April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

यस्तो छ रूपन्देहीका स्थानीय तहको बजेट

भैरहवा- रुपन्देहीका स्थानीय तहहरुले कोरोना महामारी नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, पर्यटन र कृषिलाई विशेष महत्व दिएर आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट ल्याएका छन् । अधिकांश स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेरका छन् । स्थानीय तहमा संचालित गौरवका योजनाहरुलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।

Advertisement

आन्तरिक विवादका कारण जिल्लाको ओमसतिया गाउँपालिकाले भने बजेट ल्याउन सकेन । सिद्धार्थनगर बहुउद्देश्यी कृषि बजार भवन, पर्यटकीय गेट, पार्क, डण्डामा बोटिङ संचालन गर्न बजेट विनियोजन गरेको छ । स्थानीय तहले खेलकुद, विपन्न वर्ग उत्थान, युवास्वरोजगार, क्षमता विकास जस्ता योजनालाई पनि बजेटमा विशेष व्यवस्था गरेका छन् ।

Advertisement

जिल्लाका अधिकांश तहले यसपल्ट संचार क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएका छन् । तिलोत्तमाले नेपाल पत्रकार महासंघ रुपन्देही शाखा र लुम्बिनी प्रेस क्लबलाई पनि बजेट विनियोजन गरेको छ । यस्तै, सिद्धार्थनगरले प्रेस क्लब र त्यसमा आबद्ध पत्रकारहरुको क्षमता विकासमा बजेट विनियोजन गरेको छ । यहाँका स्थानीय तहले वातावरणमैत्री पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेरका छन् । बढ्दो सहरीकरणले जिल्लामा प्रदूषण उच्च छ । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा यहाँका तहहरुले नदी, बस्ती र वन क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएका छन् । यसले मानव जाति, प्राकृतिक सम्पदा र वातावरणलाई असर पुर्याएको छ ।

शुद्धोधनसँगै जिल्लाको मायादेवी, सियारी, रोहिणी, ओमसतिया, मर्चवारी, कोटहीमाई, गैडहवा, कंचन, सम्मरीमाई कृषि उत्पादन राम्रो हुने पालिका हुन् । यी तहले त्यसैले कृषिलाई विशेष प्राथमिकता दिएका छन् । कतिपयले अनुदानका कार्यक्रम पनि ल्याएका छन् । मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै त्यसको निरन्तरता निरन्तरता दिएर कृषिलाई अझ प्रभावकारी बनाउनले बजेट व्यवस्था गरिएको छ ।

कुन तहको बजेट कति ?

१६ स्थानीय तह रहेको रुपन्देहीका १५ तहले आज बजेट ल्याएका छन् । ओमसतियाले भने बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेन ।

बुटवल उपमहानगरपालिका
जिल्लाका बुटवल उपमहानगरपालिकाले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७१० रुपैयाँको बजेट ल्याएको हो ।

तिलोत्तमा नगरपालिका
सबैभन्दा पहिला नीति तथा कार्यक्रम र बजेट ल्याएका जिल्लाको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष ०७८–०७९ का लागि तिलोत्तमाले १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सिद्धार्थनगर नगरपालिका
जिल्ला सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगर पालिकाले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेट नगर सभामा आज उपप्रमुख उमा काफ्लेले प्रस्तुत गरेकी छन् ।

लुम्बिनी सांस्कृति नगरपालिका
बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको यो नगरपालिकाले ८० करोड ३९ लाख ६३ हजार ६८४ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सैनामैना नगरपालिका
आगामी आर्थिक वर्षका लागि सैनामैनाले एक अर्ब २२ करोड १९ लाख ४२ हजार ३४१ रुपैयाँको बजेट ल्याएको छ ।

देवदह नगरपालिका
देवदहले आगामी आर्थिक वर्षका लागि गरिक ९४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

सम्मरीमाई गाउँपालिका
गाउँपालिकाहरुमध्ये सबैभन्दा पहिला बजेट ल्याएको सम्मरीमाईले ५३ करोड ४१ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

गैडहवा गाउँपालिका
आर्थिक वर्ष २०७८–०७९ का लागि गैडहवाले ६६ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार गाउँसमाभा पालिका अध्यक्ष बछुलाल केवट (बच्चु) ले निति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।

मायादेवी गाउँपालिका
जिल्लाको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ८७ लाख ४४ हजार रुपैयाँ बजेट ल्याएको छ ।

रोहिणी गाउँपालिका
नीति तथा कार्यक्रम र बजेट एकै दिन सार्वजनिक गरेको रोहिणीले ५५ करोड ७२ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।

कंचन गाउँपालिका
बिहीबार सार्वजनिक भएको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कंचनले ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

मर्चवारी गाउँपालिका
जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने यो गाउँपालिकाले ५३ करोड ३७ लाख ८९ हजार ८३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कोटहीमाई गाउँपालिका
जिल्लाको दक्षिण क्षेत्रमा पर्ने यो गाउँपालिकाले ४४ करोड ३४ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सियारी गाउँपालिका
मत्स्य र कृषि क्षेत्रमा हव मानिने सियारीले ५९ करोड ४८ लाख ८ हजार ४२१ रुपैयाँ बराबरको बजेट लयाएको छ ।

शुद्धोधन गाउँपालिका
जिल्लाको शुद्धोधन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ८२ लाख ९५ हजार २५५ रुपैयाँको बजेट ल्याएको छ ।

ओमसतिया गाउँपालिका
बहुमत कार्यपालिका सदस्यहरुले बजेट र नीति तथा कार्यक्रम बहिस्कार गरेपछि ओमसतियाले बजेट ल्याउन सकेन । जनप्रतिनिधिको टकरावले गर्दा यहाँको बजेट नै अन्यौलमा परेको छ ।