तिनाउ दोहनमा प्रयोग भएका सवारी प्रहरी नियन्त्रणमा


भैरहवा– रुपन्देही प्रहरीले नदीजन्य पदार्थ मनपरी दोहनमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाका तिनाउ, दानव, रोहिणी लगायतका नदीहरुमा ठेकेदारले मनपरी दोहन गरिरहेका छन् ।
नदी दोहनमा संलग्नलाई कारबाही नगरी प्रहरी प्रशासनबाटै संरक्षण भएको ब्यापक गुनासो आएपछि रुपन्देही प्रहरीले बिहीबार १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
‘तिनाउमा नियमविपरीत नदी दोहन भएको खबर पछि हाम्रो विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले सवारीसाधन नियन्त्रणमा लिएका हुन्’, रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने, ‘यसरी नदी दोहन गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ । दोहनमा प्रयोग भएका सवारी नियन्त्रणमा लिइ कारबाहीका लागि सम्बन्धित ठाउँमा पठाउने गरेका छौं ।’
प्रहरीले तिलोत्तमा नगरपालिका–३ मगरघाट र बुटवल उपमहानगरपालिका–१७ पथ्थरगञ्जस्थित तिनाउ नदीमा अवैधरुपमा बालुवा–गिट्टी ओसारी रहेको बेला टिपर र ट्याक्टर नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी थापाले बताए ।
पछिल्लो समय तिनाउमा मनपरी दोहन बढेको छ । स्थानीय सरकारले कोरोना महामारी नियन्त्रणको बहानामा नदी दोहन हुँदासमेत चुपचाप छन् । थापाका अनुसार इलाका प्रहरी कार्यालय बुटवल, रन्यौरापुर, ओमसतिया, वडा प्रहरी कार्यालय बुटवल र प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले एकैपल्ट नदीजन्य पदार्थ उत्खननमा संलग्न यति धेरै टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका टिपरमा लु२ख २६७०, लु२ख २६०८, बाग्मती प्रदेश ०२–०३–००१ ख ३३४८, ना२ख १९३४, लु२ख १९३४, लु२क २०८७, प्र०२–०३–०११ख ३३६७, ना८ख ८२७२, ना६ख २२७०, बागमती प्र०३–००१ख ०१८२, लु२ख ५२२८, लु२ख २११६, लु२ख ५२२९ र ना२ख १२९८ छन् । यस्तै, लु२त ५७३६, लु३त ५६६, लु३त ११५४, लु४त ३४२० र लु४त ७२२३ नम्बरको ट्याक्टर छन् ।
नियन्त्रणमा लिइएका सबै टिपर र ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको डीएसपी थापाले बताए ।
महामारी नियन्त्रण गर्न भन्दै जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर यस्तो बेला स्थानीय तहकै मिलेमतोमा ठेकेदारले नदी दोहन गरिरहेका छन् । नदीहरुमा मापदण्डको कुनै पालना छैन । चोरीनिकासी उस्तै ।
जलचर जीवजन्तु नै नासिने र भूक्ष नै हुने गरी तिनाउ दोहन छ । तिनाउ दोहनमा दर्जनौं डोजर लगाइएको छ । नदीको बीच भागमै पुगेर उत्खनन् भइरहेको छ । अनुगमन निकै फितलो छ ।
थापा भन्छन्, ‘हामीले नदी दोहनलाई नियन्त्रण गर्न भन्दै निगरानी बढाइरहेका थियौं, यसअघि पनि कयौपल्ट टिपर, ट्याक्टर र जोडर नियन्त्रणमा लिएका छौं । हिजो एकैपल्ट धेरै सवारी नियन्त्रणमा लिएका हौं । अब समन्वय समितिले कारबाही गर्छ ।’ नदीजन्य पदार्थ दोहनमा संलग्नलाई सम्बन्धित स्थानीय निकाय वा समन्वय समितिले जरिवाना तिराएर छोड्ने गर्दै आएको छ ।
जरिवाना तिराए पनि ठेकेदारले पुनः नदी दोहन गर्न छाडेका छैनन् । कयौपल्ट कारबाहीमा परेकाहरुले नै पटक–पटक नदी दोहन गर्दै आएका छन् । बिहान उज्यालो नहुँदैबाट रातिसम्म नै तिनाउमा दोहन छ । पछिल्लोपल्ट तिलोत्तमा नगरपालिकाले लगाएका ठेक्काहरुमा बढी मात्रामा नदी दोहन भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन् । तर नियमनमा नगरपालिकाको कुनै भूमिका देखिएका छैन ।
रुपन्देहीका नदीनालामा लगाइएका अधिकांश ठेक्काका ठेकेदार राजनीतिक दलका नेता तथा कार्यकर्ता छन् । राजनीतिक संरक्षण भएकै कारण पनि रुपन्देहीमा वर्षौंदेखि नदी दोहन रोकिन सकेको छैन । प्रहरीले सवारी नियन्त्रणमा लिए पनि राजनीतिक पहुँचका आधारमा न्यून जरिवाना तिरेर सहजै छुट्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस्