June 12, 2025, Thursday
२०८२ जेष्ठ २९ बिहीबार

दाङमा लुम्बिनी प्रदेश सभाहल निर्माण सुरु

भैरहवा– लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकास्थित मौरीघाटमा प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभाहल निर्माण सुरु भएको छ । प्रदेश सरकारले अघिल्लो वर्ष दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी तोकेको थियो । उक्त निर्णय प्रदेश सभाबाट पनि पारित भएको छ । अहिले प्रदेशको अस्थायी मुकाम बुटवलमा छ ।

स्थायी राजधानीमै प्रदेश सभाको बैठक राख्नका लागि सभाहल बनाउन सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभाहल निर्माणको काम सुरु भएको हो ।

Advertisement

राप्ती प्राविधिक शिक्षालय भित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल बनाउन लागिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले बताए ।

कोरोना भाइरस संक्रमणका बीच पनि अहिले धमाधम सभाहल निर्माणको काम भइरहेको छ । ‘हामीले संक्रमण फैलन नदिन गरिएको निषेधाज्ञामा समेत सावधानी अपनाएर प्रदेशसभा हल निर्माणको काम गरिरहेका छौं । राजधानीको निर्णय टुंगिएपछि स्थायी राजधानी तोकिएको क्षेत्रमा राजधानीसँग जोडिएको गुरुयोजना निर्माणसँगै पूर्वाधार निर्माण कार्य सुरु भएको हो’, मजगैयाँले भने ।

५ करोड २१ लाखको लागतमा सुविधा सम्पन्न प्रदेश सभाहल निर्माणको काम सुरु भएको उनले जनाए । सभाहल एक सय जना मानिस अटाउन सक्ने गरी बनाइँदै छ । यस्तै, सभाहलमा सभामुखको लवी, स्टेज सबै यसैभित्र निर्माण हुने छ । चालु आर्थिक वर्ष भित्र प्रदेशसभा हल निर्माणको काम सक्ने लक्ष राखिएको भए पनि निषेधाज्ञाले गर्दा निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाई हुने भएको छ ।

प्रमुख कार्यकारी अधिकृत मजगैयाँ भन्छन्, ‘सभाहल असारसम्म सक्ने योजना थियो । विविध कारणले भनेकै समयमा काम सुरु गर्न सकिएन । असोजसम्ममा सबै काम सकिन्छ कि भन्ने हाम्रो अनुमान ।’ सभाहल निर्माणको काम ड्राइगन बस्नेत जेभी निर्माण कम्पनीले गरिरहेको हो ।

प्रदेश सरकारले स्थायी राजधानीमा मन्त्रालय स्थानान्तरणको काम समेत सुरु गरेको छ । अहिले दाङमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना भैसकेको छ । बाँकी आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि राप्ती प्राविधिक शिक्षालय भित्र रहेको भवन खोज्न थालिएको जनाइएको छ ।

आउने आर्थिक वर्षलगत्तै देउखुरीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गर्ने योजना प्रदेश सरकारको छ । त्यसअघि बुटवलबाट मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालयहरु स्थायी राजधानीमा स्थानान्तरणको योजना छ ।

यता प्रदेश सरकारले प्रदेश स्थायी राजधानीको गुरुयोजना निर्माणको काम सुरु गरेको छ । तीन ओटा कन्सल्टेन्सी गुरुयोजना निर्माणका लागि छनोट भइसकेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, शितगंगा नगरपालिका अर्घाखाँचीको वडा नम्बर ८ र ९ लाई समेटने छ । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै प्रकारको क्षेत्र तोक्ने र सोही अनुसार डिजाइन बनाइने मजगैयाँले बताए ।