September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

सिद्धार्थनगरमा नीति तथा कार्यक्रम र बजेट पास हुन नदिने ओली पक्षीय एमालेको कसरत

भैरहवा – राजनीतिक दाउपेचका कारण ओली पक्षीय एमाले स्थानीय नेताहरु सिद्धार्थनगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट पारित हुन नदिने कसरतमा लागेका छन् ।

Advertisement

नगरपालिकाले नीति तथा कार्यक्रम एवं बजेटको तयारी गर्दैगर्दा नगर प्रमुख र उपप्रमुखलाई असहयोग हुने गरी नेकपा एमाले सिद्धार्थनगर कमिटी (ओली पक्ष)ले कुनै पनि हालतमा बजेट पास हुन नदिने रणनीति बनाएको हो ।

Advertisement

आइतबार बिहान १० बजे जिल्ला पार्टी कार्यालय भवनमा आफ्ना पक्षका जनप्रतिनिधिहरुको बैठक बोलाएर ओली पक्षले बजेटमा अवरोध गर्न निर्देशन दिएको स्रोतको दावी छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट यही असार १० गते नगर सभामा पेस गर्दै छ । बजेट घोषणा पूर्व असार ७ गते (आज) नीति तथा कार्यक्रम प्रस्तुत गरिँदैछ ।

नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने विषयवस्तु बारे नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्ले विभिन्न छलफलमा छन् । उनीहरुले राजनीतिक दल, उद्योगी व्यवसायी, स्थानीय, अगुवा, बुद्धिजीवीहरुको रायसुझाव लिइरहेका छन् ।

अधिकारी र काफ्ले एमाले माधव कुमार नेपाल पक्षीय हुन् । केन्द्रको राजनीतिक प्रतिसोध ओली पक्षीय स्थानीय नेताले पनि साँध्न लागेका छन् । नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट पास गर्न नदिएर आफूहरु नगर क्षेत्रमा माधव पक्ष भन्दा शक्तिशाली भएको देखाउन ओली पक्ष उद्धत छ ।

स्रोतका अनुसार नीति तथा कार्यक्रम र बजेट आइसकेपछि वडामा बजेट अपुग भएको देखाउँदै आफ्ना पक्षका वडा अध्यक्ष र सदस्यहरुलाई प्रयोग गरेर बजेट असफल बनाउने प्रयासमा ओली पक्ष कसरत गरिरहेको छ । ओली समूहको नगर कमिटी बैठकले जसरी पनि बजेट पास हुनबाट रोक्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।
नगर प्रमुख अधिकारी र उपप्रमुख काफ्ले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि भए पनि पछिल्लो समय नेकपादेखि सुरु भएको पार्टीको बिवादको क्रममा माधव नेपाल समूहमा खुलेर लागेका थिए । प्रमुख र उपप्रमुख यस क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालका विश्वास पात्र समेत हुन् ।

पार्टी बिवादको क्रममा आफूहरुको पक्षमा नलागेको भन्दै नगर प्रमुख र उपप्रमुखलाई ओली समूहको नगर कमिटीले नगरपालिकाको हरेक काममा असहयोग गर्दै आएको बताइन्छ । एमाले (ओली समूह)का सचिव चक्रबहादुर थापाले जनप्रतिनिधिहरुसँग बैठक बसेको स्वीकार गरे ।

थापाले पार्टीको आन्तरिक छलफल भएको बताए । थापाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि मात्र बजेटमा समर्थन हुन्छ की बिरोध भन्न सकिने बताए । ‘अहिले नै योजना बनाएर बजेटमा अवरोध गर्ने हाम्रो कुनै योजना छैन’, उनले भने । नगर प्रमुख अधिकारीले सबैको समर्थनमा बजेट र नीति तथा कार्यक्रम पारित हुने विश्वास गरेका छन् ।

केन्द्रको राजनीतिक बाछिटा जस्तोसुकै भए पनि आफूले विगतदेखि नै सबैको साथ र समर्थन पाएकाले यसपल्ट पनि पाउने विश्वास गरे । आफूले गुटउपगुट र राजनीतिक आस्था भन्दा माथि उठेर सबैको सहमति र सहकार्यमा काम गरिरहेको र आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने अधिकारीको भनाई छ ।

नगर सभामा एमालेको बहुमत छ । तर, एमाले दुई खेमामा विभाजन हुँदा कुनै पक्षको बहुमत पुग्दैन । यदि ओली पक्षीय एमालेले असमर्थन गरेमा बजेट र नीति तथा कार्यक्रम नगर सभाबाट पारित गराउन नगर प्रमुखले अन्य दलको समर्थन लिनुपर्ने हुन्छ ।