November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

लागत बढ्दा दुध उत्पादनमा कमी

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिशर्स सेन्टरमा मेसिनबाट दुध दुहुँदै । तस्बिरः पब्लिक कुरा

भैरहवा– आज विश्व दुध दिवस । विभिन्न कार्यक्रम गरि मनाइन्थ्यो । तर कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिले यो वर्ष कुनै औपचारिक कार्यक्रम गरिएन ।

Advertisement

दिवस नमनाए पनि दुध उत्पादन बढाउन र दुग्ध उत्पादक किसानहरुलाई टिकाउन राज्यले उत्पादन लागत घटाउने उपाय अबलम्बन गर्नुपर्ने किसानहरुको माग छ । महंगो दाना, उन्नत घाँसको अभाव र उन्नत जातको गाईभैँसी नभेटिँदा उत्पादन लागत बढेको किसान बताउँछन् ।

Advertisement

दाना, उन्नत घाँस खेती र नश्ल सुधारलाई प्राथमिकतामा राख्नुपर्ने तिलोत्तमा नगरपालिकामा रहेको उमादेवी पशु फार्मका सञ्चालक केशव खनालले बताए । ‘गएको दुई वर्ष कोरोनाले व्यवसाय धरासायी हुने अवस्थामा छ । सबै किसानको अवस्था उस्तै हो । सरकारले किसानहरुलाई राहत कोष मार्फत् उद्धार गर्नुपर्छ’, खनालले बताए । दानाको सहज उपलब्ध नहुँदा गाईभैँसीको खानपिनमा समस्या भएको उनको भनाई छ ।

रुपन्देहीको देवदह नगरपालिकामा रहेको कामधेनु गौधाममा पालेका छाडा गाई दुहुँदै गौशलाका सहयोगी । तस्बिरः पब्लिक कुरा

निषेधाज्ञामा दाना र घाँसको सहज उपलब्ध नहुँदा दुध उत्पादनमा कमी आएको छ । उत्पादन भएको दुध सबै खपत हुँदैन । कसैले दुध दोहेर गाईभैंसीलाई खुवाएका छन्, कोहीले दुधबाट परिकारहरु तयार पारेका छन् ।

लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिशर्स सेन्टरका सञ्चालक शशि पौडेलले भन्छन्, ‘निषेधाज्ञा पूर्व फार्ममा दैनिक दुई हजार दुई सय लिटर बढी दुध उत्पादन हुन्थ्यो । सबै बुटवल र भैरहवाका बजारमा बिक्री हुन्थ्यो । अहिले गाईलाई खुवाउने दाना अभाव छ, त्यसैले दुध आधा कम उत्पादन भैरहेको छ । त्यसमा पनि आधा मात्रै बजार जान्छ ।’

उनले बचेको दुध केही दिन गाईलाई खुवाएको बताए । ‘पछि दुधबाट बन्ने अन्य परिकार बनाउन थाले । संकटका बेला उपभोक्तालाई राहत पनि हुने र दुध खेर पनि नजाने भएकाले पनिर, कृम, खुवा, घ्यू जस्ता परिकार फर्मले बनाएर बजार मूल्य भन्दा धेरै सस्तोमा बिक्री गरिरहेको छ’, उनले भने ।

रुपन्देही दुधमा आत्मनिर्भर छ । प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न अनुदानका कार्यक्रम मार्फत प्रदेशलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई उत्पादनमा आधारित अनुदान दिने र सहकारीमार्फत उत्पादित बस्तुको बिक्री र बजारीकरण गर्ने त्यसको मुख्य लक्ष्य छ ।

‘पशु आहाराको व्यवस्थापन, नश्ल सुधार, गोठ तथा भकारो सुधार, पशु स्वास्थ्य उपचार तथा रेखदेख र उत्पादन बढाउने प्रमुख कार्यक्रम हुन्’, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा.प्रतिभा बिष्टले भनिन् ।

दुध उत्पादन बढाउन गोठ सुधार, गाउँगाउँमा चिकित्सकीय सेवा, डेरी सुदृढिकरण लगायतका अभियान समेत चलाउनु पर्ने किसानहरुको माग छ । दूध उत्पादनमा नमूना जिल्ला रुपन्देहीमा वार्षिक एक लाख ५३ हजार २ सय ४५ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ ।

उत्पादित दूधमध्ये वार्षिक करिब दश हजार मेट्रिक टन दुध जिल्ला बाहिर जाने गरेको छ । रुपन्देहीमा दुध उत्पादनका लागि खोलिएका चार सय ३७ वटा गाईफार्म र तीन सय २९ वटा भैंसी फार्म छन् । जहाँ गाई ९२ हजार ४२ र भैँसी एक लाख ४९ हजार तीन सय ३६ वटा रहेको पशु विज्ञ केन्द्रको तथ्यांकमा छ ।

राज्यले कृषि ऋण र प्राविधिक सहयोगलाई सरल बनाउने हो भने जिल्लामा पशुपालन अझ फस्टाउने र दुध उत्पादन दोब्बर हुने किसानहरुको अनुमान छ ।