January 25, 2025, Saturday
२०८१ माघ १३

अब बजारमा सारथी टायर

निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडिकाे भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ ।

रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर समेत रहेको कम्पनीको दावी छ। नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकोले सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दावी छ ।

Advertisement

सो टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडी सहित उत्कृष्ट ट्रयाक्सनयुक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिनेमा कम्पनी विश्वस्त रहेको छ।

हाल यो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

तीन वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको छ ।