April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सिद्धार्थ लेडिज सर्कलको सहयोगमा विद्यार्थीका लागि सिलाइ प्रशिक्षण केन्द्र स्थापना

भैरहवा– सर्वसाधारण परिवारका विद्यार्थीका लागि आवश्यक परेको वेलामा सरल र सहज ढंगले आत्मनिर्भर हुन सक्ने व्यवसाय के हुन सक्ला ? धेरैका अ–आफ्नै तर्क र बिचार हुन सक्छन् ।

Advertisement

सिद्धार्थ लेडिज सर्कल–४ भैरहवाले भने यसका लागि सिलाइ कटाइको व्यवसाय नै उत्तम भएको ठहर गर्दै विद्यार्थीलाई सिप सिक्नका लागि लगानी समेत गरेको छ । जहाँ विद्यार्थीले अति न्युन शुल्क तिरेर सिलाइ कटाइको सिप सिक्न सक्छन् ।

Advertisement

विद्यार्थीलाई सिपको माध्यमबाट पनि आत्मनिर्भर बनाउने उद्देश्यले सिद्धार्थ लेडिज सर्कल–४ ले भैरहवा उच्च माविमा ‘सिलाइ प्रशिक्षण केन्द्र’ को स्थापना गरेको हो । उक्त केन्द्रको शुक्रवार लुम्बिनी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय मार्फत् विद्यालयका प्राचार्य चुन्नप्रसाद पाण्डेलाई प्रशिक्षण केन्द्रको चावी उपलब्ध गराएर हस्तान्तरण समेत गरिएको छ ।

सिद्धार्थ लेडिज सर्कलमा आवद्ध ११ जना महिलाले आफ्नो पहलमा आर्थिक श्रोत जुटाएर उक्त प्रशिक्षण केन्द्रको स्थापना गरेका हुन् । १० वटा सिलाइ मेसिनसहित प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीलाई आवश्यक पर्ने कपडा, धागो लगायतका सामग्रीको लेडिज सर्कलले निःशुल्क उपलब्ध गराएको छ ।

सिद्धार्थ लेडिज सर्कलकी अध्यक्ष बिनु अग्रवालले यहाँ सीप सिकेपछि आवश्यक परेको वेलामा विद्यार्थीले घरमैं बसेर पनि सरल र सहज ढंगले सिलाइ व्यवसाय गरेर आत्मनिर्भर बन्न वा आम्दानीको श्रोत जुटाउन सक्ने भएकाले उक्त प्रशिक्षण केन्द्रको स्थापना गरेको बताइन् ।

‘सिलाइ कटाइ व्यवसाय अति सरल र सहज रुपमा फुर्सदको समय निकालेर घरमैं संचालन गर्न सकिने व्यवसाय हो’, अग्रवालले भनिन्, ‘यसबाट राम्रो आम्दानी पनि छ । अध्ययनसँगै फुर्सदको समयमा विद्यार्थीले घरबाटै यो व्यवसाय संचालन गरेर पनि आत्मनिर्भर बन्न सक्छन् ।’

प्रशिक्षण केन्द्रमा अपनत्व र सिकाइप्रति जागरुकता ल्याउनका लागि मात्र अति न्युन शुल्क कायम गरिएको बताइन् । सिद्धार्थ लेडिज सर्कलले यस अघि पनि कारागारमा बन्दी जीवन बिताइरहेका बन्दीका लागि टेलिभिजन, सिद्धार्थ वाल गृह र अन्य अनाथ गृहमा ६० हजार भन्दा धेरै मूल्यको खाद्यान्न बितरण, पोशाक, जाडोमा कम्बल बितरण, निःशुल्क पाठ्यपुस्तक बितरण गरेको थियो । संस्थामा विगतदेखि नै विभिन्न सामाजिक कार्य संचालना गर्दै आइरहेको छ ।

पूर्वाधार विकासमन्त्री पणडेयले क्षेत्रको विकासमा आफू लागि पर्ने बताए । उनले नमूना मावि यस क्षेत्रको गौरव भएको बताउँदै यसको पूर्वाधार विकासमा लागि पर्ने जनाए । आफू मन्त्री भएपछि हरेक विषयवस्तुमा यहाँका अगुवासँग कुराकानी र सरसल्लाह गरेर अघि बढेको भन्दै आगामी दिनमा पनि यहाँको विकासमा लाग्ने बताए । उनले सिकाई केन्द्रबाट धेरै विद्यार्थी लाभान्वित हुने विश्वास गरे ।

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले आफ्नो कार्यकालमा नगरभित्रका अधिकांश विद्यालयहरुमा भवन निर्माण भएको जनाए । उनले पूर्वाधार भएर मात्रै नहुने भन्दै राम्रो शिक्षाका लागि शिक्षक अझै जिम्मेवार हुनुपर्ने बताए । ‘जुन किसिमको पूर्वाधार विकास भइरहेको छ, त्यसअनुसारको पढाई छैन’, उनले भने, ‘अब शिक्षा सुधारतर्फ हामी लाग्नुपर्छ ।’

अधिकारीले शिक्षासँगै सिपयुक्त भए भोलिका दिनमा विद्यार्थीहरुलाई रोजगारीको समस्या नहुने जनाए । लेडिज सर्कलले गरेको काम सराहनीय रहेको उनले जनाए । समाजसेवी एवं उद्योगी नारायणप्रसाद अग्रवाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल, साहित्यकार एवं समाजसेवी विजय गोविन्द श्रेष्ठ, भैरहवा मर्निङवाक गु्रपमा अध्यक्ष एवं समाजसेवी ओमकार गौचनले लेडिज सर्कलले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको जनाए । भोलिका दिनमा विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सिलाई केन्द्र कोशेढुंगा सावित हुने उनीहरुले बताए ।

विद्यालयका प्राचार्य चुन्नप्रसाद पाण्डेले विद्यालय समयमैं ६ देखि १२ कक्षामा अध्ययनरत छात्र–छात्रालाइ दैनिक दुई सिफ्ट संचालन गरेर प्रशिक्षण दिइने जनाए । उनले यस केन्द्रबाट सिद्धार्थनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सिप सिक्न सक्ने जनाए ।