January 13, 2025, Monday
२०८१ माघ १

कस्तो बजेट ल्याउँदै छन् रुपन्देहीका स्थानीय तहले ?

भैरहवा – रुपन्देहीको तिलोत्तमा नगरपालिका र सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट सार्वजनिक गरिसकेका छन् । तिलोत्तमाले १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ भने सम्मरीमाईले ५३ करोड ४१ लख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले भोलि बजेट ल्याउँदै छन् । सिद्धार्थनगर, सैनामैना र बुटवलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिएर यी पालिकाले नीति तथा कार्यक्रम ल्याएका हुन् ।

Advertisement

स्थानीय तहले १० असारभित्रै बजेट ल्याउनु पर्ने प्रावधान छ । प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय संघीय कानुनबमोजिम हुने गर्छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, ०७४ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष १० असारभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्थाअनुसार संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय तहले १० असारमा बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

सोहीअनुसार रुपन्देहीका स्थानीय तहले बजेट ल्याउन लागेका हुन् । गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले १० असारमा बजेट ल्याउने जनाए । ‘हामीले सम्पूर्ण विषगत समितिमा छलफल गरिसकेका छौं, सिलिङ तोकिसकेका छौं’, उनले भने, ‘५५ करोड बराबरको बजेट ल्याउँछौं ।’

बजेटमा कोरोना महामारीलाई नियन्त्रण गर्न प्राथमिकतामा दिँदै पूर्वाधार विकास, शिक्षा, पर्यटन र कृषिलाई विशेष महत्व दिइने केवटले बताए । गैडहवा जस्तै जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छन् । यस्तै, स्थानीय तहमा संचालित गौरवका योजनाहरुलाई प्राथमिकतामा राख्ने जनाइएको छ ।

‘शिक्षा, स्वास्थ्यसँगै हामीले पूर्वाधारमा पनि प्राथमिकता दिएका छौं’, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले भने, ‘बहुउद्देश्यी कृषि बजार भवन, पर्यटकीय गेट, पार्क, डण्डामा बोटिङ संचालन गर्ने यी हाम्रा गौरवका योजना हुन्, यी योजनालाई मूर्तरुप दिन पनि बजेट केन्द्रित हुनेछ ।’ अधिकारीले खेलकुद, विपन्न वर्ग उत्थान, युवास्वरोजगार, क्षमता विकास जस्ता योजनालाई पनि बजेटमा विशेष व्यवस्था गरिने बताए ।

जिल्लाका अधिकांश तहले यसपल्ट संचार क्षेत्रलाई पनि विशेष प्राथमिकता दिइने बताएका छन् । तिलोत्तमाले नेपाल पत्रकार महासंघ रुपन्देही शाखा र लुम्बिनी प्रेस क्लबलाई पनि बजेट विनियोजन गरेको छ । यस्तै, सिद्धार्थनगरले प्रेस क्लब र त्यसमा आबद्ध पत्रकारहरुको क्षमता विकासमा बजेट विनियोजन गर्ने जनाएको छ ।

यहाँका स्थानीय तहले वातावरणमैत्री पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याउँदै छन् । बढ्दो सहरीकरणले जिल्लामा प्रदूषण उच्च छ । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा यहाँका तहहरुले नदी, बस्ती र वन क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएका छन् । यसले मानव जाति, प्राकृतिक सम्पदा र वातावरणलाई असर पुर्याएको छ ।

शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरीले आफूहरुको पहिलो प्राथमिकता स्वास्थ्य र दोस्रोमा कृषि तथा पूर्वाधार विकास भएको बताए । ‘महामारीमा नागरिकलाई जोगाउनु ठूलो कुरा हो, हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेका छौं, यसलाई निरन्तरता दिन्छौं’, उनले भने, ‘व्यवसायिक कृषिलाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम ल्याउँछौं ।’

शुद्धोधनसँगै जिल्लाको मायादेवी, सियारी, रोहिणी, ओमसतिया, मर्चवारी, कोटहीमाई, गैडहवा, कंचन, सम्मरीमाई कृषि उत्पादन राम्रो हुने पालिका हुन् । यी तहले त्यसैले कृषिलाई विशेष प्राथमिकता दिएका छन् । कतिपयले अनुदानका कार्यक्रम ल्याउँदैछन् । ‘किसानलाई प्रमोसन गर्न सक्यौं भने हामीले आफ्नो तहलाई आत्मनिर्भर गराई निकासी गर्न सक्छौं’, गैडहवा अध्यक्ष केवटले भने, ‘यसले समग्र मुलुकलाई नै फाइदा दिनेछ ।’

मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै त्यसको निरन्तरता निरन्तरता दिएर कृषिलाई अझ प्रभावकारी बनाइने स्थानीय तहले जनाएका छन् । आगामी बजेटमा र नीतिमा यहाँका तहहरुले स्थानीय सेवा प्रवाहलाई जनमैत्री बनाउने, सामाजिक, साँस्कृतिक विकास, उद्यमशीलता, सीप विकास, जेष्ठ नागरिकलाई सम्मान, जनता आवास कार्याक्रमलाई पनि प्राथमिकता दिँदैछन् । यस्तै, विद्यालयहरुको सुधार, महिला तथा बालबालिकाको क्षेत्रमा पनि नयाँ योजना ल्याउँदै छन् ।