रूपन्देहीमा साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढ्यो



भैरहवा– रुपन्देहीमा साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । तथ्यांकअनुसार रुपन्देहीमा गत आर्थिक वर्ष २०८२–८३ मा ७ सय ७७ वटा साना तथा घरेलु उद्योग र व्यवसायिक फर्महरु बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाका अनुसार गत आर्थिक वर्षमा ३२२ वटा उद्योग र ४५५ वटा व्यवसायिक फर्महरु बन्द गरी तीनिहरुको लगत कट्टा गरिएको हो ।
कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार चालु आर्थिक वर्ष २०८३–८४ को साउन र भदौ महिनामा पनि ८१ वटा उद्योगको लगत कट्टा गरिएको छ । त्यस्तै दुई महिनामा १२७ वटा वाणिज्य फर्महरुको लगत कट्टा गरिएको छ ।
चालु आर्थिक वर्ष २०८३–०८४ को साउन र भदौ महिनामा २३५ वटा उद्योग र ४०४ वटा व्यवसायीक फर्महरु दर्ता भएका छन् । गत आर्थिक बर्षसम्म रुपन्देहीमा २० हजार ५ उद्योग र ५ हजार ३५९ वटा वाणिज्य फर्महरु दर्ता भएको परियारले जनाए ।
कार्यालयले उद्योग र वाणिज्य तर्फका फर्महरु दर्ता, नविकरण, लगत कट्टा सिपमूलक तालिम, बजार अनुगमन लगायतका काम गर्दै आएको छ । विभिन्न फर्महरु दर्ता तथा नविकरणबाट गत आर्थिक वर्षमा २ करोड ६० लाख ३ हजार ४८१ रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी परियारले जानकारी दिए । व्यवसाय प्रवद्र्धनका लागि विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विभिन्न १५ वटा निःशुल्क तालिमका लागि सूचना आह्वान गरिएको सूचना अधिकारी परियारले बताए ।
पछिल्लो वर्षहरुमा कारोबार नभएको भन्दै व्यवसायीले धमाधम फर्म तथा साना उद्योग बन्द गरिरहेका छन् । कतिले व्यवसाय दर्ता गरे पनि संचालन नहुँदै लगत कट्टा गर्ने गरेका छन् । भैरहवाका केही व्यवसायी व्यवसाय बन्द नै गरेर विदेश पलायन भएका छन् । मुलुकमा व्यवसायिक वातावरण नभएकाले आफूहरु विदेश पलायन हुने गरेको ती व्यवसायीको भनाई छ ।








प्रतिकृया दिनुहोस्