पाइपलाइनबाट ग्याँस वितरणको योजनासहित भैरहवामा बायोग्याँस प्लान्ट निर्माण सुरु


ओमसतिया (रुपन्देही)– उपभोक्तालाई पाइपलाइनबाट ग्याँस वितरणको योजनासहित रुपन्देहीको भैरहवामा बायोग्याँस प्लान्ट निर्माण सुरु भएको छ । बायोग्याँस एण्ड अर्घानिक फर्टिलाईजर प्रालिले खाना पकाउने बायोग्याँस उद्योग निर्माण सुरु गरेको हो ।
ओमसतिया गाउँपालिक–४, बसन्तपुरमा निर्माण अघि बढाइएको उद्योगले निर्माण सकिएलगत्तै ग्याँस उत्पादन सुरु गर्ने जनाएको छ । उत्पादन सुरु भएपछि उद्योगमा दैनिक एलपीजी ग्याँस ५ सय किलो अर्थात् ४० सिलिन्डर भर्न सक्ने गरी उत्पादन गर्ने उद्योगका सञ्चालक मोहित यादवले बताए ।
‘यहाँबाट बायोग्याँस उत्पादन सुरु भएपछि गाउँपालिकाका ३ सय घरपरिवारको भान्सामा खानापकाउने ग्याँस पाइप जडान गरिने छ’, उनले भने, ‘दोस्रो चरणमा गाउँपालिकाका सबै घरको भान्सालाई सिलिन्डररहित बनाउने योजना छ ।’
बायोग्याँस प्लान्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङका डाइरेक्टर ई.संदीप यादवले उद्योग स्थापना र ग्याँस पाइप जडान कार्य सँगसँगै हुन लागेके बताए । ‘प्राविधिकरुपमा उत्पादन र उपभोगलाई मध्यनजर गरेर कन्सल्टेन्सीले नापजाँच गरि डीपीआर तयार गरिसकेको छ’, उनले भने ।
ई.यादवले उत्पादनसँगै उद्योगको योजना अनुसार ग्याँसलाई सिधै घरघरको भान्सामा पुराउने कामलाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने छलफलमा आफूहरु रहेको बताए ।
‘हामीले सुक्ष्म अध्ययन गरी काम अघि बढाएका छौं, निर्माण सक्दा पाइपलाइन पनि घरघरमा पुर्याइ सक्छौं । उत्पादन सुरु पछि उपभोक्ताले विना सिलिन्डर ग्याँबाट खाना पकाउन सक्नुहुनेछ’, उनले भने ।
मिटर राखेर त्यसका आधारमा उपभोक्ताले उपभोग गरेअनुसारको ग्याँसको पैसा उद्योगलाई बुझाउने छन् । करिब १० करोड लागतमा निर्माण हुन लागेको बायोग्याँस प्लान्टले आफ्नो उत्पादन सुरु गरेसँगै भारतीय एलपीपी ग्याँसको मागमा समेत कमी आउने अपेक्षा ओमसतिया गाउँपालिकाको छ ।
दैनिक २० टन कच्चा पदार्थ खपत गर्ने यो उद्योगको स्थापनासँगै जिल्लाको आधुनिक उद्योग हुने बायोग्याँस प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङले दावी गरेको छ । उद्योगमा गोवर, कुखुराको सुली, सडेगडेको कच्चा पर्दाथ, होटल तथा सुपर मार्केटहरुमा उत्पादन भएका कच्चा पदार्थ जन्य फोहोरहरु जम्मा गरेर ग्याँस उत्पादन गरिने छ । यसका लागि कुहिने र नकुहिने वस्तु छुट्याएर संकलन गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्