तस्करी नियन्त्रण चुनौतिपूर्ण



भैरहवा– सिमावर्ती जिल्लामा ‘संस्कृति’ बनिसकेको भन्सार छली नियन्त्रण थप चुनौतिपूर्ण बनिरहेको छ । नेपाल र भारतमा बस्तुको मूल्यमा असमानता भएकाले चोरी तस्करी बढिरहेको व्यवसायीको भनाई छ । तस्करी नियन्त्रणको जिम्मेवारी रहेको प्रशासनले भने सिमावर्ती क्षेत्रमा राजनीतिक दल, व्यवसायीको संरक्षणमा चोरी तस्करी हुने गरेको बताउने गरेका छन् ।
जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजस्व चुहावट नियन्त्रण समिति छ । तर, प्रमुख जिल्ला अधिकारी नै चुहावट नियन्त्रणमा खासै ध्यान पुर्याउन सकेका छैनन् । दुई दिन अघि सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा एक व्यवसायी अगुवाले भन्सारबाट एक सय रुपैयाँ मूल्यका सामान ल्याउन पाइने नियम सिमावर्ती क्षेत्रका सांसदको बिरोधका कारण लागू हुन नसकेको बताएका थिए । सिमावर्ती जिल्लाका सांसदको दबाबकै कारण भन्सार बिनै ५ सय रुपैयाँ मूल्य बराबरका सामान ल्याउन पाउने नियम बनाइएको ती व्यवसायीले बताए ।
पछिल्लो समय रुपन्देहीमा सुरक्षा निकायले तस्करी नियन्त्रणमा जोड दिएको छ । जिल्लाका ग्रामीण क्षेत्रबाट समेत तस्करी ठप्प छ । तैपनि भन्सार छलेर समान भित्र्याउन रोकिएको छैन । प्रहरीले दिनहुँ भन्सार छलेर भित्र्याइएका सामान बरामद गरिरहेको छ । तस्करी रोकथामका लागि नेपाल र सशस्त्र प्रहरी चौबीसै घण्टा खटिँदा समेत नियन्त्रण गर्न धौं–धौं भइरहेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समेत छुट्टै युनिट बनाएर तस्करी नियन्त्रणलाई प्राथमिकता दिएको छ । जिल्ला प्रहरी र मातहत निकायले गस्ती बढाएका छन् । तस्करी नियन्त्रणका लागि जिल्लाका सबै युनिटले दिनरात नभनी काम गरिरहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए । ‘समाजका सबैं सरोकारवालाको सहयोगले मात्रै तस्करी नियन्त्रण सम्भव छ,’ उनले भने, ‘सुरक्षा निकाय एक्लैले सक्दैन । समाजले सहयोग गर्नुपर्ने देखिन्छ ।’
भन्सार छलेर सामान ल्याउने समूह पनि निरुत्साहित भएको छैन । त्यसको उदाहरण कपिलवस्तुको कृष्णनगरमा बुधबार व्यापारका लागि ल्याइएको चामलसहित पिकअप गाडी प्रहरी नियन्त्रणमा परेपछि स्थानीय एक व्यापारीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर–२, बैंकरोडस्थित गल्ला पसल सञ्चालक महेश अग्रहरीले मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले आवश्यक कागजपत्र नभएको भन्दै अग्रहरीको पिकअप गाडीसहित चामल नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको थियो । त्यसपछि १० लाख रुपैयाँ धरौटी राख्नुपर्ने सूचना पाएपछि ती व्यापारीले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । आत्मदाहको प्रयास गरिरहेका अग्रहरीलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि तौलिहवा अस्पताल पुर्याएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लु २ च ४९४९ नम्बरको पिकअपबाट ३२ क्विन्टल चामल बरामद गरिएको थियो । उक्त चामलको मूल्य ११ लाख ६० हजार रुपैयाँ छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका भन्सार छलीका सामानको कुल मूल्य १४ लाख १२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यस घटनाले भन्सार छली नियन्त्रणका क्रममा हुने कारबाही र त्यसबाट उत्पन्न परिस्थितिलाई चर्चामा ल्याएको छ । कानुन कार्यान्वयनसँगै व्यवसायीका गुनासा र समस्यालाई पनि कानुनी प्रक्रियाबाट सम्बोधन गर्नु आवश्यक रहेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
आत्मदाहको प्रयास गर्नुअघि अग्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा आफूले एक लाख रुपैयाँ घुस नदिएकै कारण कागजपत्र हुँदाहुँदै भन्सार बुझाइएको आरोप लगाएका छन् । उनले भिडियोमा डीआइजीका घुमुवाले घुस मागेको दाबीसमेत गरेका छन् । व्यापारीको यो आरोपले प्रहरीको कारबाही, राजस्व प्रशासनको कार्यशैली र सीमावर्ती क्षेत्रमा हुने भनिएका आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठेको छ । यद्यपि घुस मागिएको आरोपको पुष्टि हुन बाँकी छ ।
यस घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरीको भनाइ छ । भन्सार छलीमा संलग्नले पश्चिम नवलपरासीका ग्रामीण नाका प्रयोग गरेर विभिन्न सामान भित्र्याइरहेका छन् । एक महिनाअघि महेशपुर भन्सार हुँदै एक ट्रक मोवाइल पार्टस भित्र्याएका थिए । त्यस्तै बुधबार बिहान सुस्ता गाउँपालिकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएको मदिरा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार बुधवार बिहान सुस्ता–५ महलबारीस्थित भित्री सडक खण्डबाट ११ वटा हरियो ठुलो झोलामा राखेर ल्याइएको अवैध मदिरा बरामद गरिएको हो । भारतबाट अवैध रूपमा भन्सार छली ल्याई ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बरामद मदिरा विभिन्न प्रकारका ७५० मिलिलिटरका कुल ७४२ बोतल मदिरा बरामद गरिएको छ । प्रति बोतल दुई हजार रुपैयाँका दरले मूल्याङ्कन गर्दा बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा ओसारपसारमा संलग्नहरू भने नियन्त्रणमा न आएको सूचना अधिकारी मदन थापाले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्