको अनुमति दिएको हो।

बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ। नागरिक लगानी कोषले समेत चालु वर्षमै हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो।

कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो। यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय र अपि पावर कम्पनीले ५६ करोड ७० लाख बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो।

यस्तै, बोर्डले चालु वर्ष मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई २३ अर्ब चार करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ।

बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आवमा मात्रै कुल १९ कम्पनी पुगेका छन्।

मैलुङ खोलाले ७ करोड ३६ लाख २८ हजार बराबरको साधारण सेयर बिक्री गर्नेछ। बोर्डले कुल १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७ सय बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ।

शुक्रबार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रूपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन्।