October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

उप–प्रमुख काफ्लेद्वारा साढे पाँच लाखको अक्षय कोष स्थापना

भैरहवा– उप–प्रमुख निर्वाचित भएपछि आफूले सुविधावापत पाएको रकमबाट २५ प्रतिशत छुट्याएर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उप–प्रमुख उमा काफ्लेले अक्षय कोष स्थापना गरेकी छन् ।

आफ्ना स्वर्गीय माता मायादेवी खनाल र पिता पुनारामको स्मृतिमा काफ्लेले ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको अक्षय कोष स्थापन गरेको जानकारी दिइन् । ‘म निर्वाचित भएपछि मैले पाएको सुविधाबाट नगरस्तरीय अक्षय कोष स्थापना गरेकी हुँ’, उनले भनिन्, ‘नगरबासीले मलाई जुन जिम्मेवारी सुम्पिनुभयो, त्यो पूरा गर्दैगर्दा नगरमा केही गरौं भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरेही हुँ ।’

मंगलबार नगरपालिकाको नवौं नगर सभा बैठकमा काफ्लेले अक्षय कोष घोषणा गरेकी हुन् । अक्षय कोषको रकम नगर भित्र स्थायी बसोबास गर्ने नागरिकका लागि मात्र खर्च गरिने छ । अक्षय कोषबाट सुरक्षित मातृत्व प्रवद्र्धन कार्यक्रम अन्तर्गत अति बिपन्न गर्भवती तथा सुत्केरी आमाहरुको स्वास्थ्य उपचार तथा पोषण कार्यक्रममा रकम खर्च गरिने उनले बताइन् ।

उनले भनिन्, ‘अतिबिपन्न गरिब तथा जेहेन्दार छात्रामैत्री प्राविधिक शिक्षामा पनि अक्षय कोषबाट छाज्ञावृत्ति वितरण गरिने छ ।’ उनकाअनुसार कक्षा ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि छात्रावृत्ति वितरण गरिने छ ।

‘तत्काल मेरो सुविधाबाट २५ प्रतिशतको अक्षय कोष स्थापना गरे पनि यसलाई निकट भविष्यमा बढाएर ११ लाखसम्म पुर्याउने लक्ष्य लिएकी छु’, उनले भनिन् । यसअघि पनि काफ्लेले आफ्नो सुविधाबाट आउने रकममध्ये १५ प्रतिशतबाट नगर क्षेत्रका सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेकी छन् ।

उनले रुपन्देही क्याम्पसमा ५१ हजार, भानु माविमा ५१ हजार र नव दुर्गा माविमा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । नव दुर्गाको अक्षय कोष बढाएर ५१ हजार पुर्याउने तयारी गरिएको उनले जनाइनु । अब लीलाराम न्यौपाने माविमा पनि ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने उनले बताइन् ।

नगर सभामा अक्षय कोष स्थापना गरिए पनि कार्यविधि बनाएर मात्रै वितरण गरिने छ । काफ्लेले कार्यविधि बनाउनका संविधान सभा सदस्य आदित्यनारायण कसौधन, प्राज्ञ बुंद राना, बालकृष्ण भट्टराई, विजय गोबिन्द श्रेष्ठ र समन्वय तथा सहयोगका लागि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेको समिति पनि गठन गरिएको जानकारी दिइन् ।

अक्षय कोषको संरक्षकको रुपमा उप–प्रमुख काफ्लेसहित परिवारका सदस्यहरु दिदी राधा खरेल, श्रीमान टंकनाथ काफ्ले, भाइ हरिशचन्द्र खनाल, छोरीहरु बन्दिता काफ्ले, पुजा काफ्ले, कविता काफ्ले र छोरा चन्द्रप्रकाश काफ्लेलाई राखिएको छ । ‘जनताको कर जनतामै लगानी’ भन्न मूल नाराका साथ काफ्लेले अक्षय कोषको स्थापनमा गरेको बताइन् ।