April 22, 2025, Tuesday
२०८२ बैशाख ९

महामारीमा विपन्न र संक्रमितको साथी बने संघसंस्था

भैरहवा– यहाँका धेरै सामाजिक संघसंस्था कोरोना भाइरसको महामारीमा गरिव तथा विपन्न परिवार, संक्रमित र उनीहरुका कुरुवाको साथी बनेका छन् । विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोरोनाले सबै क्षेत्र थला परेका बेला यहाँका धेरै संघसंस्थाले हातेमालो गरेर सरकारलाई साथ दिएका छन् ।

भैरहवाको जेसीआई सिद्धार्थ, नेपालले जेठ ६ गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)मा निःशुल्क खाना खुवाउन सुरु गरेको थियो । यस्तै जेसीजले सिद्धार्थनगरद्वारा बसपार्कमा सञ्चालित आइसोलेसन सेन्टरमा पनि निःशुल्क खाना वितरण सुरु गरेको थियो ।

Advertisement

आइतबारसम्म जेसीजले निःशुल्क खाना वितरण गरेको ३२औं दिन पुगेको छ । संस्थाका अध्यक्ष गोपाल ज्ञवालीले यो अवधिमा ७ हजार बढीलाई खाना वितरण गरिसकेको जानकारी दिए । ‘खाना वितरण कार्यक्रम असार ७ गतेसम्म संचालन हुनेछ’, उनले भने ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा एक महिनासम्म फूड बैंक संचालन गरी गरिब तथा निमुखा, दैनिक ज्याल मजदूरी गर्ने नागरिकलाई राहत वितरण गरेको छ । बैशाख अन्तिम साताबाट क्लबले भैरहवामा फूड बैंक स्थापना गरि राहत वितरण सुरु गरेको थियो । क्लबका वर्ष २०२०÷०२१ का अध्यक्ष हिराबहादुर शाहले एक महिनाको अवधिमा ६ सय ३२ परिवारलाई फूड बैंकमार्फत् निःशुल्क खाद्यान्न वितरण गरिएको बताए ।

‘सक्नेहरु प्रहरी टोलमा रहेको फूड बैंकमा आएर राहत लिएर जानुभयो, नसक्नेहरुलाई हामीले घरघरमै पुर्याएर राहत वितरण गर्यौ’, उनले भने, ‘एउटा परिवारलाई कम्तिमा १० दिनलाई पुग्ने राहत दिएका थियौं ।’ क्लबले यो अवधिमा फूड बैंकमार्फत् १० लाख रुपैयाँ बराबरको राहत वितरण गरेको जनाएको छ । क्लबले विपन्न परिवारलाई दाल, चामल, तेल, स्वाविन, नुन र चिउरा उपलब्ध गराएको हो । यस्तै, स्वास्थ्य सुरक्षाका लागि भन्दै माक्स पनि उपलब्ध गराएको थियो ।

लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले युसिएमएसमा कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्यो । क्लबले करिब ८ हजार ५ सय जनालाई निःशुल्क खना वितरण गरेको उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।

रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बनी सिद्धार्थनगरले विभिन्न अस्पताल र आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनटेटर र डिस इन्फेक्सन केमिकल सहयोग गरेका छन् । ‘दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि प्रशासनले जिल्लामा निषेधाज्ञा लगाएको छ । योबीचमा गरिब तथा विपन्नको पेट भोको हुनुहुँदैन भनेर हामीले सहयोग अभियान चलायौं’, सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेन्चुरीले भने ।

भैरहवाका युवा व्यवसायी विवेक पौडेलले करिब एक महिनासम्म भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित र उनीहरुका कुरुवा (आफन्त)लाई निःशुल्क खाना खुवाए । यो अवधिमा उनले करिब १५ सय जनाभन्द बढीलाई निःशुल्क खाना खुवाएको बताए ।

भीम अस्पतालमै नेकपा माओवादी केन्द्र, सिद्धार्थनगर कमिटीले निःशुल्क क्याटरिङ नै संचालन गरेको थियो । बिहान ५ देखि राति ९ बजेसम्म संक्रमित र उनीहरुका कुरुवालाई तातो पानी, अण्डा, झोलिलो सुप, खाना खुवाउँदै आएको छ । माओवादी नेता तिरबहादुर रोकामगर (डार्विन)का अनुसार यसबाट धेरै नागरिकलाई सहज भयो । माओवादी कार्यकर्ताले निःशुल्क शव व्यवस्थापनको काम समेत गरेको थियो ।

यी प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं संघसंस्था महामारीमा सेवामा खटिएका छन् । अहिले संक्रमण केही घटेको छ । केही समय अघिसम्म महामारीले सबै क्षेत्र आक्रान्त थियो । यस्तोबेला धेरै राहत बाँडे । संक्रमितलाई भेटेर हौसला बढाए । निःशुल्क खाना र स्वास्थ्य सामाग्री वितरण गरे । स्थानीय, प्रदेश र संघ सरकारको योजनामा हातेमालो गरे ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पालना गरी यहाँका संघसंस्थाले धेरै प्रशंसनीय काम गरेका छन् । कति संस्थालाई अक्सिजन सहयोग गरे । अस्पतालमा बेड र अक्सिजन नपाएर छटपटाइरहेका संक्रमितलाई साथ दिए । सहयोग गरे । भोको पेटमा आहारा दिए । खाना नपाएर कोही तड्पीनु परेन । जसले गर्दा यहाँका संघसंस्था, उद्योगी–व्यवसायीको प्रशंसा भएको छ ।