April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो ।

Advertisement

गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक सोमबार अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरे । अध्यक्ष यादवले जिल्लास्थित सरकारी अस्पतालको संरक्षण गर्नु रुपन्देहीका सबै स्थानीय तहहरुको समान दायित्व रहेको बताए ।

Advertisement

उनले भने, ‘यो अस्पताल गरिब तथा विपन्न वर्गलगायत सबै नागरिकको उपचार गर्ने ठाउँ हो । त्यसैले सरकारी अस्पताललमा कुनै एक पालिकाको मात्र नभई सबै पालिकाका बिरामीले उपचार पाउने भएकाले यसको संरक्षणमा सबैको दायित्व हुनुपर्छ ।’

अध्यक्ष यादवले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भन्दै गाउँपालिकाले निर्णय नै गरेर अस्पताललाई सहयोग गरेको बताए । ‘यसले अरु पालिकाहरुलाई पनि भीम अस्पतालप्रतिको दायित्व बोध गराउने काम गर्दछ’, उनले भने, ‘अहिले आवश्यक परेको समयमा सहयोग नगरे कहिले गर्ने ?’

सहयोग रकम बुझ्दै मेसु गुप्ताले अहिले अस्पताललाई स्थानीय तहलगायत अन्य संघसंस्थाहरुको सहयोग आवश्यक रहेको बताइन् । कोभिडको यो महामारीको समयमा अहिले जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको बताउँदै उनले प्राप्त सहयोगलाई आवश्यकताका आधारमा खर्च गर्ने जनाइन् ।

‘समयमै सरकारी बजेट नआउँदा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भएको छ । यस्तो अवस्थामा रोहिणीले गरेको सहयोग महत्वपूर्ण छ’, उनले भनिन् । मेसु गुप्ताले मन्त्रालयबाट बजेट आए भने उक्त रकमलाई अन्य शीर्षकमा खर्च गर्न सक्ने बताइन् । अहिलेसम्म रोहिणी बाहेक सम्मरीमाई गाउँपालिकाले पनि ३ लाख रुपैयाँ अस्पताललाई सहयोग गरेको छ ।

अस्पताललाई सहयोग गरेपछि अध्यक्ष यादवले भीममा उपचाररत कोरोना संक्रमित बिरामीहरुलाई भेटेर आत्मबल बलियो बनाउन आग्रह गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

भीम अस्पतालमा अहिले रुपन्देही जिल्लाका सबै पालिकाका मात्र नभई अन्य जिल्लाका पनि कोभिडका बिरामीहरुको उपचार भइरहेको छ । अस्पतालकी मेसु गुप्ताका अनुसार अहिले ८१ जना संक्रमितको अक्सिजन दिएर उपचार जारी छ ।