रोकिएका मालवाहक गाडीको चाप घटाउन भैरहवा नाका रातीसम्म खुल्ला



भैरहवा–बाढी, पहिरो र डुबानका कारण लामो समयदेखि ढुवानी प्रभावित भएपछि भैरहवा भन्सार नाकामा रोकिएका मालवाहक सवारीको चाप घटाउन भन्सार सिमानाका अतिरिक्त समयसम्म खोल्न थालिएको छ ।
सामान्य अवस्थामा राति करिब १० बजेपछि बन्द हुने भन्सार सिमानाका यतिबेला अतिरिक्त समयसम्म थपेर राती १ बजेसम्म खुला राख्न थालिएको हो । नेपाल र भारत दुवैतर्फ रोकिएका मालवाहक गाडीको संख्या बढ्दै गएपछि भारतीय पक्षसँग समन्वय गरेर रातिसम्म सवारी आवागमनको व्यवस्था मिलाइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भारतको सुनौलीस्थित भन्सार कार्यालयसँग समन्वय गरी राति १ बजेसम्म भारतबाट नेपालतर्फ मालवाहक गाडी प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार नेपालका विभिन्न सडकमा बाढी, पहिरो र डुबानका कारण अवरुद्ध ढुवानी मार्ग क्रमशः सञ्चालनमा आउन थालेपछि भन्सारमा थुप्रिएको सवारीको चाप व्यवस्थापन गर्न भन्सारको समय थप गरिएको हो । ‘चाडपर्वको समयमा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन नदिन पनि अतिरिक्त समयसम्म भन्सार नाका सञ्चालन गरिएको हो’ उनले भने ।
वर्षाका कारण नेपालका विभिन्न प्रमुख सडक तथा राजमार्ग अवरुद्ध हुँदा भारतका विभिन्न स्थानबाट नेपालका लागि सामान बोकेर आएका सयौँ मालवाहक गाडी भैरहवा नाकामा लामो समयदेखि रोकिएका थिए । यसका कारण भैरहवा भन्सार कार्यालयको परिसर, भन्सार अगाडिको छ लेनको भैरहवा–बुटवल व्यापारिक मार्ग हुँदै भारतको सुनौलीसम्मको सडक क्षेत्रमा सवारीको लामो लाइन लागेको थियो ।
भैरहवा नाकामा करिब १४ किलोमिटर भारततर्फसम्म मालवाहक गाडीको जाम पुगेको छ । लामो समयसम्म ढुवानी हुन नसक्दा आयातकर्ताले सामान गन्तव्यसम्म पु¥याउन समस्या भोग्दै आएका छन् ।
चीनतर्फका रसुवागढी, तातोपानी र कोरला नाकाबाट हुने आयात–निर्यातसमेत सडक अवरोधका कारण प्रभावित भएपछि त्यसको अतिरिक्त चाप पनि भैरहवा नाकामा परेको छ । चीनसँग जोडिएका नाकाबाट नियमित रूपमा सामान ल्याउन कठिन भएपछि व्यवसायीले भारत हुँदै विभिन्न वस्तु आयात गर्न थालेका छन् ।
भोटेकोशी नदीमा आएको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण यसअघि नै काठमाडौंलगायत विभिन्न क्षेत्रमा हुने मालसामानको ढुवानी प्रभावित थियो । पछिल्लो वर्षाले सडक तथा राजमार्गमा थप क्षति पु¥याएपछि सुनौली सीमाक्षेत्रमा मालवाहक सवारीको चाप थप बढेको हो ।
भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले सडक अवरुद्ध हुँदा सामान ढुवानीका लागि ट्रक पाउनसमेत कठिन भएको बताए । उनका अनुसार ढुवानी प्रभावित भएकाले अहिले ट्रकको समेत अभाव देखिएको छ ।








प्रतिकृया दिनुहोस्