May 17, 2025, Saturday
२०८२ जेष्ठ ३ शनिबार

व्यवसायिक कृषिमा युवा, मनग्य आम्दानी

भैरहवा- रुपन्देहीको सैनामैना नगरपालिका–४ मा सैनामैना कृषि उद्योगमाफर्त् युवा प्रेमसागर पौडेल र उनकी श्रीमती ज्ञानकुमारीले व्यवसायिक बाख्रापालन गरेका छन् । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र शंकाय र ज्ञानकुमारीले युकेबाट विजनेस म्यानेजमेन्टमा मास्टर्स पास गरेका छन् । राम्रो शिक्षा आर्जन गरेका उनीहरु बाख्रापालनमा अब्बल ठहरिएका छन् । बिहानदेखि साँझसम्म बाख्राको स्याहारसुसारमा कामदारसँगै खटिने पौडेल दम्पत्ति धेरै युवापुस्ताका लागि उदाहरण हुन् ।

उनीहरुले फार्ममा विभिन्न जातका ४ सय ५० बढी बाख्रा पालीरहेका छन् । यहाँ बाख्रा, ४७ किसिमका घाँसको बीउ र बेर्ना उत्पादन हुँदै आएको छ । उनीहरुले आठ वर्षअघिबाट व्यवसायिक बाख्रापालन सुरु गरेका हुन् । प्रेमसागर भन्छन्, ‘हामीले युवालाई व्यवसायमा लाग्न प्रेरणा मिलोस् भनेर शिक्षाभन्दा फरक पेसा अंगाल्यौं । सोंचेअनुसार फार्मबाट आम्दानी पनि राम्रो भइरहेको छ ।’ वार्षिक एक करोडको कारोबार गर्ने गरेका उनले मुनाफा पनि मनग्य भएको बताउँछन् ।

Advertisement

यस्तै, दुई जना साथीसँग मिलेर शुद्धोधन गाउँपालिका–३, का वडा अध्यक्षसमेत रहेका युवा हेमबहादुर खड्का (शिव) व्यवसायिक कृषिमा होमिएका छन् । शुद्धोधन–४, जुगडिहवामा फर्साटिकर एग्रो एण्ड रिसर्च सेन्टर प्रालि खोलेर अध्यक्ष खड्कासँगै उनका साथीहरु बालकृष्ण पराजुली र खोमबहादुर केसीले अहिले २ हजार लोकल कखुरा पालिरहेका छन् ।

फार्ममा घाँटी खुइले, उल्टे, सुल्टे, कडकनाथ लगायत स्थानीय जातका कुखुरा पालिएको छ । अघिल्लो वर्षदेखि तीन विघा जमिन लिजमा लिएर २ करोड लगानीमा उनीहरुले व्यवसायिक कृषि फार्म सुरु गरेका हुन् । लोकल कुखुरासँगै फार्ममा उनीहरुले ७ सय चाइनिज हाँस, ४ वटा पोखरीमा २५ हजार माछाका भूरा, विभिन्न जातका ८० गोटा बाख्रासमेत पालिरहेका छन् । भन्छन्, ‘म जनप्रतिनिधि मात्रै होइन्, कृषक पनि हुँ । मैले हरेक युवालाई उद्यमसँग जोडिनुपर्छ भनेर प्रोत्साहन गर्छु । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन युवाहरुको भूमिका रहन्छ ।’

शुद्धोधन गाउँपालिका–३, बेताहानीका युवा संदीप खनालले एसके गट फार्ममार्फत् व्यवसायिक बाख्रापालन गरेका छन् । सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रा पालनमा होमिएका खनालको फार्म युवाका लागि अर्को प्रेरणाको स्रोत हो । खनालले व्यवसायिक रुपमा ५ सय बढी बाख्रा पालन गर्दै आएका छन् । यो फार्म साँच्चिकै हेर्न लायक छ । युवाको कडा मिहेनत देखेर फार्म हेर्न आउने जो कोही प्रशंसा गर्छन् । यहाँ आएर सिको गरी व्यवसायिक बाख्रा पालन गर्ने धेरै छन् ।

‘अवलोकन गर्न आउने महानुभावको प्रशंसाबाट हामीलाई थप उर्जा प्राप्त हुन्छ’, संचालक खनाल भन्छन्, ‘मिहेनत गर्यो भने राम्रो गर्न सकिन्छ । हामी जस्ता युवाहरु केही न केही उद्यममा जोडिनुपर्छ’, उनले भने । उनले जागिर छाडेर बाख्रापालनमा लाग्दा पढेलेखेको युवाले यस्तो काम पनि गर्छन् भनेर गाउँले र परिवारले साथै दिएनन् । खिसिट्युरी गरे । तर, अहिले भने परिवारले मात्रै होइन, गाउँसमाज र सिंगो युवापुस्ताले प्रशंसा गर्ने गरेका छन् ।

सियारी गाउँपालिका–३, लक्ष्मीपुरका युवा किसान सुवास कुर्मीले शान्ति उन्नत पशुपालन तथा माछा फार्ममार्फत् व्यसायिक रुपमा लगानी गरी मनग्य आम्दानी गर्छन् । अहिले उनका ८ ओटा माछा पोखरी र २८ वटा विभिन्न प्रजातिका गाई छन् । यो फार्म कृषि गर्नेका लागि पाठशाला हो । संचालकको परिश्रम देख्ने जो कोही लालायित हुन्छन् । ‘यहाँ आउनेले अब हामी पनि कृषि पेसा नै गर्छौ भनेर फर्किनुुहुन्छ’, कुर्मी भन्छन् ।

यी युवा उदाहरण मात्रै हुन् । पछिल्लो सयम रुपन्देहीमा व्यवसायिक कृषि गर्ने युवाहरु बढीरहेका छन् । कृषिबाट मनग्य आम्दानी हुने भएपछि युवापुस्ता कृषिमा लागेका हुन् । कोरोना भाइरसले कृषि क्षेत्रमा पनि प्रभाव पारेको छ । यद्यपि युवाहरु त्यसको प्रवाह नगरी धमाधम लगानी गरिरहेका छन् । बर्सेनि खर्बौको कृषिउपज बाह्य मुलुकबाट आयात गर्नुभन्दा राज्यको नीतिअनुसार युवा व्यवसायमा जोडिनु पर्ने वडाअध्यक्ष समेत रहेका युवा कृषक खड्का बताउँछन् ।

स्थानीयस्तरमा अग्र्यानिक उत्पादन हुँदा खरिदविक्री राम्रो हुने गरेको छ । रुपन्देही सुगम जिल्ला र कृषिका लागि उर्वर भूमि भएकाले पनि यहाँ कृषि क्षेत्रको राम्रो सम्भावना छ । खनाल भन्छन्, ‘बजारीकरणको कुनै समस्या छैन । फार्ममै खरिदकर्ता आउने गर्छन् । हामीले यहाँ उत्पादन गरेका खसीबोका काठमाडौं, पोखरासम्म पनि पठाउने गरेका छौं ।’ कतिपय ठाउँमा व्यवसायिक माछा र कुखुरापालन गरेका युवाहरुले फार्मसँगै रिसोर्टसमेत संचालन गरेका छन् । कोभिड अघि सहज अवस्थामा यहाँ फार्म हेर्ने र विभिन्न परिकारको स्वाद लिनेहरुको भीड लाग्ने गरेको छ ।

केही कृषि फार्महरुले आन्तरिक तथा बाह्य पर्यटकबाट समेत आम्दानी गर्दै आएका छन् । सरकारले कृषिमा अनुदान बढाउने, तालिम, सडकमार्ग विस्तारमा विशेष ध्यान दिने, लगानीमैत्री वातावरण बनाउने हो भने कृषिमा युवाहरुको आकर्षण बढ्ने खनाल बताउँछन् । परिश्रमी युवालाई देशमै धेरै अवसरले पछ्याउने गरेको कृषिमा होमिएका युवा बताउँछन् । युवा कृषक प्रेमसागर भन्छन्, ‘केही गर्छु भन्ने अठोट राख्ने युवा विदेशिनु पर्दैन । मुलुकमै कयौं अवसर छन् । विदेशमा बगाउने खुनपसिना आफ्नै भूमिमा बगाउने हो भने दोब्बर कमाउन सकिन्छ ।’