May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

‘गुट्खा’ नियन्त्रणमा लिने प्रहरी निरीक्षकको २७ दिनमै सरुवा

भैरहवा – नयाँ ठाउँमा सरुवा भएको एक वर्षसम्म सरकारी कर्मचारीले काम गर्न पाउने प्रचलन छ । तर, उच्च पदस्थ नेता तथा कार्यकर्तालाई कर्मचारी मन नपरे वा आफ्नो अनुकुल काम नगरेमा सरुवा गर्दिने चलन बनेको छ । यसले कर्मचारीको मनोबल गिर्नुका साथै काम देखाउन अवसरबाट बञ्चित हुने गरेका छन् ।

Advertisement

मुलुकमा व्यवस्था परिवर्तन भए पनि कर्मचारीमाथि रवाफ र दबाब सिर्जना रोकिएको छैन । केही महिना अघि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल र सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को एकैसाथ सरुवा गरिएको घटना ताजै छ । उनीहरुलाई सरुवा गर्नुको कारण खुलाइएको छैन ।

अहिले फेरि अर्का प्रहरी अधिकृत यस्तै सरुवामा परेका छन् । सिद्धार्थनगरमा रहेको वडा प्रहरी कार्यालय प्रमुखले एक महिना पनि काम गर्न पाएनन् । यहाँ आएको २७ दिनमै सरुवा भएको छ ।

वडा प्रहरी प्रमुखको जिम्मेवारी पाएको एक महिना नबित्दै प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले भैरहवा छाड्नु परेको छ । तराईका जिल्लामा प्रहरी अधिकृतको कार्यकाल एक वर्ष मानिन्छ । घिमिरे गत बैशाख १० गते दरबन्दीसहित वडा प्रहरीमा हाजिर भएका थिए । तर, एक महिना पनि नपुग्दै गत जेठ ६ गते यहाँबाट रमाना बुझेर बाहिरिनु परेको छ ।

वडा प्रहरीमा उनीभन्दा अगाडिका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी २७ महिनासम्म कार्यरत थिए । अहिले पनि रुपन्देहीमा उच्च ओहदाका अधिकृतको संरक्षणमा शक्ति केन्द्र रिझाउन सक्ने अधिकृत जिल्ला प्रहरी र मातहतका कार्यालयमा आठ–दश वर्षदेखि अडिएका छन् ।

स्रोतका अनुसार प्रहरी निरीक्षक घिमिरेलाई प्रहरी प्रधान कार्यालयबाट सिधै काज सरुवा गराइएको हो । प्रहरी प्रधान कार्यालयले नै उनलाई यहाँ पठाएको थियो । यहाँ आफ्नो सामान समेत राम्ररी व्यवस्थापन गर्न नभ्याउँदै फेरि अन्यत्र जानका लागि झोलाटुम्बा कस्नु परेको हो । उनी भैरहवा आउनासाथ चोरी–तस्करी नियन्त्रणमा लागेका थिए ।

नदी/खोला दोहन हुने गरि भइरहेको चोरी उत्खनन् बिरुद्ध उनी उत्रे । छोटो समयमैं उत्खनन् कार्य गर्ने बिभिन्न टिपर, हाइवा, ट्याक्टर पक्राउ गर्दै ६ लाख रुपैयाँ राजश्व विभिन्न पालिकामा तिराउन लगाएका थिए । २७ दिनको आफ्नो कार्यकालमा घिमिरेले करिब ३२ लाख राजश्व संकलन गरेको वडा प्रहरीको अभिलेखमा देखिन्छ ।

यसबीच उनको उत्खनन्मा संलग्न व्यक्तिसँग बिवाद नभएको होइन् । माथिल्लो दर्जाका अधिकृत चिनेको भन्दै फूर्ति देखाउने केही व्यक्तिसँग भनाभन भएको थियो । त्यसक्रममा ‘तँलाइ सरुवा गराइदिन्छु’ भन्ने धम्की सुनेका थिए ।

