January 13, 2025, Monday
२०८१ माघ १

बुटवलको नीति तथा कार्यक्रम : जटिल विरामीको उपचारमा अनुदान, पूर्वाधार विकासमा जोड

बुटवल- स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाको नवौं अधिवेशनमा नगर प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रमुख सुवेदीले कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको जानकारी दिए ।

Advertisement

बुटवलको नीति तथा कार्यक्रम कोभिड महामारीको पहिलो र दोस्रो लहरले सामाजिक र आर्थिक क्षेत्रमा प्रभावित पारिरहेको अवस्थामा ल्याइएको नीति तथा कार्यक्रम रोजगारी सृजना गरी आर्थिक विकासलाई निरन्तरता दिने, अधुरा बार्षिक र बुहबर्षीय योजना सम्पन्न गर्ने, वातावरणमैत्री पूर्वाधार विकास, सामाजिक र आर्थिक विकासबाट नगरवासीको जीवनस्तर उकास्ने, स्थानीय सरकारलाई प्राप्त अधिकारको यथेष्ट प्रयोग गर्ने र स्थानीय सेवा प्रवाहलाई जनमैत्री बनाउने जस्ता कुराहरुमा केन्द्रित छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले उपमहानगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिको स्पष्ट खाकाअनुसार नगर विकास योजना तर्जुमा गरी कार्यान्वयनलाई निदृष्ट गरेको नगर प्रमुखले स्पष्ट पारे ।

उनले महामारी र अन्य विपद्बाट नागरिकको जीवन रक्षालाई नीति कार्यक्रमको केन्द्रविन्दुमा राखेको जानकारी दिंदै संघीय र प्रदेश सरकारको समन्वयमा सबै नगरवासीलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चिताका लागि पहल गरिने बताए ।

नीति तथा कार्यक्रम बालबालिकाको स्वास्थ्य र शिक्षा, युवाहरुका लागि रोजगारी सिर्जना र उद्यमशीलतास सीप विकास, जेष्ठ नागरिकलाई सम्मानमा केन्द्रित रहेको नगर प्रमुख सुवेदीले बताए ।

कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसक्नेहरुका लागि शल्यक्रिया गर्दा लाग्ने खर्चमा अनुदान दिने घोषणा बुटवलले नीति कार्यक्रममार्फत् गरेको छ ।

नीति तथा कार्यक्रममा महिलाहरुमा स्तन क्यान्सर, प्रसुती तथा गर्भवती परीक्षण, पाठेघर परिक्षण र १४ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पुर्याउने उल्लेख गरिएको छ ।

नगरका गर्भवती महिलालाई आइरन, क्याल्सियम लागायतका औषधीहरु निःशुल्क वितरण गर्दै आधारभूत प्रयोगशाला सेवा निःशुल्क प्रदान गर्ने, ‘नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम’लाई प्रभावकारी बनाई निःशुल्क औषधी वितरण गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

विद्यार्थीहरुमा बढ्दो आँखा सम्बन्धी समस्या समाधान गर्न उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुको वर्षमा एकपटक निःशुल्क आँखा जाँच तथा परामर्श एवं चस्मा र उपचार सेवा संचालन गर्ने घोषणा नीति कार्यक्रम मार्फत् सार्वजनिक गरेको छ । तीबाहेक उपमहानगरपालिकाले जटिल र संवेदनशिल मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीलाई औषधि उपचार खर्चमा अनुदान दिने नीति लिएको छ ।

उपमहानगरपालिकामा सञ्चालन गरिएका सरकारी स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउँदै पूर्ण खोप शुनिश्चितताका लागि सम्पूर्ण खोप क्लिनिक, कोल्ड चेन सेन्टरलाई थप प्रभावकारी बनाउँदै शहरी स्वास्थ्य केन्द्रबाट साप्ताहिक रुपमा खोप प्रदान गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

बुटवलले गुणस्तरीय शिक्षामा समतामूलक अवसर सृजना गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाई उपलब्धीलाई मापन योग्य बनाउँदै लैजाने नीति अवलम्वन गरेको छ । त्यसका लागि प्रविधि मैत्री विद्यालयको विकास गरी ‘सिङ्गो बुटवल, एक विद्यालय’को अवधारणा अनुरुप शिक्षाको नयाँ पद्धति अवलम्बन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

नयाँ शिक्षा नीति अनुरुप अनाथ एवं विपन्न परिवारका बालबालिकालाई अन्य बालबालिका सरह शिक्षाको पहुँचमा ल्याइने, कोभिड–१९ महामारी सिर्जित प्रविधिको माग अनुसार विद्यालयलाई प्रविधिमैत्री बनाईने, शिक्षक र विद्यार्थीको अनुपात मिलाउन दरबन्दी मिलान गरिने तथा ललितकला विषय र विशेष कक्षाहरुको सञ्चालन गरिने नीति उपमहानगरपालिकाले लिएको छ ।

माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँचमा विस्तार गरी स्वरोजगार सिर्जना गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिने नीति अवलम्बन गरिएको छ । त्यस्तै शिक्षा क्षेत्रका चालु आर्थिक वर्षका प्रायः कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, ईन्टरनेट सेवाको व्यवस्था मिलाउने घोषणा पनि नीति कार्यक्रममा गरिएको छ ।

रोजगार सिर्जना गर्न श्रम बैंक रोजगार सिर्जनाका लागि उपमहानगरपालिकाले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिई श्रम बैक र श्रम डेक्स सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र करिब सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने नीति बुटवलले लिएको छ ।

त्यस्तै यातायात क्षेत्रका श्रमिक, औद्योगिक क्षेत्रका श्रमिकलाई लक्षित गरी घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ । विगतबाट सञ्चालित मेयर युवा इलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा छुट दिने नीति समेत नगरपालिकाले लिएको छ ।

मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै त्यसको निरन्तरता निरन्तरता दिएर सहरी कृषिलाई अझ प्रभावकारी बनाइने नीति लिएको छ ।