June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

रोहिणीको बजेट ५५ करोड ७२ लाख

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख ३० हजार बराबरको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८–०७९ को गाउँपालिकाले उक्त रकमको बजेट ल्याएको हो ।

पालिकाले आन्तरिक आयबाट २ करोड १५ लाख, संघीय सरकारबाट ४२ करोड २४ लाख ७७ हजार, प्रदेश सरकारबाट ४ करोड २२ लाख ५३ हजार, जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख, अन्य श्रोतबाट प्राप्त हुने १ करोड ७० लाख र बैंक मौजदात ३ करोड रहेको जनाएको छ ।

Advertisement

बजेट पेश गर्दै गाउँसभा सदस्य ईन्द्रमान चौधरीले गाउँपालिकाले आर्थिक विकासमा ३ करोड ७४ लाख ६ हजार, सामाजिक विकास तर्फ २६ करोड ९३ लाख २३ हजार, पूर्वाधार विकासमा १३ करोड ३४ लाख ६५ हजार, सुशासन तथा अन्तरसम्बन्ति क्षेत्र तर्फ २ करोड ५० लाख ३६ हजार र कार्यालय सञ्चालन तथा ब्यवस्थापन तर्फ ९ करोड २० लाख रुपैया बिनियोजन गरेको बताए ।

गाउँपालिकाले गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको बिहीबार सम्पन्न भएको नवौं गाउसभामा पेश भएको नीति तथा कार्यक्रममा ‘उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम’ समेटिएको छ । नीति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न प्रसुति गृह निर्माण र सञ्चालनलाई ब्यवस्थित र प्रभावकारी बनाईने भनिएको छ । श्रावण १ गते देखी नै कार्यान्वयन हुने गरि उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

गाउँपालिकाको ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरी बारे सचेत भए पनि नियमित चेकजाँचमा अझै सचेतना आवश्क रहेको यादवले बताए । यसको लागी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम ल्याईएको उनले बताए । कार्यक्रम अन्र्तगत बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुती गराएका गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई ‘उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम’ अन्र्तगत पोषण सामाग्री उपलब्ध गराउने नीति लिईएको उनले बताए ।

गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार निति लिईएको छ । यसको लागी स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास, भौतिक पूर्वाधार लगाएतका बिषयलाई प्राथमिकतामा राखी सोही अनुसारको योजना बनाईएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

बजेट कार्यान्वयनमा देखा परेको वर्तमान चुनौतिलाई हेर्दै यस बर्ष साउन देखी नै योजना तथा कार्यक्रमहरु सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताए । ‘हाम्रो रोहिणी राम्रो रोहिणी’ भन्ने मान्यताका साथ कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई रोहिणी गाउँपालिकाले अघि सारेको उनले बताए । सुखी जनता र समृद्ध रोहिणीको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपूर्ण सहभागिता सहित सन्तुलित र चौतर्फी विकास नै गाउँपालिकाको प्राथमिकता रहेको उनले बताए ।

यस बर्ष कोभिड–१९ को कारण गाउँपालिकाको बिकास निर्माण देखी अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवश्थामा पालिका स्तरमै रहेका बिभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको ब्यवस्था गरिदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको अवसर पनि उपलब्ध गराईने निति ल्याईएको छ ।

दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहु बालीको पकेट क्षेत्रको रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । यसको लागी संघीय र प्रदेश सरकारको समेत सहयोगमा कृषिलाई उकास्ने काम गरिने उल्लेख छ ।