‘मैले गलत गरेको छैन’, घिमिरिले भने्, ‘विभागले जहाँ पठाए पनि आफ्नो कर्तव्य पालना गर्नै पर्छ ।’ जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीसित उनको राम्रो व्यवहार हुन नसकेको गुनासो आएको जनाएको छ ।

प्रहरी प्रमुख एसपी मनोज केसीले घिमिरेका बिरुद्ध ‘बद्माशी’ गरेको नभइ सेवाग्राहीसँग व्यवहारका वारेमा गुनासो आएको बताए । एसपी केसीले जे सामान उनले नियन्त्रणमा लिएका थिए, उक्त सामान बुझन वा छुटाउन आउनेले घिमिरेको व्यवहार ठिक नभएको गुनासो गरेको बताए । तर, वडा प्रहरीका प्रहरी अधिकृतले भने घिमिरेले जुन खालका सेवाग्राही आए त्यस्तै व्यवहार गरेको दावी गरे ।

सरुवाको कारण ‘गुट्खा’
रुपन्देहीमा निषेधाज्ञा जारी रहेकै बेला गत जेठ २ गते भैरहवाको बुद्धचोकबाट घिमिरेले लु१क ३६४९ नम्बरको मिनी ट्रकसहित सामान नियन्त्रणमा लिएका थिए । उक्त गाडीभरि ‘अमृत प्लस’ ब्राण्डको गुट्खा थियो । राजश्व छलि गरेको आशंकामा घिमिरेले गाडीसहित त्यो सामान नियन्त्रणमा लिएर गत जेठ ३ गते थप अनुशन्धान र कारवाहीका लागि बुटवलस्थित राजश्व अनुशन्धान कार्यालयमा पठाएका थिए ।

गाडीमा २१ लाख रुपैयाँको गुट्खा थियो । प्रहरी विवरणमा करिब ३५ लाखको गाडीको मूल्य उल्लेख छ । उनले पठाएको त्यस सामानसहितको गाडीका बारेमा कोरोना संक्रमण र निषेधाज्ञाका कारण जनशक्ति कम भएकाले छानबिन हुन भने बाँकी छ ।

पब्लिक कुरा अनलाइनलाई प्राप्त प्रमाणका अनुसार, उनको भैरहवाबाट सरुवा हुनुको कारण यसैलाई मानिएको छ । उक्त गुट्खाको भैरहवास्थित उचमीमा उद्योग छ । उक्त उद्योग संचालक उच्च राजनीतिक र प्रशासनिक पहुँचवाला व्यक्ति हुन् ।

विजार्ट फेगरेन्स नामको कम्पनीबाट अमृत ब्राण्डको गुट्खा उत्पादन हुँदै आएको छ । कम्पनी संचालकसँग मिलेर केही उच्च ओहदाका सुरक्षा तथा प्रशासनिक निकायमा संलग्न व्यक्तिको समेत अदृष्य रुपमा लगानी रहेको र यही विषयलाई लिएर सिधै प्रधानमन्त्रीको निजी सचिवालय र गृहका उच्च अधिकारीको दवावमा सरुवा भएको दावी स्रोतको छ ।

यस कम्पनीमा शुद्ध प्लस ब्राण्डको भारतीय गुट्का संचालक समेतको लगानी रहेको र अर्बौं रुपैयाँको कारोबार हुने गरेको बताइन्छ । ‘यही विषयका बारेमा तपाईंले कुनै कारवाही गर्न सक्नुहुन्न भन्दा घिमिरेको केही व्यक्तिसँग विवाद भएको हो’, स्रोत भन्छ, ‘यस वारेमा सिधै राजनीतिक माथिल्लो पहुँचको आधारबाट सरुवा गराइएको हो ।’ घिमिरेको गत जेठ ६ गते प्रदेश प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको पत्र प्रहरी प्राधन कार्यालयबाट आएको थियो ।