October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

विपन्नलाई रोगलेभन्दा भोकले पिरोलेको पाइयोः रोटरी क्लब

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले संचालन गरेको ‘फूड बैंक’मार्फत् ६३२ परिवारलाई राहत

भैरहवा- रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा एक महिनासम्म फूड बैंक संचालन गरी गरिब तथा निमुखा, दैनिक ज्याल मजदूरी गर्ने नागरिकलाई राहत वितरण गरेको छ । बैशाख अन्तिम साताबाट क्लबले भैरहवामा फूड बैंक स्थापना पनि राहत वितरण सुरु गरेको थियो ।

सोमबार भैरहवामा आयोजित कार्यक्रममा क्लबका वर्ष २०२०÷०२१ का अध्यक्ष हिराबहादुर शाहले एक महिनाको अवधिमा ६ सय ३२ परिवारलाई फूड बैंकमार्फत् निःशुल्क खाद्यान्न वितरण गरिएको बताए । ‘सक्नेहरु प्रहरी टोलमा रहेको फूड बैंकमा आएर राहत लिएर जानुभयो, नसक्नेहरुलाई हामीले घरघरमै पुर्याएर राहत वितरण गर्यौ’, उनले भने, ‘एउटा परिवारलाई कम्तिमा १० दिनलाई पुग्ने राहत दिएका थियौं ।’

क्लबले यो अवधिमा फूड बैंकमार्फत् १० लाख रुपैयाँ बराबरको राहत वितरण गरेको जनाएको छ । क्लबले विपन्न परिवारलाई दाल, चामल, तेल, स्वाविन, नुन र चिउरा उपलब्ध गराएको हो । यस्तै, स्वास्थ्य सुरक्षाका लागि भन्दै माक्स पनि उपलब्ध गराएको थियो ।

विगतदेखि सामाजिक सेवामा खटिँदै आएको क्लबले महामारीले गर्दा साँझबिहान छाक टार्न समस्या परेकाहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराएको हो । क्बलका संस्थापक अध्यक्ष बिमल सेन्चुरीले कोरोना महामारीले गर्दा जिल्लामा निषेधाज्ञाका जारी भएको र निम्न वर्गका नागरिकलाई दैनिकी चलाउनै समस्या भएकाले आफूहरुले फूड बैंकको अवधारणा ल्याएर खाद्यान्न वितरण गरेको बताए ।

क्लबले सिद्धार्थनगर, ओमसतिया, सियारी, मायादेवीका विपन्न गर्नलाई राहत उपलब्ध गराएको जनाएको छ । क्लबले घरघरमै राहत पुर्याउन कोषाध्यक्ष कृष्ण अधिकारी र सदस्य धर्मवीर शर्मालाई खटाएको थियो । उनीहरुले आवश्यकताका आधारमा, गरिब तथा विपन्न, रोजगारी गुमाएका परिवारको पहिचान गरी खाद्यान्न घरसम्म पुर्याउने काम गरेका थिए ।

रोगको भन्दा भोकको चिन्ता
रोटरी सेन्ट्रल लुम्बिनीले राहत वितरणका क्रममा तल्लो वर्गका अधिकांश नागरिकलाई रोगको भन्दा भोगको चिन्ता भएको पाइएको जनाएको छ । क्लबका अध्यक्ष शाहले साँझ बिहान छाक टार्न समस्या परेपछि उनीहरुलाई भोकको बढी चिन्ता लाग्ने गरेको पाइएको जनाए ।

घरघरमा राहत वितरणमा खटिएका क्लबका कोषाध्यक्ष अधिकारी र शर्माले कयौंले हामी भोकले मर्न लाग्यौं भनेर रुँदै फोन गरेको बताए । ‘सुरुमा क्लबमा आबद्ध केही साथीहरुले आफ्नै व्यक्तिगत खर्चमा राहत वितरण गरिरहनु भएको थियो । तर, पछि सल्लाह गर्यौ र संस्थागतरुपमा वितरण गर्यौ । यसले गर्दा धेरै परिवारले राहत पाउनुभयो । हामीलाई छाक टार्न समस्या भयो भनेर राति पनि फोन गर्नुहुन्थ्यो’, क्लबका पूर्वअध्यक्ष कृष्ण पाण्डेले भने ।

क्लबले आर्थिक अभावमा घरभाडा तिर्न नसकेकाहरुलाई पनि आर्थिक उपलब्ध गराएको जनाएको छ । कोषाध्यक्ष अधिकारीले वास्तवमा भोकको चिन्ता कस्तो रहेछ भन्ने आफूहरुले बल्ल महसुस गरेको बताए । ‘राहत लिएर जाँदा विपन्नको अवस्था देखेर आँशु आउँथे, उहाँहरु रोएको देख्दा कतिपल्ट हाम्रा आँशु आएका छन्, वास्तवमा विपन्न वर्गले भोकले मर्न भन्दा बरु रोग लागेर मर्छौ भन्नुहुन्थ्यो’, कोषाध्यक्ष अधिकारीले भने ।

राहत लिएर घरघरमा पुग्ने क्रममा प्रहरीले कयौपल्ट दुःख दिने गरेको शर्मा र अधिकारीको अनुभव छ । बाटोमै रोकेर घण्टौंसम्म राख्दा आफूहरुमा नैराश्यता छाएको उनीहरुले बताए । ‘प्रहरी व्यवहारले केही निरास भए पनि विपन्नको मुहारमा खुशी देख्दा अझै धेरै काममा खटिने मन लाग्थ्यो’, शर्माले भने । क्लबले आगामी दिनमा पनि आवश्यकताका आधारमा सामाजिक उत्तरदायित्वका काम गर्दै जाने जनाएको छ ।