March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रूपन्देहीमा अक्सिजन व्यवस्थापन सहज हुँदै

भैरहवा– कोेभिड संक्रमित र अक्सिजनको विषयलाई लिएर हेर्ने हो भने तीन हप्ता अघिसम्म रुपन्देहीको अवस्था निकै कहाली लाग्दो थियो । श्वासप्रश्वासमा समस्या आउन थालेका बिरामीका वारेमा जताततै खबर आउने गर्थे । कोभिडको उपचार गर्ने सबै अस्पताल संक्रमितले भरिएका थिए ।

Advertisement

यतिमात्रै होइन, कोभिड संक्रमणले श्वास फेर्न समस्या भएका बिरामी अस्पतालमा बेड नपाएपछि पेटी बरण्डा, भूइँ जताततै पल्टिएका हुन्थे । अस्पतालमा पुगेपछि बाँच्ने आशमा बिरामीलाई जसरीतसरी भए पनि अस्पताल पुर्याइएको हुन्थ्यो । तर अस्पतालमा भने बिरामीको अनुपातमा अक्सिजन भने उपलब्ध हुँदैनथ्यो । बिरामीका आफन्त आक्सिजनका लागि जताततै भौतारिन्थे । ठूलाबडा र पहुँचवालाई भनसुन हुन्थ्यो ।

Advertisement

अक्सिजन उत्पादन गर्ने प्लान्टमा दिनरात लाइन लाग्थ्यो । अक्सिजन सिलिण्डर खोसाखोस हुन्थ्यो । अस्पताल र स्थानीय प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो । तर, यतिवेला भने कोभिड संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको व्यवस्था सहज हुँदै जान थालेको छ । तीन हप्ता अगाडि जस्तो अक्सिनको हाहाकार यतिवेला कोभिड संक्रमितको उपचार गर्ने रुपन्देहीका अस्पतालमा छैन ।

भारतबाट आयात गरिएको लिक्विड ट्यागंबाट समेत उत्पादन गर्न थालिएपछि उत्पादनमा बृद्धि, अक्सिजन उत्पादन गर्ने प्लान्टमा सुरक्षा निकायको व्यवस्थापन र पछिल्लो समयमा अक्सिजन आवश्यक पर्ने खालका कोभिड संक्रमित बिरामीको चापमा कमी हुन थालेपछि अक्सिजनको व्यवस्थापन सहज हुन थालेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक अस्मान तामाङले कोभिड संक्रमित बिरामीको उपचारका लागि रुपन्देहीमा अक्सिजनको कमी नरहेको बताए । ‘केही हप्ता अघिसम्म यहाँको उत्पादनले नपुगेर बाहिरी जिल्लाबाट एयरलिफ्ट गरि अक्सिजन ल्याइएको थियो । अब त्यो अवस्था छैन’, तामाङले भने, ‘बरु अव अक्सिजन मौज्जात राख्न सकिने क्षमता रुपन्देहीले राखेको छ ।’

संकट व्यवस्थापन केन्द्रले, बुटवलको प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, युनिभर्सल शिक्षण अस्पताल, मणिग्रामस्थित क्रिमशन अस्पताल र देवदह मेडिकल कलेज बाहेक बुटवलको माहिला ताथ बालवालिका आम्दा अस्पताल र १६ वटा स्थानीय तहले तयार पारेको आइसोलेशन सेन्टरमा पनि अक्सिजन उपलब्ध गराउन थालेको छ । रुपन्देहीका स्थानीय तहले कुल २ सय ४६ बेडको आइसोलेशन सेन्टर तयार पारेका छन् ।

रुपन्देहीमा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पड्सरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमा गरि तीन वटा प्लान्टले गरि कुल दैनिक १ हजार १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता थियो । तर, विद्युत आपूर्तिमा अवरोध र कहिलेकाही कुनै प्लान्ट बिग्रिनाले क्षमता अनुरुपको उत्पादन हुँदैनथ्यो ।

अक्सिजनको आवश्यक पर्ने कोभिड संक्रमितको बिरामी एक्कासी बढ्दै जान थाल्नु र अस्पतालको जताततै संक्रमितको संख्या भरिँदै जान थालेपछि रुपन्देहीमा तीन हप्ता अघिसम्म अक्सिजनको हाहाकार थियो । धेरैले घर–घरमा अक्सिजनको मौज्जात गर्न थालेका थिए । अक्सिजन नपाइएको भन्दै कतिपय अस्पतालले थप बिरामी भर्ना लिन बन्द गरेका थिए ।

