October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

जनप्रतिनिधिबीचको विवादले ओमसतियाको नीति तथा कार्यक्रम र बजेट अनिश्चित

भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट तर्जुमा अनिश्चित बनेको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँडका विषयमा विवाद भएपछि नीति तथा कार्यक्रम र बजेट अनिश्चित बनेको हो ।

गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल पक्ष) र बहुमत रहेको वडा अध्यक्षसहितको कार्यपालिका सदस्यबीच बजेटको बाँडफाँड र योजना तथा कार्यक्रमको विषयलाई लिएर बिबाद चुलिएको छ । बिबादले बिहीवार पारित हुनु पर्ने नीति कार्यक्रम र बजेट अनिश्चित बनेको छ ।

गाउँपालिका अध्यक्षको बिपक्षमा उभिएको बहुमत वडा अध्यक्षसहितका कार्यपालिका सदस्य समूहले बिहीवार बोलाइएको गाउँ सभा बहिष्कार गर्ने घोषणा गरेका छन् । अध्यक्ष पक्षधर भने गाउँ सभाका लागि तयारी अवस्थामा रहेको र बजेटसहितको नीति तथा कार्यक्रम आवश्यक गणपुरक संख्याले पारित हुन नसकेमा नियम र प्रकृया अनुरुप अघि बढ्ने अडानमा छ ।

अध्यक्षको बिपक्षमा उभिएको बहुमत पक्षधरले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिका अध्यक्ष केवटले एकलौटी ढंगले कार्ययोजना तथा कार्यक्रम संचालन गर्ने गरेको, आय–व्ययको पारदर्शिता नगरि आर्थिक अनियमितता गरेको, स्वेच्छाचारी ढंगले अगाडि बढ्न खोजेको लगायतका विषयमा आरोप लगाउँदै गाउँ सभा बहिष्कार गर्ने घोषणा गरेको छ ।

‘गाउँपालिकामा संचालित अधिकांश योजनामा सम्बन्धित वडा अध्यक्ष सहितका प्रतिनीधिसँग कुनै समन्वय नगरि अध्यक्ष एकलौटी र स्वेच्छाचारी ढंगले अगाडि बढेकाले हामी विरोधमा उत्रेका हौं’, पत्रकार सम्मेलनमा विपक्षी पक्षका ओमसतिया– ६ का वडाअध्यक्ष शिवकुमार धवलले भने, ‘बिहीवार बोलाइएको गाउँ सभाको प्रकृया पनि नियम बिपरित रहेकाले हामीले बहिष्कार गरेका हौं ।’

अध्यक्ष केवटले आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम जनताको अत्याबश्यक योजना भन्दा आफूलाई चुनावमा सजिलो हुने गरि प्रचारमुखि योजना ल्याउन खोजेकाले बिरोध गरिएको धवलले बताए । गाउँपालिका अध्यक्ष केवटले भने आफ्नो विपक्षमा उभिएका वडा अध्यक्षले आफ्नो वडामा आफ्नै तजवीजीमा योजना तथा कार्यक्रम संचालन गर्न पाउने गरि २ करोड रुपैयाँको दरले बजेट माग गरेको र गाउँपालिकाको आम्दानी अनुरुप त्यो बजेट उपलब्ध गराउन नसकिने भएपछि बिरोधमा उत्रिएको दावी गरे ।

आउँदो आर्थिक बर्षका लागि प्रस्तुत गरिने बजेट करिव १५ करोड रुपैयाँको सेरोफेरोमा रहेको र पालिकाका विषयगत शाखा र केन्द्र र प्रदेशले उपलब्ध गराएको समपुरक बजेटका लागि छुट्याउ नै पर्ने रकमका कारण माग गरे अनुरुपको बडामा बजेट उपलब्ध गराउन नसकिउको उनले बताए ।

‘प्रत्येक वडामा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराउन सकिने जानकारी गराएको थिए’, अध्यक्ष केवटले भने, ‘विपक्षमा उभिएका जनप्रतिनिधिले २५ करोडको बजेट बनाउन भनेका थिए, तर पालिकाको आम्दानीले नै नपुग्ने भएपछि त्यो बजेट कसरी बनाउने ?’

असार १० गते प्रत्येक पालिकाले नीति तथा कार्यक्रम पारित गरि बजेट पेश गर्नु पर्ने र त्यसो हुन नसकेमा कार्य सम्पादन मूल्यांकनमा कमजोर भइ संघ र प्रदेशबाट प्राप्त हुने बजेटमा कमी हुने प्रावधान छ ।