February 8, 2025, Saturday
२०८१ माघ २७

एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत अनुदान

प्यूठान– एमबीबीएस र इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका प्यूठानको गौमुखी गाउँपालिकाले ५० प्रतिशत शैक्षिक अनुदान उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको १०औं गाउँ सभाबाट यस्तो निर्णय गरेको गौमुखीका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । ‘भौगोलिक र आर्थिक हिसाबमा गाउँपालिका पछाडि छ’, उनले भने, आर्थिक अवस्थाकै कारण पढाइ नरोकियोस् भन्ने हाम्रो उद्देश्य हो ।’ प्रवेश परीक्षा पास गरेकाहरूलाई अनुदान उपलब्ध गराइने उनले जनाए ।

Advertisement

‘गाउँपालिकाले डाक्टर राख्ने तयारी गरे पनि यहाँ पाउनै मुस्किल भयो’, अध्यक्ष गिरीले भने, ‘डाक्टर खोज्न पालिकाबाहिरै जानुपर्ने अवस्था अन्त्य गर्न यस्तो कार्यक्रम ल्याएका हौं ।’ उच्च शिक्षा पढ्ने इच्छा भए पनि धेरैले आर्थिक अवस्थाका कारण वञ्चित हुनुपरेको महसुस गरेपछि यस्तो कायक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमै जनशक्ति उत्पादन भएमा नजिकमा सेवा दिन सहज हुने अध्यक्ष गिरीको बुझाइ छ । पालिकाले गत वर्ष विपन्न विद्यार्थीका लागि ५ लाख रुपैयाँ बराबरको शैक्षिक सहायता कोष स्थापना गरेर सहयोग गरेको थियो । शैक्षिक सहायता कोषमा १५ लाख रुपैयाँ जम्मा गरेर विद्यार्थीका लागि शैक्षिक अनुदान उपलब्ध गराइने प्रमुख प्रसासकीय अधिकृत सुमन पन्थले बताए ।

‘विद्यालय आउनै नसक्नेहरूका लागि सहायता उपलब्ध गराइएको हो’, उनले भने, ‘यस वर्ष एमबीबीएस र इन्जिनियरिङ पढ्न चाहनेलाई अनुदान दिने कार्यक्रम छ ।’ गाउँपालिकाको शैक्षिक सहायता पाएर अध्ययन गरेका विद्यार्थीका लागि पालिकामा निश्चित समय अनिवार्य स्वयंसेवक भएर भूमिका निर्वाह गर्न लगाइने कार्ययोजना निर्माणको तयारीमा छ ।

आर्थिक अवस्था कमजोर भएर अध्ययन गर्न नपाएका विद्यार्थीका लागि यस्तो कार्यक्रम उपलब्धिमूलक रहेको गौमुखी–३, रजवाराका जोगिन्द्र मल्लले बताए । ‘गाउँमा सबैको अवस्था डाक्टर, इन्जिनियर पढ्न सक्ने छैन’, उनले भने, ‘क्षमता हुँदा हुँदै पनि चुप लागेर बस्नु परेको छ ।’

गाउँपालिकाको शैक्षिक अनुदानको कार्यक्रमले गरिब परिवारमा खुसी ल्याएको उनले सुनाए । यहाँका नागरिक दैनिक खेतबारीमा मजदुरी गर्छन् । रोजगारीको राम्रो प्रबन्ध छैन । जसले गर्दा छोराछोरीलाई राम्रो शिक्षा दिन बञ्चित छन् । यसैलाई ध्यानमा राखेर पालिकाले अनुदान दिने निर्णय गरेको छ ।