February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

स्मार्ट कृषि गाउँलाई तिलोत्तमाको उपेक्षा

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा प्रदेश सरकारले स्मार्ट कृषि गाउँ बनाएको छ । यहाँको ९३ बिघा क्षेत्रफलमा तरकारी खेती गरिन्छ । किसान एक सय पाँच जना छन् । वडा नम्बर १४ को जीतपुर, मंगलपुर, रगरगञ्ज र दुर्गानगरलाई जोडेर प्रदेश सरकारले स्मार्ट कृषि गाउँ बनाएको हो ।

चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र नवलपरासीले ५० लाख बजेट बिनियोजन गरेको थियो । सम्झौता अनुसार ३० लाख ज्ञान केन्द्रले दिने तथा २० लाख स्थानीय तह र किसानले लगानी गर्ने उल्लेख छ । तर, तिलोत्तमा नगरपालिकाले स्मार्ट कृषि गाउँलाई कुनै सहयोग नगरेको किसानहरुको आरोप छ ।

Advertisement

‘नगरपालिकाले आर्थिक वा प्राविधिक सहयोग गर्ने ठूलो अपेक्षा गरेका थियौँ । तर, नगरपालिकाले कुनै वास्ता गरेन’, स्मार्ट कृषि गाउँका संयोजक पन्नेलाल केवटले भने, ‘आफूहरुले बोलाउँदा पनि कोही नआउँदा अनादर गरे जस्तो सबै किसानले महसुस गरेका छन् ।’

यता नगरपालिकाका कृषि विकास अधिकृत दोमलाल भुसालले बजेटको बारेमा नगरपालिकालाई कुनै जानकारी नभएको बताएका छन् । ‘हामीसँग कृषि ज्ञान केन्द्रले कुनै सम्पर्क नगरि आफूखुसी कार्यक्रम ल्याइरहेको छ’, भुसालले भने, ‘एकद्वार प्रणाली अन्तर्गत काम भएको भए नगरपालिकाले सहकार्य गरेर कार्य गर्ने थियो । तर त्यहाँ बेवास्ता गरियो, त्यसैले नगरपालिकाको कुनै सहभागिता छैन ।’

प्रदेश र स्थानीय तहको समन्वय नहुँदा स्मार्ट कृषि गाउँ ओझेलमा परेको छ । हुनतः नगरपालिकाले नगरकै लगानीमा पकेट क्षेत्रहरु बिस्तार गरिरहेकै छ । तर, प्रदेशको लगानीमा सञ्चालन भएको स्मार्ट कृषि गाउँलाई भने कुनै सरोकार राखेको छैन् ।

चालु आर्थिक वर्षको बजेटबाट ३९ लाख ५२ हजार मूल्य बराबरका उपकरण स्मार्ट कृषि गाउँ मंगरपुरले वितरण गरेको छ । मिनी टिलर ६ वटा, पावर टिलर चारवटा, पम्पसेट १२ वटा, मोटर पाँचवटा, डिजिटल काँटा १५ वटा, स्प्रे ट्यांकी ३० वटा, डेलिभरी पाइप एक हजार ६० केजी लगायतका उपकरण वितरण गरेको स्मार्ट कृषि गाउँका सचिव मायादेवी केवटले बताइन् ।

उत्पादन बढाउन, लागत घटाउन र मुनाफा बढी लिन यान्त्रिकरणले सहयोग मिल्ने भएकाले स्मार्ट कृषि गाउँले अनुदानमा मेसिन बाँडेको उनले बताइन् । निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउन, आधुनिक प्रविधिसहित उपकरणको प्रयोगमा बृद्धि गर्नुपर्ने कृषि प्राविधिकहरुले सुझाउने गरेका छन् ।

यान्त्रिकरणमा जाँदा जनशाक्ति कम लाग्ने र लागत घट्ने कृषि ज्ञान केन्द्र नवलपरासीका कृषि प्रसार अधिकृत मनिषा पौडेलले बताइन् । यान्त्रिकरणको माध्यमबाट कृषि प्रणालीमा आधुनिकीकरण एवम् व्यवसायीकरण गरी राष्ट्रिय विकासमा योगदान पुर्याउन लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ सञ्चालन गरेको पौडेलले बताइन् ।