October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

लुम्बिनी प्रदेशमा ४७ प्रतिशत रोपाइँ

भैरहवा– लुम्बिनी प्रदेशमा करिब ४७ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेशमा रहेको कुल ६ लाख ८६ हजार ७ सय ४ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ३४ हजार ६ सय ७५ हेक्टरमा धान खेती हुन्छ ।

समग्र प्रदेशमा यस वर्ष करिब ४७ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशभरि धान खेती हुने कुल ३ लाख ३४ हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको सकिएको कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका अधिकृत दिनबन्धु पौडेलले जानकारी दिए ।

रूपन्देहीमा असार १७ गतेसम्मको तथ्यांक हेर्दा ५६ प्रतिशत रोपाइँ सकिएको छ । यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको थियो । रूपन्देहीमा कुल ८२ हजार ६ सय २२ हेक्टर खेतीयोग्य जमिनमध्ये ६९ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

गत वर्ष भने ६७ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

बर्दियामा करिब ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असार पहिलो सातासम्म जिल्लामा मनसुन सक्रिय नभएका कारण रोपाइँ ढिलो भएको हो । जिल्लाको सिंचाइ हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा झण्डै ९० प्रतिशत रोपाइ सम्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ ।

राजापुर पश्चिम नेपालको धान उत्पादन हुने भण्डार मानिन्छ । राजापुर टप्पुको १४ हजार हेक्टरमा सिंचाइ सुविधा भएका कारण रोपाइँ असार चौथो साताभित्र शतप्रतिशत हुने अनुमान गरिएको छ ।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले हालसम्म बर्दियामा करिब ६१ प्रतिशत रोपाइँ भए पनि असार महिनाभित्र सकिने बताए । बर्दियाको करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनले जनाए । यहाँका ७० प्रतिशत किसानले हलोबाट जोत्ने गरेका छन् ।

सिंचाइ सुविधा भएको मधुवन नगरपालिकाको केही क्षेत्रलगायत ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिकामा ५५ प्रतिशत रोपाइ“ भएको छ ।

फेरियो रोपाइँ परम्परा
रूपन्देहीको तिलोत्तमा–६ का टीकाराम चापागाईं मंगलबार बिहान बाँकी रोपाइँ सक्न खेतमा पुगे । धान दिवस पर्ने भएकाले उक्त खेत रोप्न असार १५ पर्खेको उनले बताए । ‘असार १५ किसानका लागि विशेष दिन हो,’ उनले भने, ‘रोपाइँ सकिने दिनका रूपमा मनाउने गरिएको छ ।’ यस वर्ष सजिलै मल, बीउ पाएको र पर्याप्त पानी परेकाले धान धेरै फल्ने उनले अनुमान सुनाए ।

दुई वर्षदेखि कोरोना महामारी फैलिएर असार १५ को रमाइलो परिवारमै सीमित राखेको उनले बताए । टोलछिमेक मिलेर बाजा समूह मगाउने, नाच्ने, हिलो खेल्ने गरेको सम्झँदै चापागाईंले कोरोना महामारीसँगै आत्मीयता, भेटघाट र रमाइलो हराउँदै गएको सुनाए ।

सैनामैना–७, देउवापारका ठाकुरप्रसाद न्यौपानेलाई पनि अहिलेको रोपाइँ र असार १५ खल्लो लाग्यो । आफू १२ वर्षको हुँदादेखि नै कृषिमा लागेका उनले टपरीमा खाइने दही चिउरा, हिलाम्य हुने अन्तिम रोपाइँ अहिले नदेखिने बताए । ‘समय परिवर्तन भयो भन्ने कि मानिस,’ उनले भने, ‘अहिले त रोपाइँ पनि देखावटीजस्तो भयो ।’

उनले रोप्दै फोटो खिच्दै गर्ने प्रचलन बढेको देख्दा खास किसानले त्यति गर्न पनि नभ्याउने सुनाए । डेढ बिघा खेतमा धान रोप्ने गरेका न्यौपानेले छिमेकीसँग आलोपालो गरेर रोप्ने, खेतमा पकाएर खाने गरेको भन्दै अहिले एकातर्फ सरुवा रोग र अर्कोतर्फ सामाजिक भावना भएका मानिसको उपस्थिति कम हुंदै गएकाले कृषि कर्मको खास आनन्द नदेखिने जनाए ।

जग्गा प्लटिङ गरेर बाँझो राख्ने मानिसको संख्यासमेत जिल्लामा वृद्धि हुँदै गएकाले पहिलाजस्तो रोपाइँ, हरियाली हराउ“दै गएको उनले बताए । खेताला लगाएर खेत रोप्ने चलनले पनि समाज र छिमेकीको महत्व कम गरेको भन्दै उनले खेतमा पानी लगाउने विषय, मलको कुरामै छिमेकीसँग ठाकठुक पर्ने जमाना आएको सुनाए । अर्मपर्मको परिवेशमा हुर्केका उनले समाज परिवर्तन हुँदा अपनत्व र मानवताको भावना हराइरहेको बताए ।

नयाँ पुस्ताले भने धान रोपाइँसँगै अन्य पर्व, दिवस आदिलाई फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने अवसरका रूपमा लिएको पाइन्छ । धान रोपाइँ भइरहेको खेतमा बीउ हातमा लिई तस्बिर खिच्ने, रोपाइँको ब्लग नै बनाएर युट्युबमा राख्ने युवाको जमात सञ्जालमा प्रशस्तै देखिन्छ ।

युवापुस्ताले कृषि विषय लिएरै पढेको भए पनि कृषिका काम प्रयोगात्मक परीक्षाका लागि सीमित राख्ने गरेका छन् । तिलोत्तमा–६ की निकिता शर्माले आफ्नो च्यानलमा खेत रोपाइँको ब्लग बनाएर अपलोड गरिन् । १ दिनमै उनको ८४ बढी दर्शक भए । उनले पहिलोपटक बनाएको ब्लगमा यति धेरै मानिसले हेरिदिएपछि सामाजिक कामको ब्लग बनाउँदा राम्रो हुने सन्देश पाएको बताइन् । ‘आफूलाई बोल्ने अभ्यास पनि हुने, भिडियो बनाउँदा रमाइलो पनि,’ उनले भनिन्, ‘खेतमा पसेर धान रोप्न जानेकै छैन ।’