अक्सिजन प्लान्टमा रातभरि लाइन लाग्ने गथ्र्यो । अक्सिजनकै अभावमा भैरहवा र रुपन्देहीमा एक दर्जन भन्दा धेरै संक्रमितले ज्यान गुमाएका थिए । शंकर अक्सिजन ग्यासले भारतबाट लिक्विड अक्सिजनको ट्याङ आयात गर्न थालेपछि उत्पादन बढ्न थालेको हो । उक्त प्लान्टले पछिल्लो एक हप्तामामात्रै तीन वटा ट्याङमा ३ हजार ५ सय सिलिण्डर अक्सिजनको आयात गरेको छ । जसमध्ये, सवै ट्याङको प्रयोग भएको छैन । यद्यपी करिव १ हजार ३ सय सिलिण्डर भर्ने अक्सिजन मौज्जात छ । बरु, भरेर राख्नका लागि खाली सिलिण्डरको अभाव छ ।

स्वास्थ कार्यालय रुपन्देहीका अनुसार, पछिल्लो दिन यता कोभिड संक्रमित बिरामीको संख्यामा कमी आउन थालेको छ । स्वास्थ्य कार्यालय प्रमुख डा.रोजेन्द्र गिरीले दोस्रो चरणको संक्रमणको क्रममा रुपन्देहीमा कुनैबेला एकै दिन अक्सिजन आवश्यक पर्ने कोभिड विरामीको चाप अस्पतालमा ४ सय भन्दा धेरै रहेकोमा पछिल्ला दिनमा साढे २ सयको हाराहारीमा रहेको बताए ।

‘उपचाररत विरामीलाई अक्सिजन पाइएन भनेर पहिला जस्तो गुनासो यतिबेला कतैबाट पनि आएको छैन’, डा.गिरीले भने, ‘जेठ महिना लागेयता कोभिड संक्रमित र बिरामीको संख्यामा ओरालो लाग्दै जान थालेको छ ।’

रुपन्देहीमा उत्पादित अक्सिजन यतिबेला साविक लुम्बिनी अंचलका जिल्ला बाहेक दाङ्ग र प्यूठानमा समेत उपलब्ध गराउन थालिएको प्रजिअ तामाङले जनाए । ‘तीनवटै अक्सिजन प्लान्टको उत्पादन र बितरण प्रकृयाको व्यवस्थापनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएपछि अक्सिजनको व्यवस्थापन व्यवस्थित र सहज बनेको छ’, तामाङले भने, ‘पहिला कुन प्लान्टमा कति उत्पादन भयो र कहाँ–कहाँ बितरण भयो ? भन्ने वारेमा हामीलाई जानकारी पनि हुँदैनथ्यो र हाम्रो नियन्त्रणमा पनि थिएन ।’

उनका अनुसार, अक्सिजन प्लान्टमा लिन जानेको रातभरि लाइन हुन्थ्यो । एउटै घरमा तीनचार वटासम्म अस्जिनका सिलिण्डर मौज्जात राख्ने गरेका थिए । अक्सिजन बैंकको स्थापना लगायतका कारणले अभाव धेरै हुने गरेको थियो । ‘कसले कति सिलिण्डर कहाँ लग्यो ? भन्ने वारे पनि कुनै रेकर्ड नहुँदा चुहावट भएको थियो’, उनले भने, ‘एउटै सिलिण्डर अक्सिजनलाई २० हजार रुपैयाँसम्म बाहिरी क्षेत्रमा पैसा लिएको गुनासो आउन थालेपछि यसको सही किसिमले व्यवस्थापनका लागि सुरक्षा निकायको परिचालन गरिएको हो ।’

भीम अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले कोभिड संक्रमित बिरामीका लागि पहिला जस्तो अक्सिजनको अभाव अहिले नरहेको र आवश्यक परिमाणमा उपलब्ध रहेको बताए । युनिभर्सल शिक्षण अस्पतालका प्रशासन संयोजक तेज केसीले विगतमा आवश्यकता अनुरुपको परिमाणमा अक्सिजन पाउने सुनिश्चितता नभएकाले अस्पतालमा कोभिड बिरामीको उपचार गर्ने क्षमता अनुरुप बिरामी थप्न नसकिए पनि अस्पतालमा उपचार गराइरहेका बिरामीलाई भने यतिवेला अक्सिजन सहज रुपमा उपलब्ध भैरहेको जनाए ।

युनिभर्सल शिक्षण अस्पतालले तीन हप्ता अघि अक्सिजनको अभावले अस्पतालमा सवै खालका बिरामी भर्ना बन्द गरिएको र अक्सिजनको अभावले उपचाररत बिरामीलाई केही भएमा अस्पताल र स्वास्थ्यकर्मी जिम्मेवार नहुने भन्दै बिरामीका आफन्तबाट मञ्जुरीनामा गराएको थियो । अहिले यो अस्पतालले विरामी भर्ना लिन सुरु गरेको छ ।