January 23, 2025, Thursday
२०८१ माघ १०

निषेधाज्ञाबीच किसानलाई रोपाइँको चटारो

सियारी (रुपन्देही)– सियारी गाउँपालिकाका बुचनु लोहार रोपाइँमा व्यस्त छन् । ५ कठ्ठा खेत छ, उनको । रोपाइँ अन्तिम चरणमा पुगेको उनले बताए । ‘यस वर्ष समयमै पानी पर्यो, पानी प्रशस्त भएपछि चाँडै नै काम सकौं भनेर रापाइँ गरेका हौं’, शुक्रबार आफ्नो खेतमा रोपाइँमा व्यस्त लोहारले भने, ‘सम्भवतः आजै सबै रोपाइँ सकिन्छ होला ।’

लुम्बिनी प्रदेशमा यो वर्ष चाँडै मनसुन भित्रिएसँगै किसानले जेठ २० यता रोपाइँ सुरु गरेका हुन् । खासगरी तराईका जिल्ला, पहाडका फाँटहरुमा रोपाइँ सुरु छ । किसान खेतमै व्यस्त छन् । यो समय मानो रोपेर मुरी फलाउने समय हो । कति किसानले रोपाइँ सकेर आराममा छन् ।

Advertisement

कोरोना महामारीले प्रदेशका सबै जिल्लामा निषेधाज्ञा छ । तर, जिल्लाका किसान भने खेतीपातीमा लागेका छन् । पानी परेकाले यस वर्ष धेरै किसानले समयमै धानको ब्याड राखेका थिए । सियारी–३ का जयराम विश्वकर्माले पनि रोपाइँ अन्तिम चरणमा पुगेको जनाए ।

‘मेरो १० कठ्ठा खेत छ, आइतबारसम्म रोपाइँ सकिन्छ’, उनले भने, ‘खाली समय यताउति जानु छैन, अरुबेला दुईचार हजार जोरजाम गर्न कमाउन जान्थे, अघिल्लोपल्ट र यसपल्ट कोरोनाले कतै जान पाइएन । पानी पर्यो, यही मौकामा रोपाइँ सकिहालौं भनेर लागेको छौं’, उनले भने ।

रुपन्देहीमा अहिलेसम्म करिब पाँच प्रतिशत रोपाइँ भएको अनुमान गरिएको छ । यद्यपि पानी परिरहेकाले धेरै धेरै किसानलाई रोपाइँको चटारो सुरु भएको छ । धेरै ठाउँमा सिंचाई नहुँदा किसानलाई आकाशे पानीको भर पर्नुपर्छ । पहाडमा त पानीका मूल फुटे भने बल्ल रोपाइँ सुरु हुन्छ ।

तराईका जिल्लाका कतिपय ठाउँमा सिंचाईको व्यवस्था छ । धेरै ठाउँमा छैन । यसले गर्दा किसान आकाशे पानीको भर पर्छन् । कति किसानले बोरिङको पानीबाट पनि रोपाइँ गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु दाङ, रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, बर्दियाँ, बाँके धानको उर्वरभूमि मानिन्छ । पहाडी जिल्ला प्यूठानको फाँटमा पनि रोपाइँ भएको छ । यहाँ लगभग रोपाइँ सकिएको छ । प्यूठान फाँटमा धान उत्दान राम्रो हुन्छ ।

पर्याप्त पानी परेकोले हरेकजसो जिल्लाहरुमा अहिले रोपाइँ चलिरहेको छ । मनसुन यही गतिमा भइरहेमा र धान पटाउने बेला मल पाएमा यस वर्ष अन्य वर्षको तुलनामा धान उत्पादन राम्रो हुने किसानको विश्वास छ । तर, कतिपय किसानले रोपाइँका बेलै मल नपाएको गुनासो गरेका छन् ।

सियारीका विश्वकर्मा भन्छन्, ‘हामीले न्यूनमात्रामा मल हालेर रापाइँ गरिरहेका छौं । मलै पाएको छैन । अलिअलि खेतमा हालेको मल पनि व्यल्याकमा किनेको हो ।’ उनकाअनुसार व्यल्याकमा किनेको मल सरकारी र बजार भाउ भन्दा निकै महंगो छ । यसले लागत बढेको उनी बताउँछन् ।

‘चर्को मूल्यमा मल किनेर राख्दा निकसानलाई मुनाफा कमाउनै मुस्किल परिरहेको छ, सरकारले अरु त सकेन कम्तिमा मल समयमै दिएको भए सहज हुन्थ्यो’, उनले भने । यस वर्ष मौसमले साथ दिएको र सरकारले मल दिन सक्ने हो भने उत्पादन निकै राम्रो हुने लोहारले बताए । यस वर्ष पनि धान रोपाइँको सिजनमा मल अभाव भएको किसानको गुनासो छ ।