रोपाइँ संस्कृति जगेर्ना गर्दै थारु समुदायका महिला

- प्रतीक पौडेल

भैरहवा– असार मुठ्ठी छरेर मुरी उब्जाउने महिना हो । यो महिनामा हरेक वर्ष किसानहरु रोपाइँमा ब्यस्त हुन्छन् । कतिपय ठाउँमा किसानहरु रोपाइँसँगै आफ्नो संस्कृति जगेर्नामा पनि लागेका छन् ।
रुपन्देहीमा पनि एक गाउँमा थारु समुदायका रोपार्नीहरुले असारे गीत गाउँदै धान रोपाइँमा व्यस्त छन् । ब्याड्नीहरुले असारे गीत गाउँदै धानको बीउ गोड्ने गर्छन् । यो हेर्न जोसुकै मोहित हुन्छन् ।
तिलोत्तमा नगरपालिका–१३, सेमरीका थारु बाहुल्यता भएको गाउँ हो । यहाँ थारुहरुले आफ्नो संस्कृति जगेर्ना गर्न सखिया थारु समाज गठन गरि होमस्टे संचालन गरेर आउने पर्यटकहरुलाई थारु समुदायको परिकार खुवाउने, नाचगान देखाउने लगायतका कार्य गर्दै आएका छन् । थारु समुयदायको प्रयासका कारण अहिले तिलोत्तमा नगरपालिकाको यस क्षेत्रको पहिचान बदलिँदै गएको छ ।
संस्कृति जोगाउने प्रयास स्वरुप यस गाउँका थारु जातीका महिलाहरुले समूह नै बनाएर थारु भाकामा असारे गीत गाउँदै रोपाइँ गर्न शुरु गरेको ४ वर्ष भएको छ । थारु जागृती आमा समूह नाम राखी ४ वर्ष पहिले शुरुमा समूह भित्रकै सदस्यहरुको खेत रोपाइँ गर्दै शुरु गरिएको थियो । यो समूहको माग अहिले तिलोत्तमा नगरपालिकाको अन्य गाउँमा पनि बढ्दो छ ।
पछिल्लो समय रुपन्देहीमा रोपाइँको समयमा अर्मपर्म गर्नका लागि पनि मान्छे नपाईने समस्या बढ्दो छ । यहाँका अधिकांश मानिस कृषि पेशा छोडेर अन्य पेशा अँगाल्दै गएका छन् । अन्य समुदायले कृषि पेशा छोडिरहँदा भने यस क्षेत्रमा थारु समुदायका महिलाले कृषिलाई संस्कृतिसँग जोडेर फरक पहिचान स्थापित गर्दै गएका छन् ।
समूहकी अध्यक्ष सोना कुमारी थारुका अनुसार समूहमा २७ जना महिला छन् । समूह भित्र रोपाइँ गर्दा प्रतिघण्टा १ सय रुपैयाँ तथा प्रतिव्यक्ति र समूह बाहिर रोपाइँ गर्दा प्रतिघण्टा १ सय ५० रुपैयाँ प्रति ब्यक्ति ज्याला लिँदै आएको थारुले जानकारी दिइन् ।

असार र असार महिनामा गरिने रोपाईलाई यति महत्व दिइएको छ कि राजाले पनि हिलो खेल्नु पर्छ भन्ने युक्ति रहेको छ । यसको अर्थ राजादेखी प्रजा सबै धान खेतिमा जुट्नु पर्छ भन्ने हो । धान खेतिमा सबैको सहभागिता अनिबार्य हुनु पर्छ भन्नु हो ।
सेमरीका स्थानीय गोबिन्द प्रसाद उपाध्यायका अनुसार थारु जागृति आमा समूहले सेमरीबाट शुरु गरेको रोपाइँको अभ्यासका कारण खेतीपाती गर्न सहज हँुदै गएको छ । समूहले १ घण्टामा १ बिगाहा खेतसम्म रोपाइँ गर्ने गरेको जानकारी उपाध्यायले दिए । उपाध्यायले रोपाइँको समयमा मान्छे नपाइने समस्या हँुदै आएकोमा समूहले गरेको प्रयासका कारण अहिले रोपाइँमा सहज भएको बताए ।
असारको कामको धमाधममा कसैको घरमा कोही मरिहाल्यो भने पनि लासलाई घुमले छोपेर काममा जानु पर्छ भन्ने किम्बदन्ती छ । यसैबाट प्रस्ट हुन्छ, असारको महत्व र महिमा । यही महिनामा गरेको कामले वर्ष दिनसम्म खाने अन्नको जोहो हुन्छ । जति दुःखपिर भए पनि असारे गीत गाएर सबै पिरमर्का बिर्सेर काम गर्ने चलन असारमै हुन्छ ।
किसानहरुको लागि असार र साउन पबित्र पर्ब समानका महिनाहरु हुन । मानब प्राणीलाई प्राण धान्न सहज र सरल खाद्यपदार्थ अन्न हो । अन्न उत्पादन, खपत, र बचत गर्ने किसानले नै समस्त मानब समुदायको प्राणको रक्षा गरेका हुन्छन । त्यसकारण किसान मानबहरुको लागि भगवानकै रुप हुन । किसान र असार महिना मानबहरुको लागि अति आबश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस्