बुटवल उपमहानगरको बजेट २ अर्ब ५३ करोड
बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७१० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौं अधिवेशनमा योजना तर्जुमा समितिका संयोजक समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले आगामी आव २०७८–०७९ का लागि उक्त अंक बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
चालुतर्फ ३९.७७ प्रतिशत र पूँजिगत खर्च ५९.९८ प्रतिशत बजेट विनियोजन गरिएको छ । आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख, राजस्व बाँडफाँडबाट २५ करोड ५७ लाख ६८ हजार, ऋणबाट ५ करोड, गत आवको अ.ल्या. ५० करोड, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, शसर्त अनुदान, विशेष र समपुरक अनुदानबाट ७८ करोड ९७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने शसर्त, समानीकरण, समपूरक तथा विशेष अनुदानबाट १३ करोड, १३ लाख, १६ हजार रहनेछ ।
सामाजिक विकास, पूर्वाधार, आर्थिक विकास, विपत व्यवस्थापन तथा वातावरण तथा सुशासन एवम् अन्तर सम्बन्ध र कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यलगायत बजेटका विषयगत क्षेत्र हुन् ।
बजेटमा महामारी र विपतबाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध साधन स्रोत, क्षमता र अवसरको उच्चतम परिचालन गरि आर्थिक विकासको गतिलाई निरन्तरता दिने जनाइएको छ ।
सामाजिक, आर्थिक र पूर्वाधार विकास मार्फत नागरिकको जीवनस्तर माथि उठाउने, संविधानको कार्यान्वयन, स्थानीय सरकार सञ्चालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐनलगायतका स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै तीनै तहका सरकारका बीचमा समन्वय, सहकार्यमा जोड दिने, दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने, स्थानीय गौरवका आयोजनालाई तीनै तहको सहकार्यमा सम्पन्न गर्ने बुटवलले उद्देश्य लिएको छ ।
यस्तै, अधुरा योजना, कार्यक्रमलाई निरन्तरता एवम् पूर्णता दिने, सुशासन प्रवद्र्धन गरि स्थानीय सेवा प्रवाह गर्ने, स्थानीय श्रम, सीप र प्रविधिमा आधारित रोजगारीका अवसरहरु सिर्जना गर्ने, सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिने बुटवलले जनाएको छ ।
प्रतिकृया दिनुहोस्